गाउँपालिका माग्दै अदालतमा मुद्दा हाल्ने तयारी

42

नेपालगन्ज, असोज १२-
जिल्लाको हिरमिनिया गाविसलाई नगरमा गाभ्ने गरिएको निर्णयविरुद्ध अदालतमा मुद्दा हाल्ने तयारी गरिएको छ । हिरमिनिया गाउँपालिका निर्माण संघर्ष समितिको बुधबार बसेको बैठकले मुद्दा हाल्ने निर्णय गरेको हो । जिल्ला विकास समितिमा छलफलका लागि मंगलबार बसेको संघर्ष समिति र सर्वदलीय बैठक निश्कर्ष विहीन भएपछि मुद्दा हाल्ने निर्णय गरिएको संयोजक सुभाषसिंह ठाकुरले जानकारी दिए ।

hirminiya

बैठकमा आफुहरुको माग बेवास्ता गर्दै गाविसमा लगाइएको ताला खोल्न मात्र दबाव दिइएकोप्रति घोर आपत्ति जनाउँदै स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समिति बाँके र जिल्लास्थित सबै क्रियाशील राजनीतिक दलहरुले गरेको निर्णय विरुद्ध मुद्दा हाल्न लागिएको संघर्ष समितिका प्रवक्ता मोहनराम मिश्रले बताए । स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समिति कार्यशर्त कार्यविधि विपरीत राजनैतिकदलहरुले गरेको निर्णय आफुहरुलाई स्वीकार नभएको भन्दै प्रवक्ता मिश्रले स्थानीय तहको पुनःसंरचना गर्दा स्थानीय स्तरबाट राय सुझाव सल्लाह लिनुपर्ने नियम हुँदाहुँदै दलहरुले मनोमानी गरेको आरोप लगाए ।

यसैबीच हिरमिनिया गाविस कार्यालयमा लगाइएको ताला बुधबार नवौं दिन सम्म पनि जारी रह्यो । हिरमिनियालाई गाउँपालिकामै राख्नुपर्ने माग गर्दै स्थानीयबासीले गत ४ गतेदेखि तालाबन्दी गरेका हुन् । स्थानीय तह पुनःसंरचना सम्वन्धी विभिन्न नीति नियमको उल्लंघन गर्दै राजनीतिक दलले हिरमिनियालाई नगरमा राख्ने गरेको निर्णय मान्य नभएको उनीहरुको भनाई छ ।

Womui
Womui