मिटर ब्याजमा लगानी गरी जुवा खेलाउने दुई पक्राउ

31

दाङ, असोज ७-

चाडपर्व नजिकै गर्दा जिल्लामा अवैध रुपमा जुवा खेल्ने खेलाउने बढेका छन् । जुवा खेलाउनेले जुवाडेमाथि लगानी गरेर मिटर ब्याजमा रकम असुल्ने गरेका छन् । जुवा खेलाउने र मिटर ब्याजमा रकम असुलेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी प्रमुख धिरजप्रताप सिंहले तुलसीपुर क्षेत्रमा संगठित रुपमा जुवा खेलाउने, मिटर ब्याजमा रकम असुल्ने दुई जनालाई पक्राउ गरिएको जानकारी दिए। जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीको विशेष टोलीले बिहीबार तुलसीपुरबाट जुवा खेलाई मिटर ब्याजमा लगानी गरेको अभियोगमा तुलसीपुर–५ बस्ने ३४ वर्षीय विशालजंग शाह र तुलसीपुर–५ कै ४० वर्षीय दीपु भन्ने दीपेन्द्र गिरीलाई पक्राउ गरिएको एसपी सिंहले बताए। पक्राउ परेका दुवै व्यक्ति यसअघि विभिन्न घटनामा कारबाहीमा परेको पनि एसपी सिंहले बताए। शाहलाई २०६६ साल माघ ८ गते तुलसीपुरमा बुद्धिबहादुर केसीलाई गोली प्रहार गरी हत्या गरेको अभियोगमा कर्तव्य ज्यानमा मुद्दा चलाइएको थियो। अर्का गिरीलाई यसअघि जुवामा दुई पटक पक्राउ गरी कारबाही गरिएको सिंहले बताए। दुबै जनालाई कारबाहीका लागि हिरासत लिइएको उनले बताए।

Womui
Womui