शिक्षक कहिल्यै आउँदैनन्, परिचरले पढाउँछन्

78

काठमाडौं, असोज ७-

र्चैया नपा १ मठडाहीकुटीको जनजागृति प्राथमिक विद्यालयका शिक्षक विद्यालय नआएपछि विद्यार्थीको पढाइ प्रभावित भएको छ । तीन कक्षासम्म पढाइ हुने विद्यालयका एक मात्र शिक्षक (निमित्त प्रअ) हरिदेव मण्डल विद्यालयमा उपस्थित नभएपछि विद्यार्थीको पढाइ प्रभावित भएको समाचार आजको अन्नपूर्णमा छ । स्थानीय रामनाथ साहका अनुसार मण्डल शिक्षक नियुक्त भएदेखि नै नियमित विद्यालय आउने गरेका छैनन् । स्थानीय भएकाले उनी राजनीतिक रवाफ देखाउँदै विद्यालय नआउने गरेको उनले बताए । शिक्षक नआएपछि विद्यालयका सहयोगी रवीन्द्र ठाकुरले विद्यार्थीलाई पढाउने गरेको स्थानीय गुरुदयाल सदायले जानकारी दिए। नियुक्त भएदेखि नै मण्डल विद्यालय नआएपछि आफैंले विद्यार्थीलाई जानेसम्म पढाउने गरेको कार्यालय सहयोगी ठाकुरले स्वीकार गरे । उनी भन्छन्, ‘तीनवटै कक्षामा गरी जम्मा ६० जना विद्यार्थी छन् । नियमित १२/१५ जना आउँछन्, उनीहरूलाई म आफैं पढाउँछु ।’

विद्यालयको हाजिरी रजिस्टरसमेत मण्डलले आफ्नै घरमा राख्ने गरेको कार्यालय सहयोगी ठाकुरले बताए । रजिस्टर नभएपछि हाजिर गर्नसमेत उनकै घरमा जाने गरेको ठाकुरले बताए । विद्यार्थीको नाम टिपेर त्यहीअनुसार हाजिर गर्ने गरेको उनले बताए । समाचार संकलन गर्न पुगेको दिन परिचर ठाकुर पनि विद्यार्थीलाई छुट्टी दिएर गाउँमा सत्यनारायणको पूजा गराइरहेको भेटिए । ‘शिक्षक पनि नआउने, तपाईं पनि यसरी पूजाआजा गराएर हिँडेपछि विद्यार्थीलाई कसले पढाउँछ ? भनी सोध्दा उनले भने, ‘ब्राम्हण भेटिएनन्, मलाई पूजा गराउन भनेकाले जानेको गरिदिएको हुँ ।’

Womui
Womui