मेडिकल कलेजहरुद्वारा विदेशी विद्यार्थीबाट नियमविपरीत मोटो रकम असुली

30

काठमाडौं, असोज ४-

नेपाल मेडिकल काउन्सिलको नियमअनुसार मेडिकल कलेजहरूले मनोमानी ढंगले विदेशी विद्यार्थी भर्ना गर्न नपाउने भएपनि देशका मेडिकल कलेजहरुले उनीहरुबाट मोटो रकम असुली गरिरहेका छन् । सिनामंगलको काठमाडौं मेडिकल कलेजले एक भारतीय विद्यार्थीलाई प्रवेश परीक्षामा सहभागी हुन १० लाख भारु (१६ लाख रुपैयाँ) जम्मा गर्न पठाएको खुलासा भएको छ । अहिलेसम्म नेपाल मेडिकल काउन्सिलले सन् २०१६ का लागि मेडिकल कलेजहरूको सिट निर्धारण गर्न नसकेको अवस्थामा काठमाडौं मेडिकल कलेजले भारतीय विद्यार्थीबाट उक्त रकम जम्मा गर्न पठाएको हो । त्यस्तै काठमाडौं विश्वविद्यालयले पनि नेपाली विद्यार्थीसँग भर्ना आवेदन लिने र प्रवेश परीक्षाको मिति नतोकेरै विदेशी विद्यार्थीलाई धमाधम खातामा रकम बुझाउन ताकेता गर्दै पत्र काटिरहेको खुलासा भएको हो । त्यस्तै काठमाडौं विश्वविद्यालयअन्तर्गतका अधिकांश मेडिकल कलेजहरूले सिट निर्धारण र प्रवेश परीक्षा नहुँदै विदेशी विद्यार्थी ‘बुकिङ’ गरिरहेका छन् । स्रोतका अनुसार नेपाल मेडिकल कलेजमा २८ जना भारतीय विद्यार्थीले नाम बुकिङ गरिसकेका छन् । काठमाडौं मेडिकल कलेजले दुई सातादेखि ती विद्यार्थीलाई प्रवेश परीक्षाको तयारी कक्षा सञ्चालन गर्न थालिसकेको छ । बुकिङका लागि १० लाख (भारतीय रुपैयाँ) बुझाएका उनीहरूले पास भएपछि थप १५ लाख भारु (२४ लाख रुपैयाँ) बुझाउनुपर्नेछ । एमबीबीएसका लागि केएमसीले कुल ४४ लाख रुपैयाँ लिइरहेको छ । उता चितवनको कलेज अफ मेडिकल साइन्सेजले ४६ लाख रुपैयाँ भारु (करिब ७४ लाख रुपैयाँ) रुपैयाँ शुल्क तोकेर धमाधम भारतीय विद्यार्थी बुकिङ गराइरहेको छ । पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा पनि श्रीलंका र भारतका विद्यार्थीले ‘बुकिङ’ गराइरहेका छन् । नेपालगन्ज मेडिकल कलेजमा करिब ५० भारतीय विद्यार्थीले बुकिङ गरिसकेका छन् । विराटनगरको विराट मेडिकल कलेजमा २५ भन्दा बढी विदेशी विद्यार्थीले नाम रजिस्ट्रेसन गराएका छन् । शुक्रबारदेखि प्रवेश परीक्षाको तयारी कक्षा सुरु गर्न लागेको नोबेल मेडिकल कलेजमा ६० जनाभन्दा बढी विदेशी विद्यार्थी आएका छन्, जसमध्ये ३० भन्दा बढी माल्दिभ्सका छन् ।
नेपाली विद्यार्थी उपलब्ध नभएमा मात्रै विदेशी विद्यार्थी भर्ना गर्न पाउने नेपाल मेडिकल काउन्सिलको नियम छ ।

Womui
Womui