नेपालगन्जमा यसरी मनाइयो बकराइद

125

नेपालगन्ज, भदौ २८–
बाँकेका मुस्लिम समुदायले धुमधामका साथ बकराइद पर्व मनाएका छन् । नेपालगन्जको विपी चोकस्थित ईदगाहामा मंगलबार बिहान सामुहिक नमाज पढेपछि मुस्लिम समुदायको बकराइद सुरु भएको थियो । बकराइदको शुभकामना साट्न गैर मुस्लिम समुदाय विपी चोक पुगेका थिए । ईदगाहमा सामुहिक नमाजका क्रममा गौसिया जियाउल इस्लामका प्रमुख मौलाना जमाल कादरीले सम्बोधन गर्दै दाईजो विरुद्ध इस्लाम रहेको र दाइजोको कारण महिला जलाउने कार्यका विरुद्ध सम्पुर्ण मुस्लिम समुदाय लाग्नु पर्नेमा जोड दिएका थिए । ‘कुनैपनि कारणले हुने महिला हिंसा सह्य हुदैन,’ उनले भनेका थिए ।

बकराइदको अवसरमा मंगलबार शुभकामना साटासाट गर्दै पत्रकार कलेन्द्र सेजुवाल र उर्दु साहित्यकार मुस्तफा अहसन कुरैसी । तस्बिर : सामाजिक सञ्जाल
बकराइदको अवसरमा मंगलबार शुभकामना साटासाट गर्दै पत्रकार कलेन्द्र सेजुवाल र उर्दु साहित्यकार मुस्तफा अहसन कुरैसी । तस्बिर : सामाजिक सञ्जाल

दाईजोको कारण मुस्लिम समुदायका कुनैपनि महिलामाथी हिंसा गर्ने ब्यक्तिलाई समाजले बहिस्कार गर्नुपर्ने मौलानाले बताए । इस्लाममा लोभी पापीहरुको कुनै स्थान नरहेको बताउँदै उनले दाईजोको लोभले कुनैपनि घटना भएमा मुस्लिम समुदाय गम्भीरता पुर्वक लिनुपर्ने बताउँदै कादरीले आगामी दिनमा दाईजो प्रथा र महिला हिंसाको विरुद्ध मौलानाहरु लाग्नुपर्ने सुझाव दिए ।

इस्लामिक क्यालेण्डर अनुसार यो १२ औं महिना हो । यो महिनापछि नयाँ बर्ष मोर्हरम सुरु हुन्छ । बकराइदको नमाज पश्चात घरमा खसी, भेडा, रांगा लगायतका जनावरको कुर्वानी(बध)दिने धार्मिक परम्परा रहेको छ । बकराइदका अवसरमा मुस्लिम समुदायले आपसमा खुसी साटासाट गर्दै मिठा परिकार खाएका छन् । उनीहरुले गैर मुस्लिम समुदायलाई समेत घरमा बोलाएर परिकार खुवाएको पाइएको छ ।

Womui
Womui