प्रेस स्वतन्त्रता सेनानी गुप्तको ८८ औं जन्मदिन मनाइयो

211

नेपालगन्ज, भदौ २७

1वरिष्ठ पत्रकार एवम् प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्त ‘चाचाजी’ को नेपालगन्जमा सोमबार ८८ औं जन्मदिन धूमधामका साथ मनाइएको छ । नेपाल प्रेस युनियन बाँकेले एक समारोहबीच जन्मदिन मनाएको हो । कार्यक्रममा जिल्लाका सञ्चारकर्मी, राजनीतिक दल, नागरिक समाज, सरकारी कार्यालयका प्रमुख, सुरक्षा निकाय, समाजसेवी, उद्योगी, व्यवसायीलगायतले गुप्तलाई जन्म दिनको शुभकामना दिए । नेपालगन्ज रानीतलाउस्थित घरबाट कार्यक्रम स्थल धम्बोझीसम्म प्रहरीको स्कटिङद्वारा गुप्तलाई ल्याइएको थियो । सो क्रममा कार्यक्रम स्थल बाहिर उपस्थित सयौंले स्वागत गर्दै शुभकामना दिएका थिए ।

चार दशक बढी समयदेखि पत्रकारिता पेशामा सक्रिय रहदै आएका गुप्त नेपालगन्जबाट प्रकाशन हुँदै आएको किरण साप्ताहिकका सम्पादक हुन् । जन्मदिन कार्यक्रममा बोल्दै प्रेस स्वतन्त्रता सेनानी गुप्तले पत्रकारिता क्षेत्रमा क्रियाशील रहन अझै उर्जा प्राप्त भएको बताए । केही समयदेखि स्वास्थ्यमा समस्या आएकाले चाहेर पनि समाचार संकलन गर्न नसकेको उनले बताए ।

2 3
गुप्तले आफू कमजोर हँुदै गएकाले स्मरण शक्ति हराउँदै गएको बताउँदै भने, ‘मुलुकमा प्रजातन्त्र नरहे स्वतन्त्र प्रेस पनि नरहने भएकाले पत्रकारले जहिले पनि प्रजातन्त्रको पक्षमा कलम चलाउनु पर्छ ।’ उनले आफूलाई दिएको सम्मान र सद्भावका लागि धन्यवाद प्रकट गरे । पत्रकारितामा उनको योगदानको उच्च कदर गर्दै नेपाल पत्रकार महासंघले करिब डेढ दशक पहिले प्रेस स्वतन्त्रता सेनानी घोषित गरेको थियो । नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष तथा केन्द्रीय सदस्य(मनोनित) भइसकेका प्रेस स्वतन्त्रता सेनानी गुप्त नेपाल प्रेस युनियन बाँकेका संस्थापक सभापति र युनियनका केन्द्रीय संस्थापक सदस्य हुन् ।
जन्मदिन कार्यक्रममा युनियन बाँकेका अध्यक्ष जयनारायण शाहले पत्रकारिताका धरोहर तथा अथक योद्धा गुप्तको उच्च सम्मान स्वरूप कार्यक्रम गरिएको बताए । गुप्त सबैका लागि प्रेरणादायी भएको शाहले बताए । कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी गुप्तका धर्मपत्नी कमलादेवी गुप्तसहित परिवारका सदस्य तथा आफन्त पनि सहभागी थिए ।
तस्बिर सौजन्यः खगेन्द्र दाहाल

Womui
Womui