अचेत बिरामी होसमा फर्किए

143

नेपालगन्ज, भदौ २४–
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा अप्रेशन पश्चात अचेत भएका चार जना बिरामी होसमा फर्किएका छन् । गुल्मी घर भई हाल नेपालगन्जमा बस्दै आएकी २४ बर्षिया चन्द्रीका भण्डारी, बाँके, बागेश्वरी–५ खजुराकी २६ बर्षिया गीता सापकोटा, बेतहनी–५ निवासी संगिता चौहान र अर्की एक महिलाको होस खुलेको हो । चारै जना बिरामीको शुक्रबार बिहान करिव ७ बजेतिर होस खुलेको आफन्तले बताए ।

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्ज ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्ज ।

सुत्केरी गराउन अस्पताल पुगेकी गीताको बुधबार बिहान ११ बजेतिर अप्रेशन गरिएको थियो । यस्तै पेट दुख्ने समस्या भएपछि अस्पताल पुगेकी चन्द्रीकाको सोहीदिन बेलुका ७ बजेतिर अप्रेशन गरिएको थियो, बुधबार नै अप्रेशन गरेर संगितालाई सुत्केरी गराइएको थियो । अर्का एक महिलाको भने बिहीबार बिहान अप्रेशन गरेको बताइएको छ । अस्पताल स्रोतका अनुसार उनीहरुलाई डाक्टर उपेन्द्र पण्डित लगायतको टिमले अप्रेशन गरेको थियो भने, एनेस्थेसियन डा. मोहम्मद हनिफ अहमदले बेहोस पारेका थिए । बिरामीको होस खुलेपछि परिवार र आफन्त खुसी भएका छन् । घटनापछि बिहीबार दिउँसोदेखि बन्द गरेको स्त्री तथा प्रसुती विभागको अप्रेशन थियटर भने अझै सञ्चालनमा आएको छैन । अन्य अप्रेशन कक्ष भने सञ्चालनमा आएको अस्पतालले जनाएको छ ।

बिरामी अचेत हुनुको ठोस कारण डाक्टरले अझै पत्ता लगाएका छैनन् । कारण पत्ता लगाएर सार्वजनिक गर्नुपर्ने परिवार र आफन्तहरुको माग छ । अस्पताल स्रोतका अनुसार अप्रेशन गरिएका बिरामी कमै मात्रामा यसरी अचेत हुन्छन् । बिरामी अचेत भएको खण्डमा होसमा फर्काउन प्रयोग गरिने औषधी अस्पतालसँग उपलब्ध नहुँदा लामो समय सम्म बिरामी अचेत बनेका हुन् । अस्पतालले लापरबाही ढंगले अहिले सम्म उक्त औषधी बिना नै धमाधम बिरामीको अप्रेशन गरिरहेको स्रोतको दाबी छ । अस्पताले उक्त घटनाको छानबिनका लागि एक समिति गठन गरेको जनाएको छ । अस्पतालका सहायक निर्देशक डा. मोहिउद्धिन किदवाइको संयोजकत्वमा समिति गठन गरिएको हो । उक्त समितिमा साइकोलोजिष्ट, एनेस्थेसियन, गाइनो, न्यूरो, सर्जन लगायत डाक्टर रहेको सहायक निर्देशक किदवाईले बताएका छन् ।

 

Womui
Womui