लज्जाबिनाको त्यो नारी

50
रामु ओली
रामु ओली

ओठमा रातो भद्दा पोतिएको लिपिस्टिक । हेर्दा नै उत्तेजना भन्दा घिन पैदा गर्ने । ओठ त सुन्दर अनि मिलेको नै छ ।  तर यति सुन्दर ओठमा किन यति भद्दा लिपिस्टिक कुनै कालिगढको सिकारु आकृति जस्तो । नेपालगन्जका भित्ताहरुमा पान खाएर पिच्च थुकेको पानको दाग जस्तो । छरपस्ट छरिएका, नमिलेका अनि सुन्दरता निखार्न भन्दा पनि सुन्दरता ढाकछोप गर्न कै निम्ति पोतिएको झै लाग्ने ।

आँखामा बाक्लो गाजल । आँखीभौं नै ढाकिएको । सुन्दर चित्रमा कसैले कालो मसी पोखी दिए जस्तो । झिमिक्क झिमिक्क आँखा झिम्काउँदा नशालु लाग्ने तर व्यर्थका रंगरोगनले उनलाई देख्ने जो कोहि पनि उत्तेजना भन्दा उनको भद्दा श्रृङ्गारले घिन महसुस गरेका थिए होलान  । नेपालगन्जको त्यो सुन्दर रानी तलाउको छातीमा थुप्रिएको फोहोरका डुङ्गुर जस्तै उनको ओठ र आँखामा गाजल र लिपिस्टिकको थुप्रोले एक चोटी नाक खुम्च्याउन सबैलाई बाध्य पार्थ्यो होला ।

मलाई जसरी उनको रुप र आकृतिले उत्तेजित तुल्याउनको साटो हीनताबोध र सिथिल बनाइरहेको थियो सायद सबैले यहि महसुस गरेका थिए कि ! बागेश्वरी मन्दिरको मूल गेटको दाँहिने पट्टीको एउटा पार्लरको सानो अनि अँध्यारो गल्ली छिचोल्दै साघुरा सिँढी उक्लिए पछिको त्यो चकमन्न अँध्यारो कोठाको ढोका अगाडि दुवै हातले ढोकाको चौखटलाई समाइ उभिएकी उनको भद्दा श्रृङ्गारले मलाई मौनता मै हराउन बाध्य बनायो । रक्सीको भट्टीबाट दौडिएको मेरो पाइलाहरु अकस्मात् रोकियो । भित्र छिरु या नछिरु भन्ने दोधारमै बाधेर राख्यो ।

call girl

मानिसहरु यसैमा रम्न आउँछन् ? आफैंले आफैंलाई प्रश्नको भुमरीमा भाँसिएको महसुस गरेँ । यो प्रश्न कहाँबाट आउँदैछ ? मेरो मनभित्रबाट । अनि म यहाँ किन आए त ? त्यो पनि यहि मनले डोर्‍याएर । अनि एउटै मनको किन दुई भिन्न विचार ।

 ढोकाको सङ्घारमै उभिएर यी फगतका गलफतिमा भुल्नु उचित थिएन । उचित यो मानेमा पनि थिएन कि म आफ्नै पाइलाले दौडदै उफ्रिदै यहाँसम्म आएको थिएँ । सायद उनी यो भद्दा श्रृङ्गार बेगर हुइँदिउन् त  मेरो हृदयको आबेग जाग्ने थियो कि ? तर सायद नै त हो । सायद र तर शब्दको के नै भरोसा हुन्छ र जहाँ पनि सोच्न र कुरा अड्काउन माहिर हुन्छन् । यी सायद भन्ने कुरा नै व्यर्थ हुन । सायदलाई होइन आफ्नो हृदयलाई खोल्नु पर्छ कसैको सुन्दरताको पहिचान गर्न । आखिर के छैन उसमा । मिलेको आँखा । पुस्ट शरीर । कालो अनि लामो कपालबाट टप्प टप्प झरेका पानीको थोपाले उनको शरीरको केही भागहरुलाई चुम्दा उनको शरीरको आकर्षणलाई उन्मातको त्यो बिन्दूसम्म पुर्‍याएको थियो जहाँबाट हरेक पुरुषले सन्तुष्टको चरम आनन्द प्राप्त गर्दछ ।

उनी चाहिँ एउटा हातले आधा मुख छोपेझै गरि उत्ताउलो हाँसो हाँसिन । कस्तो उत्ताउलो हाँसो, त्यो हाँसोमा न मुस्कानको केही अंश नै छ न कुनै लज्जाभाव । नारीको सुन्दरता भन्नू नै लज्जाभाव हो । त्यहीँ लज्जाभावले नै हरेक पुरुष हृदयको भित्री तहसम्म स्पर्श गर्छ । कुनै अलौकिक तरङ्ग उत्सर्जन हुन्छ । अनि चाहान्छ त्यो लज्जाभावलाई उघार्न, खोल्न या तोड्न आफ्नै हातको स्पर्शले । तर उनी त सुन्दरतालाई भद्दा श्रृङ्गारले छोपेकी छिन् अनि आफ्नो लज्जाभावलाई उदाङ्गो पारिसकेकी छिन । अब बाँकी के रह्यो त जो उनीसँग म आकर्षित हुन सकूँ । सायद उनले कुनै पान या गुट्खाका टुक्राहरुलाई चपाउँदै पिच्च पिच्च थुक्दी हुन् त उनी ठ्याक्कै हिन्दी चलचित्रमा देखिने कोठिकी मालिक्नी भन्दा कुनै मानेमा कम देखिने थिएनन् ।

कोठा भित्रको मधूरो तर पहेँलो बत्तीको प्रकाशले थोत्रो अनि अनौठो किसिमको गन्ध या दुर्गन्ध छरिरहेको एउटा बिस्ताराको आकृति मेरो आँखामा पर्न गयो । त्यहीँ टुसुक्क बसेँ । चारैतिर नियालेर हेर्ने मेरो बानी, मेरो आँखाका चञ्चलपनलाई मधुरो बत्तीको प्रकाशले बाधा पुर्‍याइरहेको थियो । सायद उनीहरु चाहान्थे होलान त्यहाँ छिर्ने जो कोहि पनि त्यो कोठाको बस्तुस्थिति भन्दा उनैको पुस्ट शरीरमा केन्द्रित हुन सकेको होस् । उसैको शारीरिक मोहकतामा मन्त्रमुग्ध हुन सकेको होस् । र, हरेक रातमा उसैलाई पछ्याउँदै त्यहीँ साँघुरो सिँढी उक्लियोस् जुन सिँढी आज मैले उक्लिएको थिएँ । अनुहार हँसिलो नै थियो । कहिले काहीँ उनको त्यो भद्दा गाजललाई बेवास्ता गरेर हेर्दा उनीभित्रको नारित्त्व पनि झल्किन्थ्यो । उनको लज्जाभाव पनि देखिन्थ्यो तर त्यहीँ आँखाको नानी जस्तो सानो एकदमै सानो तर धेरै टाढा जस्तो लाग्ने, धेरै गहिरिएर हेर्नू पर्ने । अझ सहि अर्थमा भन्नु पर्दा खोज्नु पर्ने । यो कस्तो नारी जसको नारित्व खोज्नु पर्ने लज्जाभाव भेटाउन उनको आँखाको भित्र भित्रसम्म पुग्नु पर्ने ।

उनका पाइला म भए तिरै सोझिए । दुई पाइला सरिन र मसँगै बसिन । उनका पाखुराले मेरो पाखुरालाई केही सेकेन्डको अन्तरालमा स्पर्श गथ्‍र्यो । जब जब स्पर्श हुन्थ्यो मैले उनको आँखामा हेर्थे । तर उनी चाहिँ आफ्ना हातहरुलाई चलायमान गर्थिन । सलबलाउन थाल्थे मेरो शरीरमा । तर मेरो निष्क्रिय प्रतिक्रियाले उनको हातहरुलाई रोक्न बाध्य बनाउथ्यो । मेरो निष्क्रिय प्रतिक्रियाले सायद उनि आफ्नो पुस्ट शरीरको आकर्षण सकिएको महसुस गरिन होला या मेरो कमजोरी । उनले केही खित्का हाँसो निकालिन । सारीको सप्कोलाई तल फालिन । जानेरै फालिन ताकी उनको आकर्षक शारीरिक बनावटको परिचय मलाई दिनु थियो । आकर्षक अनि छिनेको कम्मर । नाबीको हल्का उठेको हिस्सा अनि त्यो गोरो र चम्किलो छाला । साँच्चिकै उनको त्यो कृयाले मलाई उनको सबै भद्दा श्रृङ्गारलाई भुल्न बाध्य तुल्याइ रहेको थियो ।

अकस्मात् भनौ या मेरो यहाँ आउनुको उदृश्य भनौ । मेरो औंलाहरु उनको कम्मरको एक हिस्सामा पुग्यो । बिस्तारै मेरा हातहरुले स्पर्श गरे । मेरो यो कृयाले उनी उन्मुक्त मातले छट्पटिनु पर्ने । उनका स्वासप्रस्वास तीब्र गतिमा चल्नु पर्ने । बेग्रताको सीमा तोडिनु पर्ने । उनको धड्कनको ढकढक आवाजले मेरो धड्कनलाई पनि त्यसरी नै उत्तेजित बनाउन पर्ने । तर उनीमा यस्तो कुनै प्रतिक्रिया भनौ या आबेगको कुनै लक्षणनै देखिएन । बरु उनी आफ्नो दातहरु देखाउन सुरु गरिन । फेरि उस्तै भद्दा हाँसो हाँसिन, बिना मुस्कानको, बिना कारणको, अनि बिना लज्जाभावको । दुवै हात मुखमा जोडी हाँस्न थालिन । लत्रेको सारीको सप्कोको टुप्पामा तानिन् र पूरा सारिलाई आफ्नो शरीरबाट अलग गरिन । र आफ्नो शरीरलाई खाटमा भ्याट्ट फालिन एउटा मरेको लास जसरी ।

के यिनै हुन् त मेरो साथीहरुले भनेको सुन्दरी । के यिनै हुन् त जसको शरीरको गन्धले मेरो साथीहरु मोहित हुन्थे । अह ! यिनी त्यो सुन्दर फूल होइनन् जसको सुगन्धमा म हराउन सकूँ । यिनमा त कुनै सुगन्धनै बाँकी छैन । कुनै लज्जा नै बाँकी छैन जो मैले लिन सकूँ । जो मैले तोड्न सकूँ । यिनी त मात्र त्यो बेश्या शब्द हुन जुन नेपाली शब्दकोषमा बयान गरिएको छ । शब्दकोशमा भएको बेश्या शब्दको परिचय सायद यिनकै लागि बनेको हो । किनकी यिनी एउटा शब्द हुन् । मात्र शब्द । किनकी यिनमा कुनै भावना नै छैन या थियो भने पनि उसलाई रित्ताइ सकेकी थिइन ।

मैले केही सेकेन्ड अगाडि दिएको उनको परिचयलाई सायदले रोकिदियो । त्यसैले त नेपाली शब्दकोशको सायदलाई म तुच्छ ठान्दछु । जहाँ पनि आसा र निराशाको सन्देह पैदा गर्ने । त्यही सायदले होला सायद उनीप्रतिको परिचयलाई परिमार्जन गर्न मन लाग्यो । सायद उनी मैले शब्दकोशमा भेट्टाएको परिचय भन्दा भिन्न या पृथक पो छन् कि ?

पाँच सयको नोट त्यहीँ छेउमै राखेँ । मोबाइल नम्बर लिएँ । र आफ्ना पाइलाहरुलाई तिनै सिँढीबाट नै क्रमिक रुपमा तल तल झार्दै उनैको भद्दा श्रृङ्गारभित्रको नारित्व खोज्ने अठोट लिएँ । त्यसैले त नम्बर लिएँ । तर उनी हाँसी रहेकी थिइन । सायद मेरो कमजोरी महसुस गरिन कि ? या मेरो बालापन सोचिन तर म उनीभित्रको नारित्व र लज्जा खोज्दै बाहिरिए । त्यो पुस्ट शरीरसँगैको लज्जा र नारित्त्व बेगर उनी अपूर्ण थिइन । जसलाई म पूर्णतामा पाउन चाहान्थे ।

Womui
Womui