सम्झनामा वसन्त मल्ल

118

vijaya Malla

विजय मल्ल

नेपालगन्ज- भदौको झरीसगै देखिने दृष्यले सवैको मनमा उर्जा, उत्साह र उमंग छाउने गर्छ । कतिपयको मन हर्षित हुन्छ । किसानका लागि वर्षभरी साचेर गरिएको खेतीबाली लहलाउदै गरेको दृष्यमा भदौरे झरीले थपेको उर्जाले सवैको मन खुशी हुन्छ । भदौरे झरी सगै नेपालीको घरआँगनमा अएको चाडपर्वको उमंगले मन हर्षित र चाडपर्वमय बनाएको हुन्छ । तर यो भदौको आगमनसगै देखिने दृष्यले मलाई कोतार्छ, चिमोठ्छ र असह्य पीडा दिन्छ । जब जब भदौ आउँछ तब तब मेरो मन आतिन्छ र दुख्छ । मनमा एउटा ज्वाला दन्किन्छ । पुरिन लागेको पुरानो घाउ पुन चर्किन्छ । यादले तर्साउछ, एक्लोपनाले सताउँछ । धेरै धेरै प्रयास गर्दै जाँदा मन मस्तिष्कमा काबु त पाउँछु नै तर……..तर…….त्यो कालो दिनको एक एक घटनाका दृष्य, त्यो चित्कार मेरा यी नयन वरिपरि छरपष्ट दौडिन्छ । मानौ एउटा चलचित्रको दृष्यमा देखाइएको फल्यासब्याकको प्रष्ट चित्र मेरा सामु आउँछ । त्यो दृष्यले म विवश हुन्छु, चिच्याउन खोज्छु, आतिन्छु, निसासिन्छु, तर म केही गर्न सक्तिन, मेरा हातपाउ बाधिएकाछन् र म नतमस्तक हुन्छु ।

स्वर्गिय वसन्त मल्ल ।
स्वर्गिय वसन्त मल्ल ।

कुनै पनि आमाबुवाका लागि उनको पहिलो सन्तान आशाको एक किरण हुन्छ । उनको सपनाको एक नयाँ उम्मिद हुन्छ । पहिलो सन्तान सगै गाँसिएर आएका थुप्रै आशा र सपनाहरु उनीहरु सगै हुर्कदै जान्छन् । सन्तान बानी ब्यवहोराले जस्तो सुकै किन नहोस् या भनौ जो सुकैको सन्तान किन नहोस् सन्तानको माया ती अभिभावकलाई औधी हुन्छ । धेरै माया हुन्छ । कुनै पनि अभिभावक विशेष गरि आमाको बाच्ने साहारा नै सन्तान हुन्छन् । सन्तान विनाको जिन्दगी आमा जिउन सक्तिनन् । सन्तान गुमाउनुको पीडा बास्तबमा गुमाउनेलाई नै थाहा हुन्छ । हुर्कदै गरेको मेरो बाल्यकाल, म भन्दा अगाडी मेरा अग्रज दाजु । दाजुका बानीब्यवहोरालाई मलाई प्रभावित गरिसकेको थियो । वहाँको बानिब्यवहोरालाई नै आत्मासितिकरण गर्दै बाल्यकाल पुरा गरि किसोरा अवस्था भर्खर पार गरेको अवस्थामा आत्मिय, आदर्श र आफ्नो प्यारो मान्छे गुमाउनुको पीडा बास्तबमा मलाई नसोध कहाँ दुख्छ घाउ सरी नै भएको छ ।

यस जगतमा जन्मिएका सवैको मृत्यु निश्चित छ । कोही पनि अजम्बरि छैन । अमर छैन । अजय छैन् । मृत्यु आज भए पनि हुन्छ, भोली भएपनि हुन्छ या केही समय पछि भए पनि हुन्छ । यस जगतमा रहेका सवै प्राणीको मृत्यु आउँछ । बस ढिलो चाँडो मात्र फरक छ । मृत्युमा कसैको जात्रा हुन्छ त कसैको गुमनाम हुन्छ । स्वभाविक रुपमा हुने मृत्युले दिने पीडा केही समयको अन्तरालमा विर्सन, धैर्य धारण गर्न सकिन्छ । तर आमाबुवा, भाईबहिनी, साथी ईष्टमित्र र समाजको आशाको केन्द्र भएको ब्यक्तिलाई मानवीय समवेदना उपहास हुने गरि निर्ममता पूर्वक हत्या गर्नुको घटना सायद यो जगतको कुनै पनि कुनामा बस्ने कुनै पनि धर्म, जाती सम्प्रदायको परिवारलाई असह्य हुन्छ, बढी पीडा दिन्छ । र त्यो घटनाकुनै पनि अवस्थामा भुलाउन सकिन्न यो सर्वमान्य हो । मानविय संवेदना भन्दा माथि उठेर गरिएको यो हत्याकाण्ड मानवअधिकारको खिलाफ छ ।

एउटा ब्यक्तिको बाँच्न पाउने अधिकारमाथिको कुठाराघात हो । जुनसुकै उद्देश्यका साथ एक ब्यक्तिलाई उसको परिवारबाट अलग गराउनु पाईदैन । अपहरण गरि निर्ममता पूर्वक हत्या गर्नु ब्यक्तिको बाँच्न पाउने अधिकारलाई निमोठिएको छ । मानवअधिकारमाथिको प्रहार हो यो तर यो समाज चुप छ, अधिकारकर्मी औपचारिकतामा सिमितछ प्रहरीप्रशासन आफ्नो असफलता स्विकार्न चाहादैन । घटना घटेको ७ वर्ष सम्म पनि वसन्त मल्लको हत्या र अपराधमा संलग्न ब्यक्तिहरुको पहिचान गर्न नसक्नु, हत्याको कारण पत्ता लगाउन नसक्नु नेपाल प्रहरी र यस सगं सम्बन्धि सवै संयत्र असफल हुन् । असफल राज्य र यसका संयत्रको फुटपातमा बेचिन राखिएका कमसल बस्तुको भाउ सरह छ जसलाई म लगायत म जस्तै पीडित कहिल्यै पत्याउदैन । विश्वास गर्दैन । वि.सं.२०६६ भदौ २१ गते बेलुका साढे सात बजे घरमा खाना खान लागेका मेरा आदरणी दाजु स्वर्गीय वसन्त मल्ल (छन्द विक्रम मल्ल) लाई टेलीफोन मार्फत बोलाई अपहरण गरि लगि निर्ममता पूर्वक हत्या गरेको घटना आज पनि यो कालो भदौले सम्झाएको छ । भदौ २१ गते अपहरणमा परेका वसन्त भोली पल्ट २२ गते मृत भेटिए । त्यो पनि अपहरणकारीले टेलीफोन गरि हत्या भएको जिम्मा लिदै वसन्तलाई हत्या गरि फालिएको स्थानका बारेमा सहजै बताए । घटना घटेको आजका मितिले सात (७) वर्ष पुग्यो ।

तर अझसम्म वसन्तका परिवारलाई यो घटनाले पिरोल्छ, पीडा दिन्छ र वसन्तको यादमा भावविल हुन्छ वसन्तको परिवार । घटना भए लगत्तै प्रहरी यो घटनालाई अनुसन्धान गर्छ, पक्राउ गर्नेलाई पक्रिन्छ तर प्रहरीले औपचारिकतामा नै सात वर्ष विताउँछ । वसन्तलाई अपहरण गरि धोका र जालसाझीँमा निर्ममता पूर्वक हत्या गर्नु काम कायरता हो । नामर्द, कातर ब्यक्ति गर्ने काम हो यो । यो सर्वमान्य कुरा हो । घटना घटेपश्चात दोषिलाई पक्राउ गरि कानुनी दायरमा लिई कारबाही गर्न पीडित परिवारले जिद्दोजेहद प्रयास गरेता पनि पीडित पक्षको आवाज कसैले सुनिदिएन । प्रहरी प्रशासन, जिल्ला प्रशासन, मानवअधिकारका विभिन्न संस्था, विभिन्न राजनितिक दल यहाँ सम्मकी सिहंदरबार पुगी प्रधानमन्त्री कार्यालय र गृहमन्त्रालयमा गई दोषी पक्राउ गरि सजाय दिनका लागि अनुरोध, विन्ति पत्र चढाउँदा पनि कहि कसैले कुनै प्रतिक्रिया दिएनन् । कसैले यो घटनालाई गम्भीरतापूर्वक लिएनन् फलस्वरुप रहस्यमै गुमनाम भयो वसन्त मल्ल हत्याकाण्ड । वसन्त मल्ल जस्तै घटना देशमा भए तर अधिकासं घटनाको पर्दाफास गर्नुका साथै अपराधिलाई पक्राउ गरि कानुनी कारवाही गर्यो सरकारले तर वसन्तको हत्याकाण्डको पर्दाफास गर्नु पर्नेमा अनुसन्धानको गर्भमै घटना हराउदै गयो । घटनाका सवुत तथा प्रमाण लुकाइए । घटनाका प्रकृति मोडिए । घरपरिवारलाई गुमराहमा राखियो । लाचार वसन्तको परिवार नतमस्तक भए । केही गर्न सकेनन् ।

घटना भएको केही समय पश्चात वसन्तको फाईल बन्द गरियो । यो घटनालाई सरकारले हेर्छ भनियो र यसको अनुसन्धानका लागि सरकारी वकिलले जिम्मा लिए । तर सरकारी वकिलको कार्यालयको कुनै एक कुनामा धमिराले त्यो फाईल प्वाँल पारिरहेको छ । प्रहरीको असफल प्रयासका कारण यो घटनाको रहस्यमा पुग्न नसक्नु प्रहरीको ठूलो कमजोरी हो । जसका कारण प्रहरीलाई फलामको चिउरा चपाए सरह भएको छ । जति जति दिन समय वित्दै जान्छ त्यति त्यति घटना र यसका पात्र (अपराधी) हरु फेरिदै गए । घटनाको प्रकृति र यसको रहस्य लुक्दै गए । एकै देशका नागरिकमाथि राज्यले गर्ने दोहोरो ब्यवहारले पीडित परिवारले सरकार र यसका संयत्र प्रति कुनै पनि अवस्थामा विश्वास गर्ने र यसप्रति आशा राख्ने कुनै ठाँउ छैन । प्रहरी प्रशासनको कमजोर उपस्थिती, अनुसन्धान कार्य फितलो, अनुसन्धान पश्चात पक्राउ परेकालाई सार्वजनिक गर्नु र केही समयपछि छाड्नु । राज्यको मुद्दा भनी सरकारी वकिलमार्फत कार्य हुनु, अनुसन्धान गर्दै जाँदा प्राप्त सवुत, प्रमाणलाईृ नष्ट तथा फेरबदल गर्नुले वसन्त मल्ल हत्याकाण्ड रहस्यम छ । जिवन रहदाँ यहाँ मानिस अन्यायमा पर्दा समाज, सरोकारवाला निकाय नतमस्तक भई मुखदर्शक हुन्छ । न्याय पाउदैन । मरोपरान्त वसन्तले यस समाज, सरोकारवाला र यो राज्यसगं अपेक्षा गरेको न्यायको अनुभूती भएको छैन । जसको आत्मा न्याय पाउनका लागि तड्पी रहेको छ ।

घटना जो सुकैको किन नहोस् । जुनसुकै कारणले किन नहोस् यदि घटना घट्छ भने घटनाका दोषीलाई कानुनी कटघेरामा उभाई कानुन संगत कारबाही गराउन सक्नु प्रहरी प्रशासन र राज्यको जिम्मेवारी र कर्तब्य हो । यदि यसो हुन सकेन भने निर्दोष ब्यक्तिको जीवनको मुल्य के ? आज एउटा घटनाको प्रभावकारी अनुसन्धान नै नगरि अपराधमा संलग्न ब्यक्तिलाई कानुनी कडघेरामा उभ्याउन नसक्नु नेपाल प्रहरी प्रशासनको कमजोरी हो, कायरता हो असफल संयन्त्रहो जसलाई हामी नकार्न सक्दैनौ । वसन्तको घटनाले विक्षिप्त भएका उनको परिवार ढिलै भएपनि न्याय पाउने केहि आशामा छन् । धिप धिप गरि निभ्न लागेको दियो जस्तै यो आशालाई जिवन्त पार्ने काम प्र्रहरी प्रशासनले गरोस् । राज्यले अपराधमा संलग्न ब्यक्तिलाई पहिचान गरि छिटो कारबाही गरोस् ।

अबका दिनमा वसन्तको घटना जस्तो अरु कसैको नहोस् । परिवार र समाजका लागि वसन्त सदैव जिवित छन् । उनलाई हाम्रा लागि सदैव आदर्श मान्ने हुन् । अब पनि वसन्तको घटनालाई बाँके प्रहरी प्रशासन र त्यस मातहतमा रहेका संयन्त्रले वास्तविक दोषी पहिचान र कारबाही गर्न नसके प्रहरीको कुनै पनि संरचना हामीलाई चाहिदैन । वसन्तलाई न्याय दिलाउन नयाँ अभियान पक्कै चलाउनु जरुरी देखिएको छ । तव मात्र हाम्रो आवाज बुलन्द हुन्छ । म र मेरो परिवारलाई विश्वास छ हरेक कालो बादलमा चाँदीको घेरा हुन्छ । स्वर्गीय वसन्त मल्लको सातौ वार्षिकीका अवसरमा आदरणीय दाजु वसन्त मल्ल प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।

( लेखक विजय मल्ल, स्व. वसन्तका सहोदर भाई हुन् । ) 

Womui
Womui