शनिबार रक्तदान, मानवीय कार्यमा सहभागी हुन शाहको आग्रह

88

नेपागन्ज– साहू समाज जिल्ला कार्य समिति बाँकेले आगामी शनिबार ( जेठ २९ गते) रक्तदान कार्यक्रमको आयोजना गर्दै छ । पछिल्लो समय ब्लड बैंकमा रगत अभावका कारण कोरोना संक्रमितलगायतका बिरामीको उपचारमा समस्या देखिएपछि रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।

सेवा नै धर्म हो भन्ने कुरालाई आत्मसात गर्दै कोरोना भाइरसले ल्याएको यस विषम परिस्थितिमा रगत अभावले कोही पनि उपचारबाट वञ्चित हुनु नपरोस् वा मृत्युवरण गर्नु नपरोस् भन्ने उद्देश्य साथ उक्त कार्यक्रमको आयोजना गरिएको रक्तदान कार्यक्रमका संयोजक प्रदीप शाहले जानकारी दिए । साहु समाज जिल्ला कार्य समिति र साहू समाज युवा जिल्ला समितिको बैठकमा कोरोनाले निम्त्याएको विषम परिस्थितिलाई मध्यनजर गर्दै रक्तदान कार्यक्रम आयोजना गर्ने निर्णय गरिएको जानकारी दिँदै संयोजक शाहले यस मानवीय कार्यमा सहभागी हुन सबैलाई आग्रह गरे ।

कोरोना भाइरसले निम्त्याएको असहज परिस्थितिबाट पीडित नागरिकका लागि पनि साहू समाजले विभिन्न गतिविधि संचालन गर्दै आएको छ । समाजले गरिब, असहाय, पीडितलाई खाद्यान्न वितरण गर्नुका साथै सुरक्षाकर्मी र प्रहरी विटहरुमा समेत पानी, चाउचाउ, मास्क, सेनिटाइजरलगायतका अत्यावश्यक स्वास्थ्य सामग्री वितरण गरिरहेको छ ।

साहू समाजले रक्तदान कार्यक्रमको आयोजना गरेता पनि मानवीय सेवाभाव प्रत्येक नागरिकको अन्तरआत्मामा हुने भएकाले यस पुण्य कार्यमा सबैलाई सहभागी हुन संयोजक शाहले आग्रह गरेका छन् । ‘महामारीको बेलामा हुनेले नहुनेलाई दिनुका साथै आफूबाट हुन सक्ने सहयोग निस्वार्थ रुपले गर्नु नै मानवीय सेवा हो,’ संयोजक शाहले भने ।

रक्त अभाव हुन नदिनका लागि आयोजना गरिकएको मानवीय कार्यमा सहभागी रक्तदातालाई खाना, फलफूल, ग्लोकोज, फ्रुटी, टिसर्ट र गम्छासहित सम्मान पत्रले सम्मान गरिने संयोजक शाहले बताए ।

Womui
Womui