सिद्धचुली

398

भेरीगंगा नगरपालिका वडा नम्बर २ कालपानी गाउँदेखि पश्चिम ५ किलोमिटर दूरीमा सिद्धचुली पर्यटन स्थल रहेको छ । कालपानी गाउँदेखि पश्चिम एक घण्टा पैदल यात्रामा सिद्धचुलीमा पुगिन्छ । यहाँ दरबारजस्तै देखिने दुई वटा चट्टानका चुलीहरू रहेका छन् । सिमेन्ट, गिट्टी, बालुवा र ढुंगा मिसाएर बनाएको जस्तो देखिने चट्टान चुलीहरू यहाँको हेर्न लायक छन् । मन्दिर आकारका चुलीलाई स्थानीयले धार्मिक आस्था र आश्चर्यजनक प्राकृतिक सम्पदाका रूपमा लिँदै आएका छन् । यहाँ पुग्ने मानिसहरू सिद्धचुलीका रूपमा धजा, त्रिशूल र घण्टहरू राखेर आस्थाका साथ पूजा गर्ने गर्छन् । यस स्थानबाट चारैतिर चुरे पहाड र वडा नम्बर २ को बस्ती देखिन्छ । यहाँ हिमाली जिल्लाको चिसो हावा दिनभर र रातभर चल्ने गर्छ । सिद्धचुली पुर्खौदेखि जस्तो थियो अहिले पनि उस्तै आकार र स्वरूपमा रहेको छ । यसको चारैतिर पहिरो खसे पनि यो चुलीहरू जहाँको त्यही छ । माटो र ढुंगाले बनेको यो चुलीहरू हेर्न मानिसहरू जाने गर्छन् । चारैतिर पहिरो गएको छ भने मन्दिर बीचमा ठडिएर अड्किएको छ । बर्सेनि जति पानी परे पनि यो क्षेत्रलाई कुनै असर गर्न सकेको छैन ।

देवीथान मन्दिर भेरीगंगा वडा नम्बर २ कालपानी गाउँको बीच भागमा रहेको छ । यो मन्दिर कालाशिल्टो र मष्टो देवताको पूजा गर्ने सुर्खेतको चर्चित स्थानमा रूपमा रहेको छ । मन्दिरको पूर्व, उत्तरमा मन्दिर छ भने दक्षिणमा ठूलो कालो ढुंगा रहेको छ । ठूलो कालो ढुंगाको बीच र चारैतिर मन्दिर, थानहरू निर्माण गरी यहाँ बर्सेनि मष्टो देवताको पूजा गरिन्छ । मन्दिरमा धजा, घण्ट र त्रिशूलहरू राखिएका छन् । मन्दिरमा दुईवटा आश्रमजस्तो प्रतीक्षालय रहेका छन् । करिब ४ कठ्ठा क्षेत्रफलमा रहेको देवीथान यस वडाको धार्मिक आस्था र शक्तिको केन्द्र हो । परापूर्वकालदेखि नै रहेको ठूलो कालो ढुंगामा अत्याधिक सर्प बस्ने र सर्पले बस्तीमा पसेर मानिस तथा पशुपंक्षी टोक्ने हुँदा यहाँ देवीथान बनाएर पूजा गरेपछि सर्पहरू हराएको भन्ने किंवदन्ती रहेको छ । यहाँ अत्याधिक विषालु कालो सर्पहरू पाइने गरे पनि वि.स. २०२२ सालमा देवीथान निर्माणपछि बस्न छाडेको र गाउँमा सर्पको जोखिम हटेको भनाइ छ । यहाँ बर्सेनि पूर्णिमाको दिनमा मेला लाग्ने गर्दछ । पूर्णिमाको दिनमा गाउँलेहरू भेला भई पूजा गर्दछन् । वर्षमा ५ पटक यहाँ पूर्णिमाको दिनमा कालाशिल्टो र मष्टो देवताको पूजाआजा भव्य रूपमा गरिँदै आएको छ । यो मन्दिर रहेको भुइँबाट कालो ढुंगा रहेको टुपोमा पुग्न २२ वटा सिँढीहरू र ढुंगामाथि सानो मन्दिर बनाएको छ । ढुंगामा विभिन्न रुखबिरुवा र घाँसहरू पलाएको देख्न सकिन्छ । यहाँ मष्टो देवता कुल पूजालाई देवाली भन्दछन् । यहाँ मष्टलाई बलि गरिन्छ । कुलधामीले बोका काटेपछि त्यसको खुन पिउँदै, उफ्रदै, नाच्दै धामीले मण्डव परिक्रमा गर्दै गरेको दृश्य यहाँ मेलामा देख्न सकिन्छ । कुलधामीले बोकाको भोग (रगत) खान्दछन् । बोकालाई काटेर बोका तथा भेडालाई अँगालोमा राखेर आलोपालो रगत पिउँदै मूल धामी मण्डल परिक्रमा गर्छन् । सेतो वस्त्रको पहिरन लगाएका १२ भाइ मष्टाका धामीहरू हातमा चम्मर, घण्ट, धजा समाती भाइ मष्टाका नामहरू उच्चारण गर्दै बाजाको तालमा आँगनमा खेल लगाउँदै नाच्ने गर्दछन् ।

सुर्खेतको भेरीगंगा नगरपालिका क्षेत्रमा घुम्नै पर्ने पर्यटकीय स्थानहरुको जानकारीमूलक पर्यटन चिनारी पुस्तकबाट

Womui
Womui