‘विकासित नेपालगन्ज बनाउन मेरो उम्मेदवारी’

158

बाँके, क्षेत्र नम्बर २ बाट प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार विजयकुमार गुप्ता यतिबेला आफ्नो चुनावी अभियानमा होमिएका छन् । २०४२ सालको सत्याग्रहमा सुर्खेत र २०४६ सालको जनआन्दोलनका क्रममा नेपालगन्जमा जेल बसेका गुप्ताले त्यसपछि पनि २०६३ को दोस्रो जनआन्दोल र त्यसपछिका मधेस आन्दोलनमा लोकतन्त्र प्राप्तिका लागी ठुलो संघर्ष गरे । सधैभरी लोकतन्त्रका पक्षमा वकालत गरेका उनले मानवअधिकारको संरक्षण र सम्र्वद्धनका लागी आफुलाई राजनीतिमा स्थापित गराए । नेपाली राजनितिमा निरन्तर रुपले ४ दशक भन्दा बढी समय बिताइसकेका गुप्ताले २०४८ सालमा पुनरावेदन अदालत हेटौंडाको न्यायाधीश पदलाई समेत त्यागेर राजनीतिक यात्रामा जीवन सर्मपित गरे । २०४९ सालमा नेपालगन्ज नगरपालिकाको मेयर भएर काम गरिसकेका गुप्ताले नगर क्षेत्रको विकास लागी अघि सारेका थुप्रै योजना अहिले पनि छर्लङ्गै देखिन्छन् । नगरपालिकाको मेयर बाहेक उनले जनताको प्रतिनिधी भएर पछिल्लो समयमा काम गर्न पाएका छैनन् । यिनै गुप्ता यही मंसिर २१ गते हुन लागेको प्रतिनिधी सभा सदस्यको निर्वाचनमा क्षेत्र नम्बर २ बाट प्रतिस्पर्धी बनेका छन् । राष्ट्रिय जनता पार्टीका केन्द्रिय उपाध्यक्ष समेत रहेका उम्मेदवार गुप्तासँग विजय मल्लले गरेको संवादः–

निर्वाचनको तयारी कस्तो छ ?
निर्वाचनको मिति नजिकिदै गर्दा म लगायत कार्यकर्ता तथा मतदातामा उत्सुकता बढेको छ । सबैको क्रियाशिलता बढ्दै आएको छ । सामान्यतया निर्वाचन केन्द्रित कार्यहरुलाई सम्पादन गरिरहेका छौं । बाँके जिल्लाबासी, अझ भनौ नगरबासी या आम नागरिकले मलाई चिनेका छन् । मैले आफूलाई चिनाइराख्नुपर्छ भन्ने लाग्दैन । नेपालगन्जले मेरो चरित्र र ब्यवहारलाई राम्ररी बुझेका छन् । बिहान उठेदेखि मध्ये रातसम्म जनताको घरदैलोमा पुगी आफु र आफ्नो पार्टीले लिएको प्रतिवद्धता लिएर मतदातालाई भेट्ने काम गरिरहेका छौं ।

आम मतदाता के भन्छन् ?
म विकासप्रेमी नेता हुँ । विकासका सवालमा सबैलाई मिलाएर अघि बढ्ने ब्यक्ती हुँ । निर्वाचनकै क्रममा मतदातालाई मैले भेटेको छु । म प्रति उहाँहरुको सकारात्मक दृष्टिकोण भएको पाएको छु । मतदातालाई भेट गर्दा उहाँहरुको मुख्य चाहाना नै समृद्धिको बाटो देश हिडोस् भन्ने रहेको छ । विशेष गरि डुडुवा गाँउपालिकामा डुवान, कटान र पटान तथा ब्यवस्थित बसोबासको सवाल मुख्य रुपमा पाएको छु । मैले आफै मतादताले भोट दिन्छन् जिताउँछन् । निर्वाचनको वातावरण विजयमय भएको छ भन्दा त्यसको अर्थ रहदैन । मतदाताहरुसँग भेट गर्दा पाएको प्रतिवद्धता र सुझावलाई मैले मनन गरिरहेको छु । म नेपालगन्जबासी हुँ त्यही भएकै कारण मतदाताले सकारात्मक सन्देश के दिएका छन्, भने हामी हाम्रोलाई होइन राम्रोलाई अनि पार्टी होईन सक्षम र योग्य तथा अनुभवि ब्यक्तिलाई मतदान गरि आफ्नो मतको सदुपयोग गर्न चाहान्छौं, भन्ने सकारात्मक सन्देश दिएका छन् जसले मलाई थप उर्जा थपेको छ । सजग र सचेत नागरिकले यो कार्यबाट चुक्नु हुदैन ।

तपाईले उम्मेदवारी किन दिनु भएको हो ?
नेपाली राजनीतिमा लामो समय खर्चेको मैले तत्कालिन नेपालगन्ज नगरपालिकाको मेयर भएर काम सम्पादन गरिसकेको छु । मेयर भएर नेपालगन्जमा काम गर्दा नेपालगन्जको न्यूरोड, वाटरपार्क, एकलैनी बजारको ब्यवस्थापन तथा नेपालगन्जमा अन्र्तराष्ट्रिय बिमानस्थल निमार्ण गरिनुपर्छ भन्ने मागलाई स्थापित गरि एशियन डेभलपमेन्ट बैंकको लगानीको बाटो खुल्ला गराएको ब्यक्ति हुँ । त्यसताकाको कार्यअनुभवले मलाई पुनः नेपालगन्जको मुहार फेर्न, बाँके जिल्लालाई पर्यटन प्रर्वद्धनसँग जोडेर आर्थिक, सामाजिक रुपान्तरण गर्न मेरो खाँचो भएको अनुभूती भएकाले उम्मेदवारी दिएको हुँ । म नेपालगन्जिया हुँ । मेरो घर हो, यो नेपालगन्ज, यो उप–महानगरपालिकालाई सफा, सुन्दर, विकासित नेपालगन्ज बनाउनका निमित्त मैले उम्मेदवारी दिएको हो ।

निर्वाचनका लागी तपाईको के-के प्रतिवद्धता छन् ?
नेपालगन्जको समग्र विकासको लागि यहाँको समस्याहरुलाई मैले रेखांकित गरेको छु । यहाँका अधिकास जनता गरीबिको रेखामुनी छन् । उनीहरुमा प्रशस्त बेरोजगारीको समस्या छ । ती आर्थिक, सामाजिक, साँस्कृतिक रुपले पछाडी पारिएका समुदायको सामाजिक तथा आर्थिक रुपान्तरणका लागि उनीहरुको समृद्धिका लागि अवसर प्रदान गर्नु, औधोगिक क्षेत्रको विकास गर्नु, भौतिक संरचनाहरुको विकास गर्नु जस्ता योजनाहरु छन् । नेपालगन्जलाई खाल्डा खुल्डीमुक्त सडक निर्माण गरि त्यसखाले खाल्डा खुल्डी ४८ घण्टाभित्र मर्मत गर्ने वातावरण निमार्ण गर्न चाहान्छौं । नेपालगन्जबासीलाई सफासुग्घर, पर्यावरणको संरक्षण गरि विकसित सहरको निमार्ण गर्ने सोचमा छौं । अनावश्यक आयात भन्दा निर्यातमुखी ब्यापारलाई प्रोत्साहन गरि लगानीमैत्री वातावरण निर्माण गरि डुडुवा गाउँपालिकामा दुईवटा चिनी फ्याक्ट्री निमार्ण गर्ने योजनामा छौं । म सामाजिक रुपान्तरण काममा प्रष्ट छु । नेपालगन्जमा महिला, बालबालिका, अपांग मैत्री वातावरण निर्माणमा पहलकदमी कार्य हुनेछ । मैले जनतासामु अघि सारेको योजना तथा प्रतिबद्धतालाई पूर्णरुपमा पालना गरि प्रभावकारि ढंगबाट म लागु गर्छु ।

यदी तपाई निर्वाचित हुनु भयो, भने के-के कुरामा परिर्वतन ल्याउनु हुन्छ ?
नेपालगन्जको बस्तुस्थिती, समस्या तथा चुनौतीलाई समाधान गरि देशकै नमुना उपमहानगरपालिका बनाउने उद्देश्यका साथ हामी अघि बढेका छौं । जुन कार्यलाई पूर्णता दिने एकमात्र ब्यक्ति म नै हु, किनकी मेरो ब्यक्तिगत पहिचान, चरित्र आम नागरिकले बुझेका छन् । त्यसैले उनीहरुको पहिलो रोजाई नै विजय (म) भएको छु । मेरो उम्मेदवारीमा विशेषगरि दुई कुरा छ । पहिलो कुरा म नेपालगन्जबासी हुँ अर्को नेपालगन्जमा मेयर पदमा रही कार्य गरेको अनुभव छ । नेतृत्व तहमा आएलगत्तै बौद्धिक जमातको समूह निर्माण गरि समग्र नगर तथा जिल्लाको मुहार परिर्वतन गरि राम्रो र हाम्रो समाज निर्माणमा अग्रणी भूमिका खेल्नेछु । हामीले जनतासामु राखेका प्रतिवद्धतालाई अक्षरस पालना गरि अघि बढ्नेछौं । सवैधर्म, सबैजाती, सबै समुदायलाई समाहित हुने विकासका कार्य गरिनेछ । म हावा गफ र बढी महत्वकांक्षी भएर अघि बढ्दिन यथार्थ र वास्तविक जनताका गुनासा, समस्या सम्बोधन र समाधान गर्नेछु । जनताको मत खेर जानदिने छैन । यसक्षेत्रको विकासको मूल फुट्छ । मैले नेतृत्वमा रहदाँ होस् या अन्य बेला यस क्षेत्रको विकासका लागि हरसम्भव प्रयास गरेको छु । नगरको विकास र निकासका लागि योजना बद्ध भई काम गर्छौ ।उद्योगी ब्यवसायीहरुलाई ढुक्क भएर व्यवसाय गर्ने वातावरण निर्माण गर्ने, शिक्षा, स्वास्थ्यबाट बञ्चित नगरक्षेत्रका सम्पूर्ण बालबालिकालाई शिक्षा र स्वास्थ्यमा पहुँच बृद्धि गर्ने, नेपालगन्जलाई स्मार्टसिटी बनाई,रिङ रोड निमार्ण तथा नेपालगन्ज एयरपोर्टलाई अन्तर्राष्ट्रिय एयरर्पोट बनाउने, सुख्खा बन्दरगाहालाई सुचारु गर्ने, नेपालगन्जलाई जडिबुटी तथा मानसरोवर एवम् पश्चिम नेपालका विभिन्न धार्मिक तथा पर्यटकिय स्थलको हबका रुपमा रुपान्तरण गर्ने र यो बिषयमा सबैको साझा मत बनाउने प्रयास गर्छौं ।

चुनावमा बोलेका प्रतिवद्धतालाई जितेर गएपछि नेताहरुले बिर्सन्छन् भन्ने आरोप छ नि ?
हो यो नेपाली राजनितिमा सबै पार्टी र उम्मेदवारमा देखिएको समस्या हो । हिजोका दिनमा अरु नेतृत्वमा आए उनीहरुले के गरे, के गरेनन् उनीहरुको मुल्यांकन जनताले गर्नेछन् । म आफूले जनता माझ अघि सारेको योजना, प्रतिबद्धता अक्षरस पालना गर्न हरसम्भव प्रयास गर्नेछु आफ्नो लक्ष्यबाट बिमुख हुने छैन । मलाई एकपट विश्वास गरेर हेर्नुस् ।

तपाईको मुख्य प्रतिस्पर्धी दल/उम्मेदवार को हो ?
यो परिस्थितीले खडा गर्ने हो । मेरा लागी को प्रतिस्प्रधी भएर आउँला त्यो म भन्न सक्दिन । म आफ्नो लक्ष्यमा निरन्तर एकाग्र भएर लागिरहेको छु । मलाई यसपाली जित्नु आवस्यक छ । अरुहरु यसअघि जितिसकेका छन् । केहीका लागि पछिपनि अवसर छ, तर समग्र क्षेत्र नम्बर २ को विकासका लागि, नगरको समृद्धिको लागि मलाई जित्नु आवश्यक छ । मुख्य रुपमा भन्नुपर्दा मेरा लागि मुख्य प्रतिस्पर्धी दल वा उम्मेदवार को हो ? भन्ने सक्ने अवस्था छैन । नेपाली काँग्रेसको पनि आफ्नो उम्मेदवार छैन, एमाले र माओबादीको पनि आफ्नो वास्तविक उम्मेदवार छैनन् । एकातिर पूर्वमन्त्री जी हुनुहुन्छ उहाँले आफ्नो कार्यकालमा २०६४ देखि २०७० सम्म बघौडा क्षेत्रमा के के गर्नुभयो उहाँले नै जानून् । यो समय भनेकै विजय गुप्ताको हो । नेपाली जनताले एकपटक मलाई अवसर दिनैपर्छ ।

अब अन्त्यमा, तपाई आम मतदातालाई के भन्नुु हुन्छ ?
जननी जन्मभूमीस्च स्वर्गादपी गरियसी । आफुले आफ्नो जन्मभूमीको लाज, अस्तित्व र स्वाभिमानलाई बचाईराख्न मलाई नेतृत्वमा पु¥याउन अनुरोध गर्दछु । नेपालगन्ज सवै विविधतामा एकता भएको क्षेत्र हो । पहाडीदेखी मधेशी, हिन्दु होस् या मुस्लिम वा अरु नै धर्म सवैले विजयलाई रुचाइरहेको अवस्थामा म जनताको नेता भएकोमा खुसी छु । मेरो शहरको नाम देशको नामाबाट राखिएको छ । देशकै पुरानो नगर नेपालगन्जको गौरबलाई कायम राख्ने काम गर्नेछु । जनता अरुका बहकाउमा नआई, हल्लाको पछाडी नलागी राम्रा, सक्षम र योग्य ब्यक्ति विजय गुप्ताला जिताउन राष्ट्रि जनता पार्टी नेपालको चुनाव चिन्ह छातामा मतदान गरि आफ्नो मतको सदुपयोग गर्न अनुरोध गर्दछु ।

Womui
Womui