‘मतदाताको साथ र समर्थनले हौसिदै लोकतान्त्रिक गठबन्धनका उम्मेदवार’ 

132

नेपालगन्ज-बाँकेमा लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुले मतदाताको राम्रो साथ र समर्थन पाएको बताएका छन् । मतदाताको स्वागत र अपार समर्थनले आफूहरुलाई हौसला मिलेको नेपाली कांग्रेसका तर्फबाट बाँके क्षेत्र नम्बर १ का प्रतिनिधिसभाका उम्मेदवार माधवराम खत्रीले बताए । नरैनापुर गाउँपालिकाका विभिन्न वडाहरुमा प्रदेश सभा १ क का उम्मेदवार शरदचन्द्र बर्मासंगै आफू घरदैलो, भेटघाट र चुनावी सभामा व्यस्त रहेको बताएका खत्रीले लोकतन्त्रको रक्षा, आर्थिक विकास र सुशासनका लागि लोकतान्त्रिक शक्तिहरुप्रति मतदाताको भरोसा रहेको आफूले पाएको बताए । राप्तीसोनारी गाउँपालिका वडा नम्बर ९ ढकेरीमा मंगलबार विहान घरदैलो भ्याएर खाना खाइरहेका प्रदेश सभा १ ख का उम्मेदवार नारायण गौडेलले त्यस क्षेत्रमा आफूले मतदाताको न्यानो स्वागत र भरोसा पाएको बताए । ‘मेरो जित निश्चित छ, अब सबैलाई भेटेर उहाँहरुका कुरा सुन्छु,’ आत्मविश्वासका साथ उनले भने ।

क्षेत्र नम्बर २ का लोकतान्त्रिक गठबन्धनका उम्मेदवार ओमप्रकाश आजाद पनि स्थानीयले देखाएको सद्भाव र विश्वास देखेर मख्ख छन् । ‘विकास गर्ने, हाम्रा कुरा सुन्ने तपाईंहरु नै हो, ढुक्क हुनुहोस्, लोकतन्त्रलाई जन्माउने, हुर्काउने र अब मलजल गर्न सक्ने तपाईंहरु नै हो, हामी भोट हाल्छौं,’ विहान प्रदेश सभा २ ख का उम्मेदवार सुरेन्द्र हमालसंगै धम्बोझी क्षेत्रमा घरदैलो भ्याएर मंगलबार दिउँसो प्रदेश सभा २ क का उम्मेदवार निरन्जनसिंह सिंजापतिसंगसंगै वेतहनीको घरदैलोमा रहेका आजादले मतदाताको भनाई उद्धृत गर्दै भने । ‘आजाद, हमाल र सिंजापति यो क्षेत्रका चिरपरिचित नेता र जनताको सुखदुखमा संगै रहने भएका कारण उहाँहरुलाई निर्वाचित गराउनु हाम्रो कर्तब्य नै हो,’ वेतहनीका एक मतदाताले भने । क्षेत्र नम्बर ३ मा पनि दिनहुँ घरदैलो, कोणसभा र आमसभा गरिरहेका लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुले आफूहरुको जितलाई अब कसैले रोक्न नसक्ने जनताको साथ र समर्थनले प्रमाणित गरिसकेको बताउँछन् ।

प्रतिनिधि सभा क्षेत्र नम्बर ३ का उम्मेदवार बादशाह कुर्मीलाई आफू सभासद् हुँदा गरेको विकास निर्माण र अब गर्ने प्रतिबद्धता सुनाउन भ्याई नभ्याई भइरहँदा स्थानीयले देखाएको माया र स्नेहले हौसला थपेको छ । ‘मलाई जनताले पूरै विश्वास गरेका छन्, फेरि सांसद् भएर विकास गर्ने अवसर दिनेमा म ढुक्क छु,’ प्रदेश सभा ३ क का उम्मेदवार चन्तराम थारुसंगै बैजनाथ गाउँपालिकाको टिटिहिरियामा मंगलबार मध्यान्ह घरदैलोमा भेटिएका कुर्मीले मन्द मुस्कानका साथ भने । प्रदेश सभा ३ ख का उम्मेदवार लक्ष्मीनाराण शाह पनि मंगलबार जानकी गाउँपालिकाको बेलभारमा घरदैलो गर्दै गरेको अवस्थामा भेटिए । ‘अधिकांशको माग सडक र पुलपुलेसा तथा सिंचाई सुविधा पाउँ भन्ने नै छ, उनले भन्ने–‘आवश्यकताका आधारमा स्थानीयबासीको मागलाई सम्वोधन गर्न जरुरी छ, मलाई निर्वाचित गरे पूरा गर्ने बचनबद्धता गरेको छु ।’

Womui
Womui