पूर्वराजाको शालिकलाई राजनीतिको विषय किन बनाइनु परेको होला ?

120

विचार

Santosh Regmi

सन्तोष रेग्मी

विहीवार विहानै एक जना सञ्चारकर्मीले फोनबाट जानकारी गराए नेपालगन्जमा तनाव, एक अतिवादी समूहले पूर्वराजा वीरेन्द्रको शालिक पुनस्र्था्पित गराएपछि पक्ष र विपक्षबीच झडपको स्थिति…..आज विहान फेरि अर्को समाचार आयो पूर्वराजा वीरेन्द्रको शालिक फेरि गायब…मेरो विगतका धेरै स्मरणहरु वीरेन्द्र चोकसँग जोडिएका छन् । बाल्यकालमा घर (खजुरा) बाट जिल्ला बाहिरिंदा वा भित्रंदा हामीलाई वीरेन्द्र चोकसंग साक्षात्कार गर्नै पर्दथ्यो । स्कूल पढ्दा केही पटक राजाको जन्मोत्सवका दिन हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ ……..भन्दै वीरेन्द्रको शालिकसम्म पुगेर फर्किएको याद पनि ताजै छ ।

बिहीबार बिहान पुनःस्थापना गरिएको पुर्वराजा वीरेन्द्रको सालिक ।
बिहीबार बिहान पुनःस्थापना गरिएको पुर्वराजा वीरेन्द्रको सालिक ।

त्यसपछि वागेश्वरी टोलमा रहेको हाम्रो पुस्तक पसल विद्या कुटिरको एउटा हाँगा वीरेन्द्र चोक अगाडीको चौधरीजीको सटरमा सारिएपछि हरेकजसो शुक्रवार, शनिवार विद्याकुटिर, वीरेन्द्र चोक, त्यहाँ गुन्जने धार्मिक भजन, वीरताको चीनो वीरको सन्तान बोलको गीत, खजुरा रोड छेउ राष्ट्र बैंक अगाडी टाँसिने वागेश्वरी चलचित्र मन्दिरमा लागेको फिल्मको पोष्टर, छेवैको जिलेबी पसल, अमर फोटो स्टुडियोमा फोटो खिचाउन आउनेहरुको घुइँचो हेरेरै वित्थ्यो । ती सबैको केन्द्रविन्दु थियो राजा वीरेन्द्रको यूवा उमेर झल्कने आकर्षक शालिक । युवा उमेरमा क्याम्पस जाने आउने बेलाका यादहरु, पछि पत्रकारिता गर्न थालेपछि द्धन्द्धकालका विभिन्न साँझहरु घर फर्कंदा खेप्नुपरेको सुरक्षा आतंक, माओवादी दबाब, एक दिन सम्साँझै दुई पक्षबीच गोली हानाहान हुँदा जीउमा लागेका छर्राका स–साना कणको साक्षी वीरेन्द्र चोक । जनआन्दोलन २०६२/०६३ मा राजा वीरेन्द्रको शालिक ढाल्ने माग, उद्धेश्य केही थिएन ।

बरु त्यो आन्दोलनका लागि लोकप्रिय राजा वीरेन्द्रको वंशनाश भएको जनआक्रोश एउटा आधार थियो । तर आक्रोशित अराजक समूहले प्रजातन्त्रप्रेमी भनिएका राजा वीरेन्द्रको शालिक ढाल्यो । तत्कालीन अवस्थामा सबैसँग त्यो कृत्यलाई सहन सबै बाध्य थिए । विहीवार पुनःस्थापित गरेउ भन्नेहरुका अगुवाहरु भूमिगतप्रायः थिए । गौरवमय इतिहासलाई नामेट पार्ने कार्यका विरोधीहरु पनि संक्रमणकालीन अवस्थाका कारण चुपचाप सहन बाध्य थिए । त्यसमध्येको म पनि एक थिए । म चाहन्थें वीरेन्द्र चोक अमर रहोस् । राजा वीरेन्द्र अमर रहुन भनेर स्कूलमा नारा लगाउने हाम्रो पुस्ता पनि उनलाई कफ्र्यका बीच विदाई गर्न बाध्य भएका थियौं । कम्तिमा उनको शालिक इतिहासको साक्षीका रुपमा रहिरहोस् भन्ने हाम्रो कामना थियो । विहीवार फेरि त्यतिखेरको जस्तै अराजक ढंगले काम भएको छ ।

पुर्वराजा वीरेन्द्रको सालिक हटाइएको चोक ।
पुर्वराजा वीरेन्द्रको सालिक हटाइएको चोक ।

श्रद्धेय सुशील कोइरालाको नेतृत्वमा बनेको गणतान्त्रिक संविधान कार्यान्वयन गर्न बनेको पहिलो सरकारका उपप्रधानमन्त्रीको नेतृत्वमा रहेको पार्टीले सत्ताबाट बाहिरिएलगत्तै संक्रमणकालीन अवस्थाको संवेदनशीलतामाथि खेलवाड गर्दै शालिक पुनस्र्थापनाको राजनीति ग¥यो । हो सबैलाई थाहा छ । नेपालगन्ज राजनीतिको आगो छिटो सल्कने ठाउँ हो । भू–राजनीति, बसोबास प्रकृतिलगायतका विभिन्न कारणले पञ्चायत पक्षधर– विरोधी, प्रजातन्त्र पक्षधर– विरोधी, गणतन्त्र पक्षधर – विपक्षी वा यो धर्म त्यो धर्म, सम्प्रदायका नाममा नै किन नहोस् सबैको राजनीतिका लागि नेपालगञ्ज उर्बर भूमि भएकै हो । समय र कालको कूरा हो नेपालगञ्जले सबैलाई साथ दिएकै हो । कहिले सासुको पालो कहिले बुहारीको भनेझैं नेपालगन्ज सबैको उदय र पतनको जिउँदो साक्षीका रुपमा रहेकै छ । विहीवार फेरि त्यस्तै एउटा खेलको प्रयास भएको हो ।

प्रमुख तीन दलको अपरिपक्व निर्देशनमा विहीवार राती फेरि सुरक्षा निकायले चोरीको ढंगबाट शालिक हटाएको विषयले राजनीति थप तात्तिएको छ । मट्टितेल र घ्यु थप्ने कार्य जारी छ । यसले नेपालगञ्जलाई फेरि एकपटक रणभूमि बनाउने खतरा बढेको छ । अहिले सशस्त्र द्धन्द्ध सकिएको छ । आन्दोलन सकिएको छ । आन्दोलनकारी–सशस्त्र द्धन्द्धकारीहरु सरकारमा छन् । कट्टर राजावादी दावी गर्नेहरुले पनि गणतन्त्र स्वीकार गरी गणतान्त्रिक सरकारमा सामेल भैसकेको अवस्था छ । प्राकृतिक–अप्राकृतिक जे सुकै भने पनि राजनीति पेशा– व्यवसाय चलेकै छ । द्धन्द्धकालका पीडित र पीडकबीच मेलमिलापको प्रक्रिया पनि चलिरहेको छ । राहत र क्षतिपूर्तिका क्रियाकलाप चलिरहेका छन् । प्रधानशत्रु घोषित गरिएकाहरुसँगै सत्तासमिकरण चलेकै छ ।

फेरि त्यो लोकप्रिय पूर्वराजाको शालिकलाई राजनीतिको विषय किन बनाइनु परेको होला । तत्काल यसको सही निरुपण खोजिएन भने समस्या बढाउने काम मात्र गर्दछ । सुरक्षा निकायले तत्काल प्रमुख तीन दल, राजावादी, हिन्दुवादी, राप्रपा नेपाललगायत दलहरु, सरोकारवालासहितको छलफल गरेर तत्कालका लागि अवस्थालाई पूर्ववत् बनाउनु आवश्यक छ । म व्यक्तिगत रुपमा पूर्वराजाको शालिक पुनस्र्थापना गरिनु पर्छ भन्ने पक्षमा छु । इतिहासका लागि पनि त्यो आवश्यक छ । तर जर्वजस्ती होइन । त्यसका लागि राजनीतिक सहमति वा आमसहमति आवश्यक छ । हुँदैन भन्नेहरुलाई पनि अवस्थाबारे वोध गराएर पुनःस्थापित गराइनुपर्छ । सबैको सहमति वा मान्य हुने गरी त्यसो गरिनुपर्छ । त्यसका लागि चाहे केही वर्ष कुर्न किन नपरोस् । समयले सबै ठिक गराउँछ । २०६२/०६३ का आन्दोलनको चरम तापका बेला कसले सोचेको थियो र कमल थापा गणतन्त्रकालीन सरकारमा उपप्रधानमन्त्री हुन्छन् भनेर ।

यो विचार सामाजिक सञ्जालबाट साभार गरिएको हो । )

Womui
Womui