इतिहास नमेटाऔं, धिक्कार्लान सन्ततिले

166
विचार
रमण ओली
रमण ओली

इतिहास मेटाएर के पायौं ? यो प्रश्न हामीले आफैंलाई सोध्नु पर्ने अवस्था आएको छ । प्रसङ्ग दोस्रो जनआन्दोलन (२०६२/०६३) भन्दा अगाडि नेपालगन्जको केन्द्र विन्दु मानिने वीरेन्द्र चोक अर्थात् अहिलेको धम्बोझी चोकमा स्वर्गीय राजा वीरेन्द्रको पूर्ण कदको सालिक थियो । तर, दुर्भाग्य इतिहास मेटाउने उद्देश्यले दोस्रो जनआन्दोलनमा उक्त सालिक तोडफोड भयो । झन्डै एक दसकसम्म उक्त वीरेन्द्र चोक धम्बोझी चोकका नाममा परिणत हुन पुग्यो मात्र भावी सन्ततिका लागि । तर, गत बिहीबार उक्त चोकमा पुनः स्वर्गीय राजा वीरेन्द्रको सालिक पुनस्र्थापना भएको देखियो । त्यो घटना स्थानीय अनलाइन पोर्टल, रेडियो, समाजिक सञ्चालमा तुरुन्तै प्रवाह भयो । उक्त सूचनालाई जसजसले हेरे उनीहरुले सकारात्मक रूपमा स्वागत गरेको सामाजिक सञ्जालका कमेन्टहरुमा हेर्न सकिन्छ । स्वर्गीय राजा वीरेन्द्रको सालिक कसले राख्यो ? किन राख्यो ? भन्ने कुराको प्रभावमा नपरी स्वर्गीय राजा वीरेन्द्रले देश र जनताप्रति गरेको योगदानको कदर स्वरुप सालिक पुनस्र्थापना हुँदा कुनै व्यक्ति विशेषलाई नऔँल्याइँ केवल उक्त कार्यलाई स्वागतयोग्य कार्य भएको समाजिक सञ्जालका कमेन्टहरुमा छ । तर, २४ घण्टा नबित्दै उक्त सालिकलाई प्रशासनले रातारात हटाएको छ । उक्त सालिक राख्दा जसरी सकारात्मक कमेन्टहरु आइरहेका थिए अहिले उक्त सालिक हटाउँदा नकारात्मक कमेन्टहरु आइरहेका छन् । उक्त सालिक राखेपछि जिल्लामा क्रियाशील राजनीतिक दलहरुबीच विवाद उत्पन्न भएको थियो । जिल्लास्थित कांग्रेस, एमाले, माओवादी र मधेसवादी दललगायतले गणतन्त्रलाई निरुत्साहित गर्ने उद्देश्यले पुनस्र्थापना गरिएको सालिक मान्य नहुने बताएपछि जिल्ला प्रशासन कार्यालयले प्रहरीको सहयोगमा रातारात उक्त सालिक हटायो । जसले गर्दा भोलिका दिनमा असम्भाविक घटना निम्त्याउने संकेत गरेको भान हुन्छ । एकातर्फ लोकप्रिय राजा वीरेन्द्रको सालिक पुनस्र्थापना गरिनु पर्छ भन्ने तर्क राख्ने एकातिर छन् भने अर्को तर्फ सालिक राखिनु हुँदैन भन्ने छन् । त्यसैले यस्तो विषम परिस्थितिमा साम्प्रदायिक दङ्गा, भवितव्य घटना ननिम्तियोस् भनि सोच्नु आवश्यक छ । त्यसैले आफुलाई प्रजातान्त्रिक ठान्ने नेपाली कांग्रेस र एमाले मात्र होइन जनआन्दोलनपछि संसदीय अभ्यासमा आएको माओवादी, मधेसवादीलगायत दलको ध्यान यसतर्फ पुग्न जरुरी छ । किन भने हामी देश विकासका कुरा गर्दा जसरी बाहिरी देशको तुलना गर्छौ त्यसैगरी उनीहरुले गरेका कार्यको तुलना पनि गर्न आवश्यक छ । जसरी पानीपथ युद्धमा गोर्खालीसँगको लडाइँबाट प्रभावित भई अंग्रेजहरूले बनाएको नेपालको सम्मान स्वरुपको स्टेचु अझै यथावत छ त्यसरी नै हामीले पनि हाम्रो इतिहासमा राम्रो काम गरेका व्यक्तिको सम्मान गर्नु पर्छ । जसरी बाहिरी देशमा पुराना कुरालाई संरक्षित गरेर म्युजियममा राखिन्छ त्यसरी नै हामीले पनि नेपालको इतिहास बोकेका सालिकलाई निसाना बनाइनु हुँदैन ।

2सरकारी पक्षको कमीकमजोरी र अपनाउनु पर्ने संयमता
दोस्रो जनआन्दोलनका (२०६२/२०६३) मा तोडिएका स्थानमा सरकारले न कुनै सर्वमान्य व्यक्तिको सालिक स्थापना गर्न सक्यो, न त पूर्व राजाका सालिकलाई पुनस्र्थापना गर्ने सोच बनायो । इतिहास मेटाउने गरी सरकार र दलले गरेका कतिपय गतिविधिका विपक्षमा आमसर्वसाधारण उभिँदै आएका छन् । आफ्नै दलले गरेका गलत कार्यका विपक्षमा आम कार्यकर्ता उभिनुपर्ने अवस्था कांग्रेस, एमाले, माओवादी, मधेसवादी दललगायत सिर्जना गरेका छन् । स्वर्गीय राजाका सालिक पुनस्र्थापना गर्नमा सरकार र राजनीतिक दलले चासो नदिँदा उनीहरू आलोचित भइरहेका छन् । यस्तो अवस्थामा राप्रपा नेपालले मात्र सालिक पुनस्र्थापनाको कुरालाई जोड दिँदै आएको छ । सोही अनुरूप नेपालगन्जको धम्बोझी चोकमा गत बिहीबार राष्ट्रवादी युवा शक्तिको अगुवाइमा स्वर्गीय राजा वीरेन्द्रको सालिक पुनस्र्थापना हुन पुगेको थियो । युवाको यो अभियानलाई अन्य दलका अधिकांश कार्यकर्ता, बुद्धिजीवी, पत्रकार, युवा एवम् सकारात्मक सोच बोेकेका व्यक्तिले समर्थन गरेका छन् । तर, जिल्लामा क्रियाशील राजनीतिक दलले मात्रै किन आपत्ति जनाउने ? स्वर्गीय राजा वीरेन्द्रको सालिक हटाउन बाँकेका राजनीतिक दल र प्रहरी प्रशासनले चालेको कदम भविष्यमा आत्मघाती हुन सक्छ भन्ने हेक्का राख्न जरुरी छ । । यसबाट भोलिका दिनमा वीपी र पुष्पलाल जस्ता महान व्यक्तिका सालिकको सुरक्षामा चुनौती आउन सक्ने कुरालाई सरकारले समयमै सोच्न आवश्यक छ । एउटा पक्षले सालिक राख्न खोज्ने र अर्कोले हटाउन खोज्दा बाँकेको शान्ति सुरक्षा र सामाजिक सदभाव पनि खल्बलिन जानेछ । धम्बोझी चोकमा वीरेन्द्रको सालिक राख्दैमा गणतन्त्र समाप्त भइहाल्छ कि भनेर डराउनु पर्ने कुनै कारण नै छैन । अर्कोतिर राप्रपा नेपाललगायत संगठनले सालिक त राख्यौं अब राजतन्त्र फर्काएरै छाड्छौं भन्ने दिवास्वप्न पनि देख्नु हुँदैन । किनकी जनताले राजतन्त्र फ्याकिसकेका छन्, त्यो अहिले तत्कालका लागि फर्काउन सम्भव छैन । यति मात्र हो, हामीले देखेको, बुझेको इतिहास  भविष्यका पुस्ताले देख्न र बुझ्न नपाउने गरी मेटाउनु उचित होइन ।

Womui
Womui