उद्योग वाणिज्य संघ चुनाव केहीबेरमा हुँदै

222

नेपालगन्ज, ११ भदौ-
नेपालगन्ज उद्योग वाणिज्य संघको चुनाव केहीबेरमा हुने निर्वाचन समितिले जनाएको छ ।  संघको चुनाव स्थानीय भेरी प्राविधिक शिक्षालयमा अपरान्ह ५ बजेसम्म हुन लागेको हो । तीन वर्षे कार्यकालका लागि हुन लागेको चुनावका लागि तीन प्यानल चुनावी मैदानमा छन् । प्रजातान्त्रिक उद्योगी व्यवसायी समुह, समावेशी साझा र समावेशी समुह मैदानमा उत्रिएका हुन् । प्रजातान्त्रिक समुहबाट गोपालप्रसाद अधिकारी, समावेशी साझा समुहबाट कपिलप्रसाद अधिकारी र समावेशी समुहबाट नन्दलाल बैश्य प्रतिस्पर्धामा छन् । nepalgunj chamber
तीन वटै प्यानलले जित्ने दाबी गरेका छन् । समावेशी समुहका तर्फबाट अध्यक्षका उम्मेदवार बैश्यले चुनाव जित्ने दाबी गरे । समावेशी साझा समुहका कपिलले आफ्नो पक्षमा चुनावी माहोल भएको बताए । प्रजातान्त्रिक समुहका गोपालले चौतर्फी रुपमा समर्थन आफ्नो प्यानललाई समर्थन रहेकाले जित्ने सुनिश्चित भइसकेको जिकिर गरे । चुनावमा अध्यक्ष, दुई उपाध्यक्ष सहित १९ पदका लागि ६१ जनाको उम्मेदवारी परेको थियो । चुनावमा २ हजार ९ सय ३४ मतदाताले सहभागिता जनाउन लागेको निर्वाचन कार्यालय जनाएको छ ।
संघका निर्वाचन प्रमुख तथा वरिष्ठ अधिवक्ता भोलासिंह हमालले चुनावको तयारी सबै पूरा भएको जानकारी दिएका छन् । चुनावका लागि आवश्यक तयारी सबै पुरा गरिसकेका छौं,’ उनले भने ‘भोट हाल्न मतदाताले आफ्नो कार्ड अनिवार्य रुपमा ल्याउनुपर्नेछ ।’ निर्वाचन कार्यालय स्रोतका अनुसार शुक्रबार बेलुका सम्म २ हजार ४ सय जना मतदाताले मात्र कार्ड बुझेर लगेका छन् । यस्तै १ सय जना मतदाताले फोटो खिचाएका छैनन् । शनिबार यसको व्यवस्थापन गरेर मतदानमा सहभागी गराइने निर्वाचन कार्यालयले जनाएको छ । उद्योग वाणिज्य संघको निर्वाचनले यतिबेला सम्पुर्ण जिल्लाबासीको ध्यान केन्द्रित गरेको छ । निर्वाचन आफ्नो पक्षमा पार्न काँग्रेस, एमाले र माओवादी केन्द्रले चलखेल गरिरहेका छन् । कतिपय दलले चुनावलाई प्रतिष्ठाको लडाईका रुपमा समेत लिएको पाइएको छ ।
नेपालगन्ज उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष अच्यूत प्रसाईले निर्वाचनमा स्वतन्त्र पुर्वक मतदान गर्न सम्पुर्ण मतदातालाई आग्रह गरेका छन् । उद्योग वाणिज्य संघको संस्थागत विकासका साथै उद्योगी व्यवसायीको हकहितमा काम गर्न सक्ने व्यक्तिलाई निर्वाचित गराउनुपर्ने उनको भनाई छ । उद्योग वाणिज्य संघको संस्थागत विकास गर्नमा पुर्व अध्यक्ष प्रसाईको महत्वपुर्ण भुमिका छ । आफ्नो जस्तै नयाँ भिजन भएको व्यक्ति संघमा निर्वाचित होउन भन्ने उनको अपेक्षा छ ।
यसैबीच प्रजातान्त्रिक उद्योगी व्यवसायी समुहले मतदाताहरुलाई सक्रिय सहभागिता जनाउन अपिल गरेको छ । चुनावमा सहभागिता जनाएर स्वतन्त्र पुर्वक आफ्नो मताधिकार प्रयोग गर्न उक्त समुहको आग्रह छ । निर्वाचन समितिका संयोजक पुरुषोतम शर्माले तीन वर्षमा एक पटक आएको निर्वाचनमा योग्य, सक्षम र कुशल नेतृत्वलाई आफ्नो अमुल्य मत दिएर विजयी गराउन आग्रह गरेका छन् । प्रजातान्त्रिक समुहका तर्फबाट चुनावी मैदानमा रहेका गोपालप्रसाद अधिकारी लगायत सम्पुर्ण उम्मेदवारको जित्ने आधार निश्चित भइसकेको उनले दाबी गरेका छन् । ‘प्रजातान्त्रिक समुहलाई मधेसी मोर्चा सहित सबै समुदायको समर्थन र साथ रहेकाले जित्ने आधार सुनिश्चित भइसकेको छ, त्यसकारण मतदाता ज्यूहरुले आफ्नो मत अन्यत्र खेरा फाल्नु हुनेछैन भन्नेमा हामी पुर्ण रुपले विश्वस्त छौं,’ शर्माले भने । नेपाली काँग्रेस बाँकेले पनि निर्वाचनमा प्रजातान्त्रिक समुहलाई भोट दिएर जिताउन सबै मतदातालाई आग्रह गरेको छ । काँग्रेस बाँकेका सभापति किरण कोईरालाले प्रजातान्त्रिक पक्षको जित भएपछि मात्र आम उद्योगी, व्यवसायीको हक अधिकार सुनिश्चित हुने बताईन् ।
निर्वाचनका लागि समावेशी समुहबाट उपाध्यक्ष (उद्योग)मा अब्दुल वाहिद मन्सुरी, उपाध्यक्ष (वाणिज्य)मा दुर्गाप्रसाद भण्डारी तथा सदस्यहरुमा तारा खत्री रोकाय, विजय भण्डारी (बासु), चिरन्जीबी ओली, अजय टण्डन, आदेशकुमार अग्रवाल, श्याम सुन्दर अधिकारी, अहमद वाहिद अन्सारी (बब्लु), निरज गौतम, हरिलाल न्यौपाने, अभयकुमार बस्नेत, टंकबहादुर धामी र राजेशकुमार बैश्य रहेका छन् ।
यस्तै समावेशी साझा समुहका तर्फबाट उपाध्यक्ष (उद्योग) मा रचना श्रेष्ठ र उपाध्यक्ष (वाणिज्य)मा तनबीर जमाल हलवाई तथा सदस्यहरुमा धर्मराज अर्याल, दशरथ चन्द, उषा भण्डारी, चोलराज श्रेष्ठ, जहागिर मुसलमान, बिनोदकुमार राठी, बिबेक कुमार श्रेष्ठ, भीमबहादुर रानाभाट, मन्दिरा पाण्डे, मालती शर्मा, राशिद कमाल र सत्यनारायाण बैश्य छन् ।

यसैगरी प्रजातान्त्रिक समुहबाट उपाध्यक्ष(उद्योग)मा प्रदिपकुमार गुप्ता, उपाध्यक्ष (वाणिज्य) तर्फ अमितकुमार बस्नेत तथा सदस्यहरुमा हरिषचन्द्र श्रेष्ठ, रोहित टण्डन, शंकर थापा, धुब्र दाहाल, टेकबहादुर खड्का, शालिक सुवेदी, मोहमद सफिक बेहना, तपेन्द्र विक्रम शाह, सुनिल सिंघल, सरोवर प्रसाई, मो.फरिदुल हक र सुरेन्द्र वैश्य(गुप्ता)ले प्रतिस्पर्धा गरिरहेका छन् । यसका साथै अन्य केही स्वतन्त्र उम्मेदवारले पनि सदस्य पदमा उम्मेदवारी दिएर चुनावमा होमिएका छन् ।

Womui
Womui