बाँकेका १० विद्यालयमा ठूलो परिवर्तन ल्यायो विद्यालय सुरक्षा कार्यक्रमले

163

नेपालगन्ज, भदौ १०–

बाँकेका १० वटा विद्यालयमा संचालन गरिएको विद्यालय सुरक्षा कार्यक्रमका कारण ती विद्यालयमा सुरक्षा सम्बन्धी विषयमा ठूलो परिवर्तन आएको पाइएको छ ।
बाढी, भूकम्प, हावाहुरी, शीतलहर र अत्यधिक गर्मीलगायतका विभिन्न प्रकारका जोखिम र विपदबाट विद्यालय तथा बालबालिकालाई जोगाउन ठोस उपाय अवलम्बन गर्न र सचेतना प्रदान गर्ने उद्देश्यले सो कार्यक्रम १० वटा विद्यालयमा संचालन गरिएको छ ।

 कचनापुर गाविसको दुर्गा भवानी माविमा सुरक्षा कार्यक्रमका उपलब्धि जानकारी गराउँदै शिक्षकहरु ।
कचनापुर गाविसको दुर्गा भवानी माविमा सुरक्षा कार्यक्रमका उपलब्धि जानकारी गराउँदै शिक्षकहरु ।

सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा बाँके युनेस्को क्लबले संचालन गरेको सो कार्यक्रमका कारण जिल्लाका कचनापुर, बिनौना, बेतहनी र उढरापुर गाविसका १० वटा विद्यालयका करिब ४ हजार बालबालिका विभिन्न प्रकारका विपद र जोखिमबाट सचेत भइरहेका छन् ।
ती विद्यालयमा अध्ययनरत बालबालिकाले आआफ्नो विद्यालयको सुरक्षित र असुरक्षित स्थानको पहिचान गरेर प्रकोप पात्रो निर्माण गर्नुका साथै विपद र जोखिम न्युनिकरण गर्ने वार्षिक कार्ययोजनासमेत तयार गरिसकेको बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अली सिद्दिकीले बताए । उनले सोही कार्यक्रमकै कारण १० वटै विद्यालयको जोखिम नक्साङ्कन गरिएको जनाउँदै ४ विद्यालयमा अति जीर्ण अवस्थामा रहेका कोठा भइरहेको पठनपाठन बन्द गराएर जीर्ण भवन हटाइएको बताए ।
विद्यालय र बालबालिकाको सुरक्षालाई प्रमुख उद्देश्य बनाएर संचालन गरिएको सो कार्यक्रम अन्तर्गत विद्यालय सुधार योजनामा विपद र जोखिम न्युुनिकरण योजना तयार गरेर समावेश गरिएको तथा प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति, शिक्षक र बालबालिकालाई प्राथमिक उपचार तालिम र सुरक्षा सम्बन्धी तालिम प्रदान गरिएको कार्यक्रमका संयोजक दिपेन्द्र चौधरीले बताए । उनले विद्यालयको जोखिम विश्लेषण गरिएको, गैरसंरचनामा देखिएका जोखिमलाई न्युनिकरण गरिएको र विद्यार्थीलाई भूकम्प, बाढीलगायतका विपदबाट जोगिने तरिका सिकाइएको बताए ।

बिनौना चिलहरियास्थित निम्न माध्यमिक विद्यालयमा सुरक्षा कार्यक्रम अन्तर्गत रैम निर्माण गरिँंदै ।
बिनौना चिलहरियास्थित निम्न माध्यमिक विद्यालयमा सुरक्षा कार्यक्रम अन्तर्गत रैम निर्माण गरिँंदै ।

विद्यालय सुरक्षा कार्यक्रम संचालन गरिएपछि विद्यालय र बालबालिकामा ठूलो परिवर्तन आएको जनाउँदै दुर्गा भवानी मावि कचनापुरका प्रधानाध्यापक देवबहादुर थापाले विद्यार्थीले घरधुरी जोखिम न्युनिकरण योजना निर्माण गरेको तथा समुदायमा आधारित विपद व्यवस्थापन समितिलाई पनि विद्यालयसम्म पु¥याइएको बताए । उनले कार्यालयमा छिर्ने बित्तिकै विद्यालय सुरक्षा सम्बन्धी सबै जानकारी स्वतः देख्न पाइने जनाउँदै जीर्ण कोठा हटाइनु, विद्यालय सुधार योजनामा विपद सम्बन्धी योजना समावेश गरिनु र प्रकोप पात्रो निर्माण गरिनु ठूला उपलब्धि भएको बताए ।
दुर्गा भवानी मावि कचनापुरको वयवस्थापन समितिका अध्यक्ष डिल्ली गिरीले यस्ता कार्यक्रम जिल्लाका सबै विद्यालयमा संचालन गर्नु पर्ने माग राखे । बाँकेका सहायक जिल्ला शिक्षा अधिकारी गोर्खबहादुर थापाले सो कार्यक्रमले विद्यालयमा सुरक्षाका विषयमा ठूलो परिवर्तन ल्याएको बताए ।

Womui
Womui