नेपालगन्जका ज्येष्ठ पत्रकार सम्मानित

138

नेपालगन्ज, भदौ ३–
नेपालगन्जका ज्येष्ठ पत्रकार सम्मानित भएका छन् । नेपाल पत्रकार महासंघ केन्द्रिय समितिले शुक्रबार प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्त, रामगोपाल बैश्य, बासुदेव श्रेष्ठ र गणेश जिसीलाई नगद सहित सम्मान गरेको हो । महासंघका अध्यक्ष डा. महेन्द्र बिष्ट, कोषाध्यक्ष सुर्यमणि गौतम, केन्द्रिय सदस्य झलक गैरे, जिल्ला अध्यक्ष रुद्र सुवेदी लगायतले गम्छा र ढाकाटोपी सहित नगद १२ हजार रुपैयाँ हस्तान्तरण गरेका हुन् । अस्वस्थ हुदाँ कार्यक्रममा अनुपस्थित रहेका बैश्यलाई महासंघका अध्यक्ष विष्टले घरमै पुगेर सम्मान गरे । सम्मानपछि मन्तव्य दिदै अध्यक्ष विष्टले ज्येष्ठ पत्रकार सम्मान बृद्धि कोष चाडै स्थापना गरेर व्यवस्थित गर्ने बताए । उनले पत्रकारिता क्षेत्रमा गरेको योगदानको कदर स्वरुप ज्येष्ठ पत्रकारलाई सम्मान गर्ने कार्यको थालनी गरेको भन्दै यस्तो कार्यलाई राजनीतिकरण नगरिदिन आग्रह गरे । आमसञ्चार नीति २०७३ जसरी पनि कार्यान्वयनमा आउनुपर्ने बताए । ‘नीति कार्यान्वयनमा आइसकेपछि सञ्चार क्षेत्रलाई दुरगामी फाइदा पुग्नेछ,’ विष्टले भने ।

3 Saman Lidai Panna Lal Gupta

सरकारले पत्रकारको न्यूनतम पारिश्रमिक कुनैपनि हालतमा लागु गराउनुपर्ने बताउँदै भने, ‘सरकारले न्यूनतम पारिश्रमिक लागु नगराए महासंघले आन्दोलन गर्न बाध्य हुनेछ ।’ महासंघका कोषाध्यक्ष सुर्यमणि गौतमले ३० वर्ष पत्रकारिता गरिसकेका र ६५ वर्ष पुरा भएका ज्येष्ठ पत्रकारलाई मासिक एक हजार रुपैयाँका दरले महासंघले भत्ता दिने कार्यको सुरुवात गरेको बताए । उनका अनुसार ज्येष्ठ पत्रकारले अबदेखि हरेक महिना एक हजार रुपैयाँका दरले भत्ता पाउनेछन् । काठमाडौंपछि बाँकेमा पहिलो पटक ज्येष्ठ पत्रकारलाई सम्मान गरिएको कोषाध्यक्ष गौतमले जानकारी दिएका थिए ।

सोही कार्यक्रममा गतवर्ष भुकम्पमा परेर ज्यान गुमाएका नेपालगन्जका संचार उद्यमी स्वर्गिय अच्युतराज सुवेदीको परिवारलाई महासंघ केन्द्रिय समितिले नगद ५० हजारको चेक प्रदान गरेको थियो । सो अवसरमा पत्रकार महासंघका लेखा समिति संयोजक दीपक पाण्डे, महासंघका पुर्व केन्द्रिय उपाध्यक्ष हेमन्त कर्माचार्य, बाँके शाखाका पुर्व अध्यक्ष निरज गौतम लगायतले बोलेका थिए । महासंघ बाँकेका अध्यक्ष रुद्र सुवेदीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम सञ्चालन शाखा सचिव तिलक गाउँलेले गरेका थिए ।

Womui
Womui