कुन प्यानलको कहाँ घरदैलो ?

46

नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन

नेपालगन्ज, साउन ३१–
नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन नजिकिदै गर्दा उद्योगी व्यापारीमा चुनावी रौनकता छाएको छ । संघको निर्वाचन आगामी भदौ ११ गते हुने निश्चित भइसकेको छ । निर्वाचनका लागि विभिन्न तीन वटा प्यानल खडा गरेका उद्योगी व्यवसायीले आ–आफ्नो समुहको प्रचार गरिरहेका छन् । मधेसी मोर्चालाई साथमा लिएर चुनावी मैदानमा उत्रिएको नेपाली काँग्रेस निकट प्रजातान्त्रिक उद्योगी व्यवसायी समुहले व्यवसायी गोपालप्रसाद अधिकारीको नेतृत्वमा उम्मेदवार तयार गरि घरदैलो अभियान जारी राखेको छ । व्यवसायी कपिलप्रसाद अधिकारीको नेतृत्वमा समावेशी साझा समुह निर्माण गरि नेकपा एमाले निकट उद्योगी, व्यापारी घरदैलोमा व्यस्त छन् ।

समावेशी साझा समुह भोट माग्दै ।
समावेशी साझा समुह भोट माग्दै ।

नेकपा माओवादी केन्द्रको समर्थन पाएर चुनावमा होमिएका व्यापारी नन्दलाल बैश्यको समावेशी समुहले पनि आफ्नो प्रचार–प्रसार अभियानलाई जारी राखेको छ । तीन वटै प्यानलले दलगत रुपमा प्रचार सुरु गरेका कारण बाँके जिल्ला चुनावमय बनेको छ । घरदैलोकै क्रममा प्रजातान्त्रिक उद्योगी व्यवसायी समुहले सोमबार यस क्षेत्रका प्रतिष्ठित व्यक्ति, उद्योगी र व्यवसायीलाई भेटघाट गरेको छ । उक्त समुहले सोमबार बिहानदेखि बेलुका सम्म धम्बोझी चोक हुदै विपी चोक, सुर्खेतरोड, औद्योगिक क्षेत्र लगायत स्थानमा घरदैलो गरेको थियो । घरदैलोका क्रममा समुहले पुर्वमन्त्री एवम् प्रतिष्ठिात व्यवसायी मोहम्मद इस्तियाक राई, अग्रज उद्योगी कन्हैयालाल बैद्य, व्यवसायी सुरेन्द्र श्रेष्ठ, दिपु अग्रवाल, राकेश मित्तल लगायतलाई भेट गरेको हो । भेटका क्रममा अग्रज उद्योगी, व्यवसायीले प्रजातान्त्रिक समुहलाई अग्रिम शुभकामना दिदै सहयोग गर्ने प्रतिवद्धता जनाए । ‘तपाईहरुको यो शसक्त र जुझारु टिमलाई जिताउन हाम्रो पुर्ण समर्थन रहन्छ,’ घरदैलोमा पुगेका उम्मेदवारसँग प्रतिष्ठित उद्योगी व्यवसायीले भने ।

वरिष्ठ उद्योगीसँग सोमबार भोट माग्दै प्रजातान्त्रिक उद्योगी व्यवसायी समुहका उम्मेदवार ।
वरिष्ठ उद्योगीसँग सोमबार भोट माग्दै प्रजातान्त्रिक उद्योगी व्यवसायी समुहका उम्मेदवार ।

सो क्रममा प्रजातान्त्रिक उद्योगी व्यवसायी समुहका अध्यक्ष पदका उम्मेदवार गोपालप्रसाद अधिकारीले आफ्नो टिमलाई विजयी गराउन आग्रह गरेका थिए । ‘एक चोटीको लागि हाम्रो टिमलाई उद्योग वाणिज्य संघमा काम गर्ने मौका दिनुस्,’ उनले भने ‘हामी तपाईहरुको अमुल्य मतलाई खेर जान दिदैनौं, हाम्रो टिम निर्वाचित भएपछि संघको संस्थागत विकास र उद्योगी व्यवसायीको हक अधिकारका लागि काम गर्छौं ।’ प्रजातान्त्रिक समुहका उम्मेदवारले घरदैलोका क्रममा विपी चोकस्थित गुरुद्धारामा पुगेर आर्शिवाद लिएका थिए । त्यहाँ रहेका धर्मगुरुले प्रजातान्त्रिक प्यानललाई विजयी हुन आर्शिवाद दिएका थिए । उक्त समुहलाई विजयी गराउन छुट्टै घरदैलोमा जुटेका महिला उद्यमी तथा अगुवा महिलाले सोमबार नेपालगन्जको एकलैनी, पुरानो सिनेमा हल रोड, सदरलाईन, उद्योग वाणिज्य संघ आसपासको क्षेत्रमा घरदैलो गरेका छन् । नेपालगन्ज उद्योग वाणिज्य संघकी पुर्व कार्यसमिति सदस्य माया गुरुङको नेतृत्वमा महिला उद्यमी, अगुवा महिलाको घरदैलोमा सक्रिय सहभागिता रहेको थियो । घामपानीको सामना गरेर भएपनि महिलाले प्रजातान्त्रिक उद्योगी व्यवसायी समुहको प्रचार–प्रसार गर्दा व्यापारीहरुले सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन नसकिदाँ सम्म सबै महिला उद्यमी र अगुवा महिलालाई गोलवद्ध पारेर घरदैलो अभियानलाई सक्रिय पार्ने महिला उद्यमी गुरुङको भनाई छ ।

प्रचार प्रसार गर्दै महिला उद्यमी ।
प्रचार प्रसार गर्दै महिला उद्यमी ।

यस्तै कपिल प्रसाद अधिकारीको नेतृत्वमा रहेको समावेशी साझा समुहले सोमबार बाँकेको खजुरा क्षेत्रमा घरदैलो गरेको छ । घरदैलोमा पुग्दा खजुरा क्षेत्रका उद्योगी, व्यवसायीले स्वागत र सम्मान गरेको अध्यक्षका उम्मेदवार अधिकारीले बताए । घरदैलो कार्यक्रम निकै उत्साहजनक रहेको उनको भनाई छ । ‘आज हामीले खजुरा क्षेत्रमा घरदैलो कार्यक्रम गरेका छौं,’ अधिकारीले भने ‘सबै उम्मेदवार मतदाताको घरदैलोमा पुग्दा माहोल धेरै राम्रो देखियो ।’ घरदैलोमा पुग्दा मतदाताहरु सकारात्मक देखिएको सदस्य पदका उम्मेदवार दशरथ चन्दले बताए ।

यसैगरी बैश्य नेतृत्वको समावेशी प्यानलले प्रचारात्मक गतिविधीलाई सोमबार पनि तिव्रता दिएको छ । उक्त प्यानलले सोमबार धम्बोझी चोकबाट गणेशमान चोक, जमुनाहा, पुरैना, पुरैनीमा घरदैलो गरेको छ । समावेशी प्यानललाई मतदाताले हौसला प्रदान गरेको सदस्य पदकी उम्मेदवार तारा कुमारी खत्री रोकायाले बताईन् । अध्यक्षका उम्मेदवार बैश्यले आफ्नो प्यानल निकै बलियो भएको दाबी गरे । राजनीतिक दलको समर्थनमा उम्मेदवारी घोषणा गर्ने क्रम बढिरहका बेला सोमबार नेपालगन्जका एक युवा व्यवसायीले भने स्वतन्त्र रुपमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । संघको सदस्य पदका लागि व्यवसायी तेजनारायण कंडेलले सोमबार पत्रकार सम्मेलन गरेर उम्मेदवारी घोषणा गरेका हुन् । आफु स्वतन्त्रबाट संघको कार्यसमितिमा निर्वाचित हुने उनले दाबी गरे । उनको प्रस्तावकमा निरन्जन लामिछाने रहने छन् भने, समर्थकमा मदनप्रसाद पोखरेल रहने भएका छन् ।

मतदातासँग भोट माग्दै समावेशी प्यानल ।
मतदातासँग भोट माग्दै समावेशी प्यानल ।
Womui
Womui