तातो पानी छ्यापेर घाइते महिलाको उपचारमा समस्या

127

नेपालगन्ज, साउन ३१-
विपन्न समुदायकी महिला अन्यायमा परी मृत्युसँग लडिरहदाँ नेपालगन्जमा क्रियाशिल अधिकारवादी संघ, संस्था रमिते बनेका छन् । महिला अधिकारका क्षेत्रमा काम गर्न भन्दै नेपालगन्जमा दर्जनौ संघ संस्था क्रियाशिल छन् । यि संघ, संस्थाले महिला अधिकारको क्षेत्रमा काम गर्ने भन्दै बार्षिक करोडौं रुपैयाँ उडाउँछन् । नेपालगन्ज उपमहानगरपालिका वडा नम्वर १६ कोरियनपुर निवासी २७ बर्षिया लिलाकुमारी ओलीको शरिरमाथि छिमेकीले गरेको अन्याय विरुद्ध अहिले सम्म कुनैपनि अधिकारकर्मीले मुख खोलेका छैनन् । गएको शुक्रबार बेलुका उनको शरिरमाथि तातोपानी छ्यापेर हत्या गर्ने प्रयास भएको थियो । चिकित्सकका अनुसार तातोपानीले शरिरको २५ प्रतिशत भन्दा बढी भाग जलेको छ ।

Ghaite Lila Kumari Oli

भेरी अञ्चल अस्पतालमा भर्ना भएकी घाइते लिलाकुमारीको उपचारमा कठिनाई भइरहदाँ पनि अधिकारवादी संघ संस्थाले चासो नदिएको पाइएको छ । बाँके, बसुदेवपुर निवासी विपन्न परिवारकी लिलाकुमारी नेपालगन्जको कोरियनपुरमा डेरा गरी समोसा, पकौडी र चाउमिन पकाएर परिवारको खर्च टार्दै आएकी थिईन् । अस्पतालमा विगत ३ दिन देखि भर्ना भएकी उनको अवस्था झन् गम्भिर बन्दै गएको छ । चर्को गर्मीका कारण पोलेको घाउ पाक्न थालेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । घाइतेका श्रीमान नोकबहादुर ओलीले श्रीमतीको घाउ पाक्न लाग्दा आफु निकै चिन्तित भएको बताए । उनले भने, ‘एक त चर्को गर्मी छ, त्यसमा पनि लोडसेडिङ भइरहने हुदाँ घाउ पाक्न थालेको छ ।’

आफुसँग उपचारका लागि रकम नभएकाले राम्रो अस्पतालमा लैजान हिम्मत नगरेको उनले बताए । थुप्रै संघ संस्था आएपनि फोटो खिचेर मात्रै लगेको ओलीको गुनासो छ । ‘कसैले सहयोग गरे मेरो श्रीमतीले पुर्नजन्म पाउँथिन होला,’ उनले दुखेसो पोख्दै भने । अस्पतालमा भर्ना गरेदेखि हाल सम्म ८ हजार रुपैयाँ खर्च भइसकेको बताए । उता जिल्ला प्रहरी कार्यालय बाँकेले शरिरमा तातोपानी छ्यापेर हत्या प्रयास गर्ने व्यक्तिलाई ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता गरेको जनाएको छ । घटनामा संलग्न सोही ठाउँ निवासी ४५ बर्षिय तबसुम निसा ढपाली, उनकी छोरी २५ बर्षिया रिना ढपाली र छोरा इब्राहिम ढपालीलाई पक्राउ गरी ज्यान मार्ने उद्योग अन्र्तगत मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी टेकप्रसाद राईले बताएका छन् । मासु पसल सञ्चालन गरेको ढपाली परिवारले लिलाकुमारी माथि सामान्य कुरामा विवाद गरेर हत्या प्रयास गरेको प्रत्यक्षदर्शी बताउँछन् ।

Womui
Womui