ड्रोनले बढायो सुरक्षा चुनौती

125

काठमाडौं, साउन २५–
नेपाली आकाशमा मानवरहित स्वचालित विमान (ड्रोन) को अनधिकृत प्रवेशसँगै सुरक्षा र गोपनीयतामा गम्भीर चुनौती थपिएको छ । प्रहरीले वैशाखयता नियन्त्रणमा लिएका १० मध्ये पाँच विदेशी नागरिकले नेपालका विभिन्न स्थानमा ड्रोनबाट लिएका दृश्य शंकास्पद पाइएका छन् । तिनमा निषेधित र अति गोप्य क्षेत्र तथा क्रियाकलापका तस्बिर र दृश्य रहेको प्रहरीले जनायो।

People assembling parts of a drone which will be used for mapping the ground below its surface held at Napi Bibhag, Minbhawan on Friday, February 06, 2015 Photo: Pratik Rayamajhi/Nagarik/Republica

प्रहरी प्रवक्ता डिआइजी माधव जोशीले ड्रोनको प्रयोगले आकाश मात्र नभई राष्ट्रिय सुरक्षामा समेत चुनौती थपिएको बताए । ‘राज्यले केही स्थान र क्रियाकलाप गोप्य राखेको हुन्छ,’ उनले भने, ‘यसरी लिएका तस्बिर र दृश्य गलत नियतबाट प्रयोग हुन सक्ने सम्भावना रहन्छ ।’ गृह मन्त्रालयले गत कात्तिकमा ‘अनम्यान एरियल उडान’ सम्बन्धी कार्यविधी २०७२ बनाएपछि प्रहरीले १० विदेशी नागरिकलाई पक्राउ गरेको छ । तिनले नेपाली सेनाको मुख्यालय जंगी अड्डादेखि मन्त्रीनिवास हरिहर भवनसम्मका तस्बिर लिएको प्रमाण रहेको प्रहरीको दाबी छ ।

मन्त्रालयको कार्यविधी अनुसार ड्रोन उडाउन नागरिक उड्ययन प्राधिकरणबाट अनुमति लिनुपर्छ, उडानका बेला सुरक्षाकर्मीको उपस्थिति अनिवार्य छ । प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले सुरक्षा खतरा नहुने गरी ड्रोन उडाउन प्राधिकरणले व्यवस्था मिलाउने भए पनि अन्य घटनामा प्रहरीसहितका निकायले नियमन र कारबाही गर्नुपर्ने बताए । उनका अनुसार ड्रोनबाट जासुसी गर्ने, निषेधित स्थानको तस्बिर र दृश्य लिने तथा व्यक्तिगत र राज्यको गोपनीयता भंग हुने खतरा रहन्छ ।

Womui
Womui