कांग्रेस–माओवादीका थोरै मन्त्रीसहित दाहालले शपथ लिने तयारी

69

काठमाडौं, साउन २०–
नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेस र माओवादीबाट ५ देखि ७ जना मन्त्रीसहित पद तथा गोपनियताको शपथ लिने तयारी गरेका छन् । संसदमा पहिलो ठूलो दल नेपाली कांग्रेस, मधेसी मोर्चा, राप्रपा लगायतका साना दलको समर्थनमा बुधबार प्रधानमन्त्री पदमा निर्वाचित भएका दाहालले आफूसँगै पहिलो चरणमा प्रमुख दुई दलका तर्फबाट सानो संख्यामा मन्त्रीहरु नियुक्त गरी बिहीबारबाट नै शासन संचालनको जिम्मा लिन लागेका हुन् । त्यसका लागि अहिलेसम्म कांग्रेसबाट तीनदेखि चार जना मात्रै र माओवादीबाट दुईदेखि तीन जनालाई सरकारमा सहभागी गराउने तयारी भइरहेको नेताहरुले बताएका छन् ।

timthumb

प्रधानमन्त्रीको निर्वाचन पूर्व संविधानप्रति असन्तुष्टि जनाउँदै आन्दोलनमा रहेको मधेसी मोर्चा लगायतका साना दललाई सहमतिमा ल्याउन समय खर्चनु परेका कारण कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष दाहालले मन्त्रालयको बाँडफाँट तथा मन्त्रीहरुको चयनमा ध्यान दिन नपाएको दुई दलका नेताहरुको भनाई छ । कांग्रेसको पक्षमा गृहसहित रक्षा, परराष्ट्र, भौतिक योजना, पर्यटन मन्त्रालय पर्ने निश्चित भएपनि उसले यी बाहेक स्थानीय विकास, शिक्षा, कानुन र सामान्य प्रशासन मन्त्रालयमा पनि दाबी गरिरहेको छ ।

माओवादीले अर्थसहित सञ्चार, ऊर्जा, शान्ति तथा पुनःनिर्माण, कृषि मन्त्रालय पाउने पक्कापक्की भएपनि उसले पनि स्थानीय विकास, सामान्य, कानुन र शिक्षामा पनि आफ्नो दाबी गरिरहेको छ । यी सबै मन्त्रालयको भागबण्डाबारे कांग्रेसका विमलेन्द्र निधि र माओवादीका कृष्णबहादुर महराको गृहकार्यका आधारमा देउवा र दाहालले टुंगो लगाउने छन् । त्यस बाहेक मधेसी मोर्चा र अरु साना दलका तर्फबाट पनि सरकारमा सहभागी गराउन दुई दलले केही मन्त्रालय खाली राख्ने तयारी गरिरहेका छन् । राष्ट्रपति निवास सितल निवासमा दिउँसो तीन बजे सपथ ग्रहण कार्यक्रम तोकिएको छ ।

Womui
Womui