पीडित २४ घन्टासम्म भोकै !!

93

होलिया(बाँके), साउन १३-

भारतले बनाएको बाँधले राप्ती नदीको बहाव रोक्दा डुबान भएका कारण त्यहाँका बाढीपीडित २४ घन्टादेखि भोकभोकै बस्न बाध्य भएका छन् । बाढी घर पसेपछि उनीहरू छपरा र छतमा भोकभोकै बसिरहेका छन् । होलिया– २ छोटकी चौफेरीका ७० वर्षीय दुब्बर अहिरले मंगलबार बिहानदेखि केही खान नपाएको बताए । नेपाली सेनाको हेलिकोप्टरले बुधबार उद्धार गरेपछि दुई दिनको पीडा सुनाउँदै दुब्बरले भने, ‘कति खेर बाढीले बगाएर लाने हो, अब मर्ने नै भइयो भन्नेमा पुगिसकेका थियौं तर सेनाले उद्धार गरेर हामीलाई बचायो ।’ उनले मंगलबार बिहानदेखि गाउँमा बाढी पसेपछि खाना बनाउन नपाएका भोकै बस्नुपरेको बताए ।

होलियास्थित चौफेरी गाउँका बाढी पीडितलाई उद्धार गर्दै हेलिकप्टर । तस्बिरहरु सौजन्य : रुद्र सुवेदी
होलियास्थित चौफेरी गाउँका बाढी पीडितलाई उद्धार गर्दै हेलिकप्टर ।
तस्बिरहरु सौजन्य : रुद्र सुवेदी

‘बाँच्ने त आशा थिएन, दुईतिर नदी, न भाग्ने ठाउँ थियो, घरभित्र पनि पानी नै पानी, खाने त के कुरा,’ दुब्बरले भने, ‘केटाकेटीले त केही खान पाएनन् ।’ पीडित प्रेमनारायण यादवले गोरुगाडामाथि खाट राखेर रात बिताएको बताए । ‘खान त कहाँ खानु, केही भए पो खानु, घर पुरै डुबाइहाल्यो,’ उनले भने, ‘आफू पनि बाँचियो र बालबच्चालाई बचाइयो त्यही नै राम्रो भयो ।’ ५० वर्षीया शकुन्तला कुर्मीले २४ घन्टासम्म पानी पनि नपिई बिताएको दुःखेसो पोखिन् । ‘खाना कहाँबाट पाउनु, पानी नखाई बित्यो, बच्चाले पानी पानी भन्दा पनि २४ घन्टासम्म दिन सकिएन,’ शकुन्तलाले भनिन्, ‘१० जनाको परिवारले छपरामा बसेर रात काटियो ।’

उनले घरमा कम्मरसम्म पानी आएको बताइन् । ७० वर्षीय नागेश्वर बर्माले ह्यान्डपम्पसमेत डुबाएकाले पानी खान नपाएको दुःखेसो पोखे । ‘बच्चालाई च्यापेरै रात बित्यो, न बच्चा सुते न म नै,’ १० महिने बच्चाकी आमा रिना यादवले भनिन्, ‘आफूले नखाएपछि दूध आउने कुरै भएन, बच्चा पनि भौकै छ ।’ उनले पनि गोरुगाडामाथि खाट राखेर रात बिताएको बताइन् । राप्ती नदीको बाढी पसेर फसेका एक सय चारजनालाई नेपाली सेनाले बुधबार उद्धार गरेको छ । सेनाको हेलिकोप्टरले होलिया १, २, ३ र ४ वडाका पीडितलाई उद्धार गरेको प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले बताए । दुईपटक हेलिकोप्टरले पीडितलाई ओसारेको थियो । नेपाली सेनाको ४ नम्बर बाहिनीका बाहिनीपति नवजीवनशमशेर राणाको कमान्डमा बाढीपीडितको उद्धार गरिएको हो । मंगलबार सेनाको हेलिकोप्टरले चार सय एक जनाको उद्धार गरेको थियो ।

त्यस्तै डुंगाबाट तीन सयजनालाई सुरक्षित स्थानमा सारिएको छ । बुधबार दिउँसोसम्म दुई हजार घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख टेकप्रसाद राईले बताए । राप्ती पारीका तीनवटा प्रहरी कार्यालय बाढीले डुबाइदिएको छ । प्रहरी उपरीक्षक राईका अनुसार इलाका प्रहरी कार्यालय भोज भगवानपुर, प्रहरी चौकी गंगापुर, प्रहरी चौकी फत्तेपुर बाढीले डुबाएको छ । भारतले अन्तर्राष्ट्रिय नियमविपरीत बनाएको लक्ष्मणपुर बाँध, कलकलवा तटबन्ध र दसगजा जोडेर बनाएको बाँधरूपी सडकका कारण बर्सेनि हजारौं नेपाली डुबान र कटानको पीडा भोग्न बाध्य हुँदै आएका छन् ।अन्नपुर्णपोष्टमा खबर छ ।

 

Womui
Womui