वर्षा हुन थालेपछि राप्ती आसपासका त्रसित

127

नेपालगन्ज, साउन ४-
मुसलधारे वर्षा सुरु हुन थालेपछि बाँके, फत्तेपुर–१ निवासी दुर्गाप्रसाद पाण्डेको मन त्रसित भएको छ । दिनहुँ बर्षा हुन थालेपछि उनी राप्ती नदीमा बाढी आउने खतरा सम्झदै समय बिताउँछन् । ‘लगातार वर्षा सुरु भएपछि हामीलाई धेरै डर लागिरहेको छ,’ उनले भने ‘यस्तो बेला ढुक्कसँग घरभित्र बस्न कसरी सक्नु र ।’ वर्षा हुदाँ कतिपय किसानलाई ठुलो राहत मिलेको छ, भने राप्ती आसपासका बासिन्दामा भने सधै बाढीको कहर सुरु हुन्छ । एक साता अघि राप्ती नदीमा आएको बाढीले गाउँको केही भाग कटान गरेको थियो । बाढीले बर्षेनी कटान गर्ने भएकाले राप्ती नदी गाउँ नजिक आइसकेको छ । नदीसँगै सटेको उनको गाउँमा सहजै बाढी पुग्न सक्छ । यसले गर्दा स्थानीय बासिन्दा थप त्रसित भएका हुन् । विशेषगरी पहाडी जिल्लामा बर्षा हुने वित्तिकै राप्ती नदीमा बाढीको जोखिम सुरु हुन्छ ।

राप्ती बाढी प्रभावित बाँकेको होलिया–५ टेपरी गाउँ ।
राप्ती बाढी प्रभावित बाँकेको होलिया–५ टेपरी गाउँ ।

२०७१ साउन अन्तिम साता आएको बाढीले महिनौं विस्थापित भएका बाढी पीडित पाण्डे जस्ता थुप्रै स्थानीय बासिन्दाको दैनिकी बर्खायाम भरी राप्ती नदीको कहर सम्झेरै बित्ने गर्छ । ‘घर भित्र बस्ने हो भने बाढी आएर लैजान्छ कि भन्ने डर लाग्छ, त्यसकारण नदीको छेउमा बसेर समय विताउन अच्छा हुन्छ,’ होलिया–५ टेपरी गाउँका राजेन्द्रकुमार शर्माले भने । पहाडमा ठुलो वर्षा नभएकाले सोमबार र मंगलबार राप्ती नदीमा ठुलो बाढी आएन् । तरपनि कुसुमस्थित बाढी मापन केन्द्रमा नदीको सतह केही बढेर ३ मिटर ८५ सेन्टिमिटर सम्म पुगेको थियो । मापन केन्द्रमा पानीको सतह ४ मिटर ७० सेन्टीमिटर पुग्ने बित्तिकै प्रभावित क्षेत्रका बासिन्दालाई स्थानीय प्रशासनले अर्लट गराउँछ । अघिल्लो साता पानीको सतह ५ मिटर २ सेन्टीमिटर सम्म पुगेर घटेपछि सम्भावित दुर्घटनाको जोखिम टरेको थियो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रबिलाल पन्थले सोमबारको वर्षाले राप्ती आसपासका गाविस लगायत समग्र जिल्लामा कुनैपनि क्षति नपु¥याएको बताए । ‘नेपालगन्ज उपमहानगर क्षेत्रका केही भाग जलाम्य भएको छ, यस बाहेक राप्तीमा ठुलो बाढी आएको छैन,’ उनले भने । बाढीले जिल्लाको होलिया, फत्तेपुर, मटेहिया, गंगापुर, बेतहनी, बनकट्टी, कम्दी लगायत गाविस डुबानमा पर्ने गरेका छन् ।

Womui
Womui