किन भत्कियो सिक्टाको मुलनहर ?

44

नेपालगन्ज, असार १४–
राष्ट्रिय गौरवको बहुप्रतिक्षित सिक्टा सिचाई आयोजनाको मुल नहर परिक्षणकै क्रममा भत्किएको छ । दायाँ मुलनहरको महादेवपुरी–५ ढकेरीमा मंगलबार भत्किएको हो । नहरको सो खण्डलाई एकवर्ष अघि नहर ठेकेदार कालिका कन्ट्रक्सन कम्पनीले निर्माण सम्पन्न गरेको थियो । नहर भत्किएपछि त्यहाँको पानी झिझरी खोला हुदै बगेको छ ।

ढकेरीमा भत्किएको सिक्टा सिचाई आयोजनाको मुल नहर ।
ढकेरीमा भत्किएको सिक्टा सिचाई आयोजनाको मुल नहर ।

ढकेरी गाउँ नजिकै रहेको नहर भत्किएपछि त्यहाँका स्थानीय बासिन्दा त्रसित भएका छन् । ‘गाउँ नजिकै फुटेको भए सिंगो गाउँ डुबानमा पर्ने निश्चित थियो, ठेकेदारले गुणस्तरहिन काम गर्दा सिक्टा नहरको यो हालत भयो,’ स्थानीय बासिन्दाले भने । ठेकेदार र आयोजना कार्यालयको मिलेमतोमा भएको गुणस्तरहिन कामको छानविन गर्नुपर्ने उनीहरुको माग छ । मुल नहरमा प्रति सेकेन्ट ५० क्युमेक्स पानी बग्न सक्ने क्षमता भएपनि मंगलबार करिव ४५ क्युमेक्स पानी छाडिएको थियो ।

आयोजनाले ३५ किमी क्षेत्रमा सोमबारबाट पानी खोलेर परिक्षणको सुरु गर्दा पानीको वहावले मुल नहर भत्किएको ठेकेदार कम्पनीले जनाएको छ । कालिका कन्ट्रक्सन कम्पनीका प्रवन्धक युवराज क्षेत्रीले पानी परिक्षण गर्ने क्रममा ‘लिकेज’ हुदाँ नहर भत्किएको स्वीकार गरेका छन् । ‘नहरबाट पानी रसाएको देखेपछि एक्साभेटरले माटो थुन्न खोज्यौं, पानीको बहाब धेरै भएपछि त्यही ठाउँबाट भत्कियो,’ उनले भने ।

उता सिक्टा सिचाई आयोजनाले नहर परिक्षण गर्ने क्रममा भत्किनु सामान्य कुरा भएको बताएको छ । ‘निर्माणको कमि कमजोरीले होईन,’ इन्जिनियर प्रकाश कार्कीले भने । बाँकेको करिव ४२ हजार हेक्टर क्षेत्रफल सिचाई गर्ने लक्ष्य लिइएको सिचाईको पहिलो चरणमा निर्माण सुरु गरिएको दाया मुलनहरको ३२ किमी खण्ड निर्माण गर्ने जिम्मा कालिका कन्ट्रक्सनले पाएको छ । आयोजनाले २०६३ सालबाट निर्माणको काम सुरु गरेको हो ।

Womui
Womui