नेपालगन्ज फोटो फेस्टिभलको तयारी तिव्र

136

नेपालगन्ज, असार ११–
नेपालगन्जमा यही असार १९ र २० गते फोटो फेस्टिभल’ हुने भएको छ । फोटो पत्रकार क्लब काठमाडौं सँगको सहकार्यमा नेपालगन्जस्थित किचन हट होटलमा अन्तरालले फेस्टिभल आयोजना गर्न लागेको हो । फेस्टिभलमा फोटो प्रतिस्पर्धा, फोटो प्रर्दशनी, फोटोग्राफी र अन्तरक्रिया गरिने आयोजकले शनिबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । फोटो फेस्टिभलका लागि पत्रकारका अलवा जुनसुकै पेशा र क्षेत्रका व्यक्तिरु, बिद्यार्थी र सर्वसाधारणले आफुले खिचेका फोटो पठाउन सक्ने अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले जानकारी दिए ।

फोटो फेस्टिभलबारे जानकारी दिदै अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाह ।
फोटो फेस्टिभलबारे जानकारी दिदै अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाह ।

वन्यजन्तु तथा प्रकृति, पर्यटन, खेलकुद, दैनिक जीवन, समाचार र फोटो कथा फोटो छनोट गरिने उनले बताए । ‘छानिएका उत्कृष्ट फोटोहरु प्रर्दशनीमा राखिनेछन् भने उत्कृष्ट मध्येबाट पनि उत्कृष्ट छनौट गरेर केही विधामा पुरस्कृत गरिनेछ, यसमध्ये पनि सर्वोत्कृष्टलाई ‘बर्ष फोटो’को रुपमा पुरस्कृत गरिनेछ,’ शाहले भने । वन्यजन्तु तथा प्रकृति, पर्यटन र दैनिक जीवन विधामा विधागत प्रतिस्पर्धाबाट छनोट गरी पुरस्कृत गर्ने उनले प्रष्ट्याए । उनले थपे, ‘तर बर्ष फोटो को प्रतिस्पर्धामा भने प्रर्दशनीमा समावेश सबै फोटो रहनेछन, यी सबै विधामा मध्य तथा सुदुरपश्चिम क्षेत्रमा ठाउँहरुमा खिचिएका तस्बिर मात्र समावेश हुनेछन् ।’ फोटो प्रर्दशनीमा प्रतिस्पर्धाबाट छानिएका १ सय ५ भन्दा बढी तस्बिर राखिनेछ ।

प्रर्दशनी अवलोकन गर्न जिल्लास्थित राजनीतिक दलका प्रमुख, सरकारी, गैरसरकारी तथा सुरक्षा निकायका प्रमुखहरु, कानुन व्यवसायी, प्राध्यापक, उद्योगी, व्यापारी, शिक्षक, बिद्यार्थी, सञ्चारकर्मी सहित विभिन्न पेशा र क्षेत्रका व्यक्तिहरु तथा सर्वसाधारणको व्यापक उपस्थिती गराइने र निःशुल्क अवलोकनको व्यवस्था मिलाइने आयोजकले पत्रकार सम्मेलनमा जानकारी दियो । फोटोग्राफी तालिममा यस क्षेत्रमा कार्यरत २५ जना सञ्चारकर्मी र १० जना सर्वसाधारणको सहभागिता रहनेछ । फोटो पत्रकार क्लब काठमाडौंबाट प्रशिक्षकहरु आउनेछन् । दुई दिन सम्म सञ्चालन हुने तालिमका सहभागिलाई प्रमाणपत्र समेत प्रदान गरिने अन्तरालका प्रमुख कार्यकारी शाहले बताए । यसैगरी फोटोग्राफी अन्तरक्रियामा फेस्टिभलका लागि छानिएका तस्बिरहरु खिच्ने फोटोग्राफरहरुसँग ती फोटो खिच्दाका रोमाञ्चकारी अनुभवहरु आम दर्शकहरुसँग साट्ने उद्धेश्यले यो अन्तरक्रिया गर्न लागिएको हो ।

फोटो फेस्टिभलका लागि अन्तरालले तयार गरेको लोगो ।
फोटो फेस्टिभलका लागि अन्तरालले तयार गरेको लोगो ।

अन्तरक्रियामा करिव १ सय ५० जना सहभागि हुनेछन् । ती सहभागि पत्रकार, फोटो पत्रकार, सर्वसाधारण र विद्यार्थीहरुबाट छानिने अन्तरालले जनाएको छ । नेपालगन्ज फोटो फेस्टिभल प्रत्येक वर्ष नेपालगन्जमा आयोजना हुनेछ । ‘भविष्यमा यस फेस्टिभललाई फोटो फेस्टिभल यात्राका रुपमा अन्य जिल्लामा पनि गर्ने हाम्रो योजना छ, यस फेस्टिभलको आयोजनाले उद्देश्यहरु पुरा गर्न सफल हुनेछ भन्ने विश्वास छ,’ अन्तरालको प्रेस विज्ञप्तीमा भनिएको छ । फेस्टिभलमा आयोजना गरिने फोटो प्रतिस्पर्धाले फोटोग्राफी(फोटो पत्रकारिता)को विकासमा टेवा पुग्नेछ । फोटोग्राफी प्रति आर्कषण बढ्नेछ । ‘तीन चरणमा हुने प्रतिस्पर्धाले प्रतियोगीहरुमा निखार ल्याउनेछ, पहिलो प्रतिस्पर्धा प्रर्दशनीमा फोटो छानिनका लागि हुनेछ, दोस्रो प्रतिस्पर्धा विधागत रुपमा उत्कृष्टका लागि हुनेछ, तेस्रो प्रतिस्पर्धा वर्ष फोटोका लागि हुनेछ,’ शाहले अगाडी भने । फेस्टिभलले मध्य तथा सुदुरपश्चिम क्षेत्रको पर्यटन विकासमा टेवा पुग्नेछ, भने पर्यटकीय महत्वका तस्बिरहरु संकलन गर्न फोटोग्राफरहरुलाई उर्जा मिल्नेछ ।

यस्तै वन्यजन्तु, वनस्पति प्रकृति, वनजंगल संरक्षणमा टेवा पुग्नेछ । जलवायु परिर्वतनले विश्व समुदायमा हलचल भइरहेको बेला यस विषयमा पनि सबैलाई जागरुक बनाउने अभियानमा समेत सहयोग पुग्ने आयोजकको विश्वास छ । मध्य तथा सुदुर पश्चिमका खेलकुदका गतिविधीहरु बाहिर आउने अपेक्षा गरिएको छ । ‘कैयौं स्थानमा स्वयंसेवी प्रशिक्षकले निःशुल्क खेलकुद प्रशिक्षण सञ्चालन गरिरहेका छन, यस्ता गतिविधी समेत मिडियामा आउन सके उनीहरुलाई प्रोत्साहन मिल्नेछ, समग्र खेलकुद विकासमा टेवा पुग्नेछ । यस क्षेत्रको दैनिक जीवन कति कष्टकर छ भन्ने विषयका फोटोहरु आउँदा सम्वन्धित निकायको ध्यानार्कषण हुनेछ,’ शाहले भने ‘समग्रमा फेस्टिभलले मध्य तथा सुदुरपश्चिम क्षेत्रको पर्यटन विकासमा निकै मद्दत पु¥याउनेछ ।’ स्थानीय होटल र अन्य व्यवसायहरु प्रत्यक्ष लाभान्वित हुनेछन् भने वन्यजन्तु पर्यावरण र प्रकृति संरक्षणका साथै खेलकुद विकासमा टेवा पु¥याउनेछ र फेस्टिभल यो क्षेत्रकै पहिचान र गौरव वन्ने थप विश्वास गरिएको छ ।

अन्तरालले सम्वभतः नेपालमै पहिलो पटक फोटो बैंक स्थापना गर्ने भएको छ । पत्रकार सम्मेलनमा अन्तरालका प्रमुख कार्यकारी शाहले भने, ‘वर्षौ वर्ष सम्म फोटोहरु सुरक्षित राख्न सकियोस र कपिराइट सुरक्षित रहोस् भनेर यो प्रयास गरिएको हो ।’ दुर्लभ र महत्वपुर्ण फोटोहरु संरक्षण गरी राखिनेछ । यसमध्ये वन्यजन्तुको तस्बिरहरु मुख्य रहनेछन् । यसैगरी पर्यटन, खेलकुद र समाचार मुलक फोटोहरु रहनेछन् । पत्रकार सम्मेलनमा बोल्दै पत्रकार महासंघ बाँकेका पुर्व अध्यक्ष निरज गौतम र फोटो पत्रकार कृष्ण अधिकारीले फोटो फेस्टिभल नेपालगन्जका लागि कोसे ढुंगा हुने बताए । ‘यो नेपालगन्जका पत्रकारको लागि फाइदाजनक छ, यसलाई पत्रकारले हौसला प्रदान गर्नुपर्छ,’ गौतमले भने ।

Womui
Womui