विवादले वाटरपार्क आयोजनाको काम अन्यौलमा

56

नेपालगन्ज, जेठ २७–
पुर्वाधार निर्माणका विषयमा विवाद उत्पन्न भएपछि नेपालगन्ज–१ धम्वोझीस्थित वाटरपार्क आयोजनाको काम अगाडी बढाउनमा अन्यौलता छाएको छ । काम अगाडी बढाउन सरोकारवाला सरकारी निकाय नै मौन बसेका छन् । निर्माण कार्यमा स्थानीय केही असन्तुष्ट व्यक्तिले अवरोध पु¥याएपछि दुई साता बढी समयदेखि काम ठप्प भएको हो । नगर विकास समिति नेपालगन्जले ‘वाटरपार्क जग्गा एकिकरण आयोजना’ अन्तर्गत पहिलो चरणमा ताल वरिपरी पुर्वाधार निर्माणको काम थालेपछि असन्तुष्ट व्यक्तिले तालको क्षेत्रफल मिचेको आरोप लगाउँदै असन्तुष्टी जनाएका थिए । अधिकांस स्थानीय बासिन्दाहरु समस्याको निकास चाडो खोज्नुपर्ने पक्षमा छन्, भने केही व्यक्तिले अहिलेको डिजाइन अनुसार काम अगाडी बढाउन नदिने अडानमै छन् । असार मसान्तभित्र सम्पन्न हुनुपर्ने काम बीचमा आएर रोकिदाँ ठेकेदार, आयोजना कार्यालय र नगर विकास समिति अन्यौलमा छन् ।

निर्माण कार्य ठप्प रहेको नेपालगन्ज–१ स्थित वाटरपार्क ।
निर्माण कार्य ठप्प रहेको नेपालगन्ज–१ स्थित वाटरपार्क ।

स्थानीय बासिन्दाबीचको व्यक्तिगत रिसिवीले गर्दा आयोजनाको काममा असर पुगेको नगर विकास समितिले जनाएको छ । आयोजनाका इन्जिनियर महेश थापा परम्परागत तालको सौन्दर्यता अझ बढाउन तालको क्षेत्रफलमै रहेर पुर्वाधार बनाउनुपर्ने अवस्था आएको बताउँछन् । उनले भने, ‘तालका लागि पुर्वाधार बनाउन व्यक्तिको निजी जग्गा च्याप्ने कुरा भएन, कागजी रुपमा कसैलेपनि तालका लागि जग्गा दिएको छैन, त्यसकारण तालको जग्गा च्याप्नु परेको हो ।’ कतिपयले तालको डिजाइनका विषयमा नबुझेको र केही स्थानीयले बुझेपनि अरुलाई बुझाउने काम नगरेकाले विवाद बल्झिएको उनको भनाई छ ।

थापाका अनुसार ९.६ विघा जमिनमा वाटरपार्क फैलिएको छ । ‘तत्कालका लागि तालको किनारबाट ४ मिटरभित्र स्टोन पिचिङ गर्ने हो, भविष्यमा थप ३ मिटरको ग्रिनबेल्ट बनाउँदा समेत गरी कुल १ विघा जग्गा तालबाट जान सक्छ ।’ हाल तालको किनारमा ४ मिटर चौडाईमा दुबो र स्टोन पिचिङ गर्ने योजनाको लक्ष्य रहेको इन्जिनियर थापाले जानकारी दिए । पहिलो चरणमा नमुनाका रुपमा भने १ सय २ मिटर स्लोप (भिरालो पर्खाल) तयार गर्ने योजना रहेको बताए । ‘झ्वाट्ट हेर्दा तालको क्षेत्रफल मिचिएको जस्तो देखिन्छ, तर तालको पुर्वाधार विकासका लागि यो बाहेक अरु विकल्प छैन,’ उनले भने । प्रत्येक वर्षको बजेटबाट सरकारले करिव ११ सय मिटर तालको क्षेत्र वरिपरी स्टोन पिचिङ र ग्रिनबेल्ट बनाउन आयोजनाको लक्ष्य रहेको छ । यसवर्ष थोरै क्षेत्रलाई नमुनाको रुपमा निर्माण गर्ने र अर्को वर्ष थप बजेटबाट बढाउँदै लैजाने नगर विकास समितिका अध्यक्ष प्रहलाद लखेरले बताए ।

स्थानीय बासिन्दाबीचको व्यक्तिगत रिसिवीका कारण आयोजनाको काममा बाधा पु¥याइएको उनको गुनासो छ । ‘व्यक्तिगत रिसिवीका कारण यति ठुलो आयोजनाको कामलाई असर पु¥याउनु राम्रो कुरा होईन,’ उनले भने ‘आयोजना फेल भए वाटरपार्क क्षेत्रबासीलाई नै घाटा हुने हो, त्यसैले काम अगाडी बढाउन दिनुपर्छ ।’ कामको गुणस्तरका विषयमा बरु स्थानीय बासिन्दाले निग्रानी बढाउनुपर्ने अध्यक्ष लखेरको सुझाव छ । यसअघि पर्यटन मन्त्रालयबाट लगातार दुई वर्षसम्म आएको २०÷२० लाख रुपैयाँ बजेट स्थानीय बासिन्दाबीच सहमती नभएकै कारण फिर्ता भएको स्मरण गराउँदै भने, ‘लगातार दुई वर्ष आएको बजेट सहमती नभएपछि फिर्ता भएर गयो, यस पटकको बजेटलाई सदुपयोग गर्न खोज्दा अनावश्यक विवाद भयो ।’ असन्तुष्ट व्यक्तिलाई सहमतीमा ल्याउनुको साटो केही दलका नेताहरु आफ्नो व्यक्तिगत स्वार्थ पुरा गर्न विवादलाई झनै बल्झाउने काम गरेको नगर विकास समिति अध्यक्ष लखेरको आरोप छ ।

तत्कालिन नेपालगन्ज नगरपालिकाका मेयर समेत रहेका राप्रपा नेपालका महामन्त्री डा. धवलसम्शेर राणाले केहीदिन अघि पत्रकार सम्मेलन नै गरेर वाटरपार्कमा निर्माण हुन लागेको संरचनाप्रति असन्तुष्टी पोखेका थिए । करिव डेढ दशकअघि तत्कालिन नेपालगन्ज नगरपालिकाले प्राकृतिक ताललाई व्यवस्थित गरेर वाटरपार्कमा केही पुर्वाधार बनाएकोे थियो । संरक्षण अभावमा तालमा निर्माण गरिएका संरचना धेरै समय टिक्न पाएनन् । वाटरपार्कको सौन्र्दयता बढाउन भन्दै शहरी विकास मन्त्रालयले उपलब्ध गराएको ४० लाख रुपैयाँको लागतमा ठेकेदार जय बागेश्वरी निर्माण सेवाले सम्झौता गरेर काम सुरु गरेको थियो । काम सुरु भएको १० दिन वित्न नपाउँदै असन्तुष्ट व्यक्तिको अवरोधले निर्माण कार्य रोकिएको इन्जिनियर थापाले बताए ।

Womui
Womui