व्यवस्थापन समिति चुनावमा गोली चल्यो, दुई घाइते

33

रौतहट, जेठ २७–
विद्यालय व्यवस्थापनको नयाँ कार्यसमिति चयनको विषयलाई लिएर दुई पक्षबीच झडप भएको छ । झडपका क्रममा गोली चल्दा दुई जना घाइते भएका छन् । घाइते हुनेमा धरहरी–५ का ५५ वर्षीय टइट पण्डित र वडा नम्वर ४ निवासी ३८ वर्षीय शम्भु शाह रहेको प्रहरीले जनाएको छ । उनीहरुको बीरगन्जस्थित नेश्नल मेडकल कलेजमा उपचार भइरहेको छ । धरहरीस्थित जय किशान उच्च माविको नयाँ व्यवस्थापन समिति चयन गर्न बुधबार चुनाव गरिएको थियो । बेलुका पाँच बजे मत गणना गर्दा २३ मत बढी भेटिएको थियो। सोही बढी मतले दुई पक्षबीच विवाद भएको थियो । अध्यक्षका लागि तीन जनाले उम्मेदवारी दिएका थिए ।

एमाले समर्थक हृदयनारायण शाह, कांग्रेस समर्थक रामबाबु चौधरी र हरिशंकर पासवानले उम्मेदवारी दिएका थिए । बढी मत खसेपछि शाहले चुनाव बदरको मागसमेत गरेका थिए । यही विषयलाई लिएर राति ११ बजेसम्म होहल्ला र झडप भएको प्रहरीले जनाएको छ। सोही क्रममा गोली चलेको स्थानीयले बताएका छन् । तर कसले गोली चलाएको भन्नेबारे केही खुलेको छैन । यसबारे अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी प्रमुख एसपी गणेश रेग्मीले बताएका छन् ।

Womui
Womui