पीडा झिक्दा ‘खिल’ गढ्छ

74

नेपालगन्ज, जेठ २२–
कोहलपुर, झन्डवाकी कृष्णावती यादवले उमेर छँदै पाठेघर झिक्नुपर्ला भन्ने कहिल्यै सोचेकी थिइनन् । आठ वर्षअघि खसेको पाठेघरले पीडामाथि पीडा थप्दै लगेपछि सधैं सताउने ’खिल’ झिकेर नफाली धरै पाइनन् । गएको वैशाखमा उनले शल्यक्रिया गरेर मातृत्वको अभिन्न अंग पाठेघर झिकेर मिल्काइन् । एउटा ठूलै पीडा र झन्झटको अन्त्य भयो । त्यसयता कृष्णावती शारीरिक रुपमा त स्वस्थ छिन् तर उनको मनमा झन् खराब ’खिल’ गढ्यो, आफ्नो शरीर पाठेघरविहीन हुनुको पीडायुक्त खिल । त्यही खिलले बेलाबेला घोचिरहन्छ । पीडा भने बाहिर देखिँदैन, मनभित्रै दबेर बस्छ । नेपाली समाजमा ठूलो समस्या बनेर बसेको महिलाको पाठेघर खस्ने समस्यामा शल्यक्रिया अनिवार्य बन्दै गएको छ ।

Patheghar Pidit

समस्याको अन्तिम (तेस्रो) चरणमा पुगेका महिला कृष्णावतीझैं शल्यक्रिया गरेर पाठेघर झिक्न विवश छन् । यसले उनीहरुको बाँकी जीवन भने ग्लानिले भरिन्छ । ’शल्यक्रिया गरेर झिकेपछि दर्द (पीडा) त सब दूर (टाढा) भएको छ,’ कृष्णावतीले भनिन्, ’तर नहुँदाजस्तो राम्रो कहाँ हुन्छ र ?’ सुर्खेत, मेहलकुनाकी कृष्णा बिकले ३२ वर्षको उमेरमा पाठेघर झिकेर फालिन् । उनका दुई छोरा छन् । उनको मनमा अरु सन्तान जन्माउने रहर पनि छैन, तर उनलाई पाठेघर नहुँदा ज्यान आधाजस्तो लाग्ने गरेको छ । ’दुःख, पीडाबाट छुटकारा पाउन शल्यक्रिया गरेर पाठेघर काटेँ, अहिले भने के–के न गल्ती गरेजस्तो लागिरहेछ,’ उनले भनिन्, ’जे हुनु भइहाल्यो, अब पछुताएर के गर्ने भनेर चित्त बुझाउँछु ।’ शल्यक्रियापछि दुखाइ हटे पनि पश्चातापको पीडाले भने पोलिरहेको उनले सुनाइन् ।

पाठेघर खस्दा महिला भौतिक रुपमा अत्यन्तै पीडामा हुन्छन् । शल्यक्रिया गरेर पाठेघर झिकेपछि त्यो पीडा कम हुन्छ । तर, मानसिक पीडा भने थपिन्छ जसले सधैँ तनाब दिइरहन्छ । मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालका वरिष्ठ चिकित्सक डम्बर खड्काका अनुसार शल्यक्रियापछि महिलाहरुले भोग्ने सबैभन्दा ठूलो पीडा भनेकै मानसिक तनाब हो । ’शल्यक्रियापछि उनीहरुको ज्यान त हल्का हुन्छ, तर ’पाठेघर झिकेपछि सबै सकियो’ भन्ने मानसिकताले उनीहरुलाई सताइरहन्छ,’ उनले भने, ’यही मनोविज्ञानले शल्यक्रिया गरेका महिला आपूmलाई कमजोर ठान्छन् ।’ खड्काका अनुसार महिलामा आउने यस्तै तनाब कम गर्न शल्यक्रियापछि स्वास्थ्यकर्मीले ’काउन्सिलिङ’ गर्ने गरेका छन् तर यसले गहिरोसँग गढेको मानसिकतालाई परिवर्तन गर्न सक्दैन ।

सरकारले पाठेघर खसेका महिलाको निःशुल्क शल्यक्रिया व्यवस्था मिलाएको छ । यसका लागि मध्यपश्चिममा वीरेन्द्रनगरस्थित क्षेत्रीय अस्पताल, नेपालगन्जको भेरी अञ्चल अस्पताल र दाङको घोराहीस्थित राप्ती उपक्षेत्रीय अस्पताललाई शल्यक्रिया गर्न अनुदानसहित जिम्मेवारी तोकिएको छ तर शल्यक्रियापछि हुने मनोत्रासकै कारण उनीहरु हत्तपत्त शल्यक्रिया गर्न मान्दैनन् । तोकिएका अस्पतालमा भएको शल्यक्रिया विवरण हेर्दासमेत यो तथ्य बुझ्न सकिन्छ । सरकारले गत आर्थिक वर्षमा मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालको लागि ३ सय कोटा तोकेकोमा ५५ महिलाले मात्र शल्यक्रिया गरे । चालु आर्थिक वर्षको हालसम्म ६४ जनाले शल्यक्रिया गरेका मेडिकल रेकर्डर विनोद बस्नेतले जानकारी दिए । पश्चिम नेपालकै सुविधासम्पन्न मानिने नेपालगन्जस्थित भेरी अञ्चल अस्पतालमा पनि चालु आर्थिक वर्षको हालसम्म ५१ जनाले मात्र शल्यक्रिया गरेका छन् ।

मेडिकल सुपरिटेन्डेन्ट श्यामसुन्दर यादवले बिगत वर्षमा पनि निकै कम संख्यामा पाठेघरको शल्यक्रिया हुने गरेको बताए । करिब २ सयको हाराहारीमा कोटा पाउँदै आएको राप्ती उपक्षेत्रीय अस्पतालमा पनि महिला शल्यक्रिया गर्न जाँदैनन् । गत आर्थिक वर्षमा ३० वटा शल्यक्रिया गरेको उक्त अस्पतालले चालु आर्थिक वर्षको हालसम्म ५१ जनाको शल्यक्रिया गरेको छ । सुर्खेत जिल्ला स्वास्थ्य कार्यालयका प्रजनन स्वास्थ्य अधिकृत रेणु सिंह विशेषगरी कम उमेरका महिलाले पाठेघर झिकेपछि बढी तनाब बेहोर्ने गरेका बताउँछिन् । उनका अनुसार यस्ता महिलालाई सबैभन्दा ठूलो तनाब दाम्पत्य जीवनमा असर पर्छ कि भन्ने हुन्छ । ’पाठेघर झिकेपछि स्वाभाविक रुपमा ’इमोसनल’ हर्मन उत्पादनमा कमी आउँछ, यसले गर्दा यौनजीवन पनि प्रभावित हुन्छ,’ उनले भनिन्, ’यस्तो अवस्थामा पतिसँगको सम्बन्धमा पनि चिसोपना आउने गरेको देखिन्छ ।’

शल्यक्रिया गरेका महिलाले यी समस्या नआए पनि मानसिक रुपमा आपूmलाई समस्याग्रस्त ठान्ने गरेका उनले बताइन् । कम उमेरका महिला मात्र होइन, बुढेसकालमा पाठेघर झिक्ने बाध्यतामा पुगेका महिला पनि पश्चातापमा देखिन्छन् । बाँके, हवलदारपुरकी ७० वर्षीया इन्द्रपरी अहिरले गत वर्ष पाठेघरको शल्यक्रिया गरिन् । जँचाउन अस्पताल पुगेकी उनलाई औषधिले निको भइहाल्ला भन्ने लागेको थियो । तर, चिकित्सकले सँधैभरको पीडाबाट छुटकारा पाउन शल्यक्रिया नै गर्नुपर्ने सुझाव दिएपछि उनी राजी भइन् । ’दबाइपानीले निको गरिदिएको भए त राम्रो हुन्थ्यो होला नि,’ उनले भनिन, ’पाठेघर फालेपछि दुःख त लागेको छ ।’ लामो समय प्रजननअधिकार क्षेत्रमा कार्यरत दुर्गा बिक अधिकांश महिलाले लाजको कारण समस्या लुकाउँदा उनीहरु शल्यक्रिया गर्नुपर्ने अवस्थामा पुग्ने गरेका बताउँछिन् । उनका अनुसार पहिलो र दोस्रो चरणसम्म झरेको पाठेघरलाई विभिन्न उपायबाट उपचार गर्न सकिन्छ ।

तर, तेस्रो चरणमा पुगेको पाठेघरलाई शल्यक्रिया गर्नुको बिकल्प हुँदैन । ’महिलाहरु पाठेघर खसेको शंका लागे पनि लाजको कारण समयमै उपचारमा लाग्दैनन्,’ उनले भनिन्, ’त्यही कारण समस्या झन् बल्झिँदै जान्छ, अन्ततः पाठेघर गुमाएर पछुताउनुपर्ने अवस्था आउँछ ।’ कतिपय महिलाले पीडा सहेरै बस्ने, तर शल्यक्रिया नगर्ने अडान लिने गरेका उनले बताइन् । पाठेघर खसेका महिलाको उपचारमा सक्रिय बाँकेस्थित त्रिवेणी विकास समाजका स्वास्थ्यकर्मी कुश्मा श्रेष्ठ मधेसी तथा सीमान्तीकृत समुदायमा यस्तो समस्या अझै बढी देखिएको बताउँछिन् । उनका अनुसार समस्या बोकेका महिलालाई उपचार गराउन निकै प्रयास गर्नुपर्छ । ’पाठेघर खसेका महिला बरु पीडा सहेरै बस्छन्, समस्या भने बाहिर देखाउँदैनन्,’ उनले भनिन्, ’उपचारमा ल्याउन पनि धेरै मिहिनेत गर्नुपर्छ ।’

पाठेघर खसेका र शल्यक्रिया गरेर पाठेघर झिकेका महिलाले विभिन्न शारीरिक, मानसिक र सामाजिक समस्या झेलिरहेका छन् । यो समस्या सामूहिक रुपमै समाजमा छरपष्ट भएको छ । त्यसैले यसको समाधानका लागि पनि उनीहरु अग्रसर हुन थालेका छन् । पछिल्लो समय पीडित महिलाले आफ्नो प्रजनन अधिकार सुरक्षाका लागि चासो दिन थालेका छन् । पाठेघर खसेका र शल्यक्रिया गरिसकेका महिलाले सुर्खेतका विभिन्न गाउँमा सञ्जाल बनाएरै अधिकारका लागि आवाज उठाएका छन् । उत्तरगंगा, लाटीकोइली, मैनतडा, मेहलकुना, छिन्चु, लेखफर्सा, दहचौर, गुमी र घुमखहरेमा प्रजननअधिकार मञ्च गठन गरिएका छन् । ती मञ्चमा समस्या झेलिरहेका महिला संगठित भएका छन् ।

मञ्चका मेहलकुना अध्यक्ष दीपा बिक पीडित महिलालाई घरपरिवारदेखि समाजमा कसैले हेयको दृष्टिले नहेरुन भनेर खबरदारी गरिएको बताउँछिन् । ’कुनै पनि महिलाले जानीजानी यो समस्या बोक्दैन, समस्या त घरपरिवार र समाजले बोकाउँछ,’ उनले भनिन्, ’तर समस्या देखिएपछि उल्टै हामीलाई कमजोर ठानेर व्यवहार गरिन्छ, त्यसका विरुद्ध हामीहरु एक भएका छौं ।’ दीपाका अनुसार पीडाबाट मुक्ति पाउन पाठेघर झिकेका महिलाले गाउँमा घरपरिवारदेखि समाजमा विभिन्न यातना खेप्नुपरेको छ । सबैभन्दा बढी त पतिले प्रजनन क्षमता गुमाएको रिसमा पीडा दिन्छन् । एक वर्षअघि पूर्वी सुर्खेतमा एक व्यक्तिले पत्नीको शल्यक्रियापछि ’कोख बाँझो भएको’ भन्दै सौता ल्याउन खोजे । यो कुरा उनीजस्तै समस्या भोगिरहेका अन्य महिलाले थाहा पाए । त्यसपछि ती व्यक्तिविरुद्ध महिलाले आवाज उठाए । ’हिंसाको बाहिरी कारण अरू नै बताइन्छ, भित्री कारण भने पाठेघर गुमाएपछिको परिणाम हुन्छ,’ गाउँकी एक महिलाले भनिन्, ’हुँदाहुँदा पुरुषले शल्यक्रियालाई सौता हाल्ने अवसर ठान्छन् ।’ पाठेघर खस्दा सहनै नसकिने दुःख खेपेका महिलाले सुख पाउन शल्यक्रिया गर्ने गरे पनि झन् अर्को मानसिक पीडा निम्तने गरेको उनले बताइन् ।
कम छैन सन्तुष्टि पनि
खसेर तेस्रो चरणमा पुगेको पाठेघरलाई शल्यक्रिया गर्नु सबैभन्दा राम्रो विकल्प हो तर शल्यक्रियापछि स्वास्थ्यलाई ख्याल गर्दै सन्तुष्टि लिन सकेमा दाम्पत्य जीवन सुखमय हुने अनुभवी बताउँछन् । पाठेघर शल्यक्रिया गरेकी कोहलपुरकी ५५ वर्षीया रुपाना यादव जसरी ज्यान हल्का भएको खुसी छन्, त्यसैगरी उनका पत्नी रामप्रघट पत्नी खुसी भएकोमा दंग छन् । ‘पहिला त उनको दुःखले मलाई पनि दुःखी बनाउँथ्यो,’ उनले भने, ’शल्यक्रियापछि उनलाई पनि सुख छ, हामी पनि खुसी ।’ लामो समय पाठेघर खस्ने समस्याको उपचारमा संलग्न जाजरकोट, कार्कीगाउँ हेल्थपोष्टका अहेव यशोधा पुन बच्चाको रहर पूरा भइसकेका महिलाको मात्र तेस्रो चरणमा पुगिसकेको पाठेघर शल्यक्रियाबाट झिक्ने गरिएको बताउँछिन् । ’बच्चाको रहर पूरा भएको छैन भने ’सिलिङ’ गरेर भए पनि पाठेघर रोकथाम गरिन्छ,’ उनले भनिन, ’त्यसैले प्रजनन क्षमतालाई कारण देखाएर महिलामाथि पीडा थोपर्नु हुँदैन ।’ शल्यक्रिया गरेका महिलाले पनि आत्मबल बलियो बनाएर आफ्नो बाँकी जीवन सुखमय बनाउन तल्लिन हुनुपर्ने उनको सुझाव छ । आजको नागरिकमा दैनिकमा खबर छ ।

Womui
Womui