तीन महिनाका लागि विद्युत अवरुद्ध

47

रुकुम, चैत ८ –
तीन महिनाका लागि विद्युत् सेवा बन्द गरिएको छ । जिल्लाको स्यार्पू दह साना जलविद्युत् आयोजनाको पुनःनिर्माणका लागि काम सुरु भएपछि जिल्लाका आठ गाविस तीन महिनाका लागि अन्धकार भएका हुन् । विसं २०४४ मा निर्माण भएको जलविद्युत् आयोजनाको जापान सहयोग नियोग जाइकाले पुनःनिर्माणको काम सुरु गरेपछि विद्युत् सेवा बन्द भएको रुकुमेली विद्युत् ऊर्जा विकास उपभोक्ता समितिका कार्यालय प्रमुख रामबहादुर केसीले बताए ।

विगत एक वर्षदेखि पुनःनिर्माणको काम सुरु गरेको जाइकाले यसअघि आयोजनाको ड्याम निर्माणको काम सकिएपछि अब नहर मर्मत र मेसिन फेर्ने काम सुरु भएका कारण विद्युत् सेवा बन्द भएको केसीले उल्लेख गरे । जेठको दोस्रो सातासम्म नहरको काम र मेसिन फेर्ने काम सकिने भएकाले त्यसपछि मात्र विद्युत् सेवा सञ्चालनमा आउने छ । विद्युत् सेवा बन्द हुँदा सदरमुकाम मुसिकोटसहित जिल्लाका बाँफिकोट, स्यालापाखा, पिपल, झुला, मग्मा र छिवाङ गाविसका चार हजार बढी उपभोक्ता अन्धकारमा बस्नु पर्ने बाध्यतामा परेका छन् । पुनःनिर्माण पछि आयोजनाको क्षमताअनुसार विद्युत् उत्पादन हुने बताइएको छ ।

दुई सय ५० किलोवाटको क्षमता रहेको उक्त आयोजनाबाट हाल २०० किलोवाट मात्र विद्युत् उत्पादन हुँदै आएको प्रमुख केसीले बताए । मेसिन पुरानो हुनु, नहर जीर्ण बन्दा पानी चुहावट हुनुलगायतका कारणले क्षमताअनुसार विद्युत् उत्पादन हुन सकेको थिएन । तीन महिनासम्म विद्युत् सेवा बन्द भएपछि जिल्लामा सञ्चालन हुने उद्योगधन्दा, कलकारखाना, सबै ठप्प हुने भएका छन् । यसका साथै जिल्लाबाट प्रकाशनमा रहेको पत्रिकासमेत बन्द हुने भएका छन् ।

Womui
Womui