स्व. पाइलट दिनेश र सन्तोषको शालिक राख्न बाँकेबाट पहल

96

नेपालगन्ज, चैत ५–

आफु मरेर यात्रु बचाउने साहसी पाइलट दिनेश न्यौपाने र को–पाइलट सन्तोष रानाको योगदानको उच्च कदर गर्दै चोक नामाकरण सहित शालिक स्थापना गर्न सरकारलाई बाँकेबाट सिफारिस गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा बिहीबार सम्पन्न सर्वदलिय र सर्वपक्षिय बैठकले सर्वसम्मत रुपमा यस्तो निर्णय पारित गरेको हो । प्रमुख जिल्ला अधिकारी रविलाल पन्तको अध्यक्षतामा सम्पन्न बैठकमा उपस्थित विभिन्न राजनीतिक दल, अधिकारकर्मी, व्यवसायी, नागरिक समाजका प्रतिनिधी लगायतले स्वर्गिय पाइलटको सम्मका लागि सरकारले चोक र शालिक निर्माण गर्नुपर्नेमा जोड दिएका थिए ।

जिल्ला प्रशासन कार्यालय बाँकेमा बसेको सर्वदलिय तथा सर्वपक्षिय बैठक ।
जिल्ला प्रशासन कार्यालय बाँकेमा बसेको सर्वदलिय तथा सर्वपक्षिय बैठक ।

उक्त बैठकले नेपालगन्ज–कोहलपुर सडक खण्ड अन्तर्गत पर्ने राँझा चोकलाई नामनामाकरण सहित सोही ठाउँमा पाइलट दिनेश र को–पाइलट सन्तोषको शालिक स्थापना गर्न सरकारलाई सिफारिस गरेको प्रमुख जिल्ला अधिकारी पन्तले जानकारी दिए । ‘पाइलटको साहसीपुर्ण कामले गर्दा नै त्यति धेरै यात्रु बाँचेका हुन,’ उनले भने ‘उनीहरुको योगदानको कदर गरेपछि अन्य पाइलटको पनि मनोबल बढ्छ भन्नेमा सबैको राय सुझाव आयो र चोक नामाकरण सहित शालिक राख्न सिफारिस गर्ने निर्णय गरियो ।’ गत फागुन १४ गते नेपालगन्जबाट जुम्लाका लागि उडेको नाइन एनए जेबी जहाज कालिकोटको चिलखाया–२ मा दुर्घटनाग्रस्त भएको थियो ।

 स्व. पाइलट दिनेश न्यौपाने र को-पाइलट सन्तोष राना ।

स्व. पाइलट दिनेश न्यौपाने र को-पाइलट सन्तोष राना ।

जहाजमा प्राविधिक समस्या आएपछि आपतकालिन अवतरण गर्ने क्रममा २९ बर्षिय पाइलट दिनेश र २७ बर्षिय को–पाइलट सन्तोषको मृत्यु भएको थियो । स्वर्गिय पाइलट दिनेश नेपालगन्ज–१६ कोरियनपुर र को–पाइलट सन्तोष पाल्पा निवासी हुन् । जहाजमा सवार अन्य ९ जना यात्रुको ज्यान भने जोगिएको थियो । उक्त दुर्घटनामा घाइते भएका मध्ये केहीको अहिले पनि उपचार भइरहेको छ । पाइलट र को–पाइलटको योगदानको कदर गर्न सर्वपक्षिय रुपमा आवाज उठेपछि यसअघि मन्त्रिपरिषद बैठकले दुबैलाई बीरता पदक दिने निर्णय गरेको थियो ।

Womui
Womui