प्रधानमन्त्री ओली र भारतीय विदेशमन्त्रीबीच भेटवार्ता

147

पोखरा, चैत ४–
भारतीय विदेशमन्त्री सुष्मा स्वराज, प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधान एवं परराष्ट्र मन्त्री कमल थापाबीच छुट्टा–छुट्टै भेटवार्ता भएको छ । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) विदेश मन्त्री स्तरीय बैठकमा सहभागी हुन पोखरा पुगेकी स्वराज र प्रधानमन्त्री ओलीबीच बुधबार राति भेटवार्ता भएको हो । विदेशमन्त्रीहरुको स्वागतमा सांग्रिला भिलेज रिसोर्टमा भएको रात्रीभोजपछि स्वराज र ओलीबीच भेटवार्ता भएको हो ।

kp oli pic

झण्डै २० मिनेटको भेटमा दुई देशबीचको सम्बन्ध सुधारका विषयमा कुराकानी भएको थियो । प्रधानमन्त्री ओली र भारतीय विदेश मन्त्री स्वराज अन्य अधिकारीलाई छोडेर एक्ला एक्लै कुराकानीमा जुटेका थिए । ओलीलाई भेटे लगत्तै स्वराज र मन्त्री थापाबीच भेटवार्ता भएको थियो । बैठक चलिरहेको होटल पोखरा ग्राण्डमा राति साढे १० बजेदेखि ११ बजेसम्म भेटवार्ता चलेको थियो । यसैबीच परराष्ट्र मन्त्री थापाले बुधवार साँझ नै बंगलादेशका विदेशमन्त्री अबुल हसन मोहमद अली र अफगानिस्तानका उपविदेशमन्त्री हिक्मत खालिद कार्जाईसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् ।

बैठकमा चासोका साथ हेरिएको भारत र पाकिस्तानबीच वार्ता बुधबार हुन सकेन । भारतीय विदेशमन्त्री स्वराज र पाकिस्तानी प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार सर्ताज अजिजबीच बिहीबार अपरान्ह भेटवार्ता हुने तय भएको छ । स्वराज र अजिज बुधवार राति आयोजित रात्रीभोजमा पनि सँगै थिए । पोखराका जारी सार्क मन्त्रीपरिषद् बैंठक अन्तर्गत ३७ औं विदेश मन्त्री स्तरीय बैठक बिहीबार हुँदैछ । बैठकको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् ।

Womui
Womui