बाल विवाह अन्त्य गर्ने ऐक्यवद्धता

56

नेपालगन्ज, चैत ३–
बाँकेमा बढ्दै गएको बाल विवाह अन्त्य गर्ने ऐक्यवद्धता जनाइएको छ । विभिन्न सरोकारवाला सरकारी तथा गैर सरकारी निकायका प्रमुख तथा प्रतिनिधी, बालबाकालिका लगायतले सामुहिक रुपमा हस्ताक्षर गरेर ऐक्यवद्धता जनाएका हुन् । महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयसँगको सहकार्यमा सिविन बाल हेल्पलाईन लगायत संघ, संस्थाले ‘सक्षम बालिका–समृद्ध नेपाल’ भन्ने नाराका साथ मंगलबार आयोजना गरेको नेपाल बालिका सम्मेलन–२०७२ मा उपस्थित सरोकारवालाले बाल विवाह नगर्ने र गर्न पनि नदिने प्रतिवद्धता सहित हस्ताक्षर गरे । सम्मेलनमा सहभागी बालबालिकाले समाजमा बढ्दो बाल विवाहबारे सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधीसँग अन्तर संवाद समेत गरे ।

बढ्दो बाल विवाहबारे धारणा राख्दै प्रमुख जिल्ला अधिकारी रविलाल पन्त ।
बढ्दो बाल विवाहबारे धारणा राख्दै प्रमुख जिल्ला अधिकारी रविलाल पन्त ।

उपस्थित बालबालिकाले प्रमुख जिल्ला अधिकारी रविलाल पन्त, प्रहरी प्रमुख एसपी टेकप्रसाद राई, जिल्ला शिक्षा अधिकारी भिमबहादुर साउद, महिला तथा बालबालिका कार्यालय बाँकेकी प्रमुख प्रभा श्रेष्ठ ओली, राष्ट्रिय मानव अधिकार आयोगका रमेश थापा, जिल्ला विकास समितिका सुचना अधिकृत शरद पौडेल लगायतलाई सिधै प्रश्न राखेका थिए । बाल विवाह भएपनि प्रहरीले कारबाही नगरेर छाड्ने गरेको, बाल विवाह न्यूनिकरणका लागि सरकारी निकायबाट भएको प्रयास, बजेट तथा योजना, जनचेतना मुलक कार्यक्रमका विषयमा बालबालिकाहरुले सम्वन्धित कार्यालयलाई प्रश्न राखेका थिए । जिल्ला बाल क्लब सञ्जाल बाँकेकी अध्यक्ष श्वेता गुरुङ, उपाध्यक्षद्धय साहिल अन्सारी र रविस बर्मा, सञ्जाल सचिव नारायणी खड्का, सदस्य अरुणा गुरुङ, विभिन्न बाल क्लबका देवा क्षेत्री, रिता कुमारी उपाध्याय, संगीता यादव सहित १५ जनाले प्रश्न राखेका थिए ।

प्रश्नको जवाफ दिदै प्रजिअ पन्तले बाल विवाह धार्मिक र सँस्कृतीसँग जोडिएको भन्दै सबैको प्रयासले न्यूनिकरण गर्न सकिने बताए । ‘सँस्कृतीमा सुधार नल्याउँदा सम्म प्रहरी, प्रशासनले मात्र रोक्न खोजेर सम्भव हुदैन,’ उनले भने । सिविनका क्षेत्रीय प्रमुख शिद्धराज पनेरुका अनुसार उक्त सम्मेलनमा जिल्लाका १ सय ३८ जना बालबालिका सहभागि भएका थिए । बाल विवाह न्यूनिकरण गर्ने उद्धेश्यले कार्यक्रम गरिएको उनले बताए । ‘बाल विवाह समाजको जल्दोबल्दो समस्या भएपनि कसैको ध्यान पुग्न सकेको छैन,’ पनेरुले भने ।

Womui
Womui