पश्चिम नेपालमा भएका दुई अलग दुर्घटनामा ७ जनाको मृत्यु

103

नेपालगन्ज, फागुन २३–
पश्चिम नेपालमा भएका दुई अलग दुर्घटनामा ७ जनाको मृत्यु भएको छ । जन्ती बस दुर्घटना हुँदा बर्दियामा ४ र डडेल्धुराको मणिलेकमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो । दुलही लिएर बर्दियाको धधवार–७ दुध्धाबाट बबई नगरपालिका–१० शाहीपुर फर्किदै गरेको भे १ ख ८५४ नम्बरको जन्ती बस शनिबार राती करिव ११ बजेतिर बबई नगरपालिका वडा नम्वर ६ मैनवार भन्ने ठाउँमा पल्टिदा ४ जनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय भुरिगाउँका प्रहरी नायक निरिक्षक दुर्गा भट्टले जानकारी दिएका छन् । उक्त दुर्घटनामा अन्य २० जना घाइते भएका छन् ।

दुर्घटनामा परी १९ वर्षीय सन्तोष थारु, १९ वर्षकै निरज थारु, १४ वर्षीय अरुण थारु र १७ वर्षीय बिष्णु थारुको घटनास्थलमै मृत्यु भएको भट्टले बताए । दुर्घटनामा घाइते भएकाहरुलाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना गरिएको छ । घाइते मध्ये १० जनाको अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ । बस र चालक नारायण पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार बेहुला र बेहुली अर्को सवारी साधनमा भएकाले उनीहरु सकुशल छन् ।

यसैबीच डडेल्धुराको मणिलेकबाट सदरमुकाम जाँदै गरेको से १ ज ७०६ नम्बरको जीप शनिबार राती मणिलेक–१ रडुवामा दुर्घटना हुँदा मणिलेक–२ का ३० वर्षीय गाडी चालक सेरु भुल, मणिलेक–३ का ३४ वर्षीय छबिलाल अबस्थी र मणिलेक–१ का ३२ वर्षीय खडकराज अवस्थीको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक बिपिन कर्माचार्यले जानकारी दिएका छन् ।

उक्त दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । गम्भीर घाइते मणीलेक–१ निवासी गाडी मालिक गणेश अवस्थीलाई उपचारका लागि नेपालगन्जतर्फ ल्याइएको प्रहरीले जनाएको छ । जीप सडकबाट तीन सय मिटर तल खसेको प्रहरीको भनाई छ ।

Womui
Womui