हात्तिपाईलेका बिरामी अझै १६ प्रतिशत

67

नेपालगन्ज, फागुन २०–
बाँकेमा १६ प्रतिशत हात्तिपाईले रोगका बिरामी रहेको तथ्यांक सार्वजनिक गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयले बिहीबार नेपालगन्जमा गरेको पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा तथ्यांक सार्वजनिक गरिएको हो । जनस्वास्थ्य कार्यालयका प्रमुख डाक्टर विनोदकुमार गिरीले प्रस्तुत गरेको तथ्यांक अनुसार सबैभन्दा बढी बिरामी नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा रहेका छन् । गिरीले भने, ‘पाँच वर्ष अगाडी बाँकेमा २१ प्रतिशत बिरामी थिए, पाँचौ चरणको हात्तिपाईले रोग विरुद्धको अभियान सम्पन्न भइसक्दा पनि १६ प्रतिशत बिरामी छन् ।’ कार्यालयले गत माघ महिनामा बिरामीको तथ्यांक संकलन गरेको उनले बताए ।

प्रस्तुतीकरण गर्दै जनस्वास्थ्य कार्यालय बाँकेका प्रमुख डा. विनोदकुमार गिरी ।
प्रस्तुतीकरण गर्दै जनस्वास्थ्य कार्यालय बाँकेका प्रमुख डा. विनोदकुमार गिरी ।

जिल्लामा हात्तिपाईले रोगका बिरामीको संख्या घटाउन चुनौती थपिरहेका बेला कार्यालयले छैटौ चरणको हात्तिपाईले रोग निवारण अभियान–२०७२ यही फागुन २९ देखि चैत १ गते सम्म सञ्चालन गर्ने तयारी गरिरहेको छ । उक्त अभियानमा ५ लाख २१ हजार व्यक्तिलाई औषधी खुवाउने कार्यालयको लक्ष्य छ । अभियान सफल पार्न जिल्लामा ३ सय ३९ जना स्वास्थ्यकर्मी खटाउने कार्यालयको तयारी छ । पत्रकार सम्मेलनमा बोल्दै जनस्वास्थ्य प्रमुख गिरीले ढुक्कसँग औषधी खाएर आफ्नो जीवन सुखमय बनाउन आग्रह गरे । सो क्रममा उपस्थित अधिकांस पत्रकारले हात्तिपाईले रोग विरुद्धको औषधी खाएका थिए ।

कार्यक्रममा जनस्वास्थ्य कार्यालयका अधिकृत सरोज शाह, जनस्वास्थ्य निरिक्षक अंगत शाही लगायतले बोलेका थिए । जिल्लामा अघिल्लो चरणमा सञ्चालित अभियानका क्रममा सबैभन्दा बढी खासकुश्मा गाविसका सर्वसाधारणले औषधी खाएको कार्यालयले जनाएको छ । तथ्यांक अनुसार त्यहाँका ९९ प्रतिशत सर्वसाधारणले हात्तिपाईले रोग विरुद्धको औषधी खाएका थिए । पोथी जातको क्यूलेक्स नामको लामखुट्टेबाट सर्ने हात्तिपाईले रोग लागिसकेपछि निको हुन नसक्ने चिकित्सकले बताएका छन् । रोग लागिसकेपछि हात, खुट्टा, अण्डकोष, यौनी लगायत शरिरका विभिन्न अंग सुनिन्छ ।

Womui
Womui