निकुन्जभित्र अवैध रुपमा सालका रुख कटान

104

नेपालगन्ज, फागुन २०–
बाँके राष्ट्रिय निकुन्जमा अवैध रुपमा हरिया सालका रुख कटान भएको छ । जिल्लाको महादेवपुरी गाविस ढकेरीस्थित निकुन्जको झिझरी मध्यवर्ती सामुदायिक वन क्षेत्रमा १४ वटा हरिया सालका रुख काटिएको अवस्थामा फेला परेको हो । निकुन्जले उक्त घटनालाई अहिले सम्म गुपचुपमै राखेको छ । एक महिनाको अवधिमा तस्करले सालका रुख काटेर गोलिया ओसारेका छन, भने लैजानका लागि तयारी अवस्थामा राखिएका केही गोलिया अझै जंगलमै छन् । दैनिक जंगलभित्र गस्ती गर्ने निकुन्जका कर्मचारी र सेना यति भारी संख्यामा सालका रुख काटिएपनि बेखबर झै बनेको छ । स्थानीय बासिन्दाका अनुसार कोहलपुरदेखि करिव ७ किलोमिटर पुर्व महेन्द्र राजमार्ग अन्तर्गतपर्ने बाँकेको ढकेरी नजिक उक्त मध्यवर्ती क्षेत्रमा हरिया सालका रुख काटिएका हुन् ।

बाँके निकुन्ज को झिझरी मध्यवर्ती क्षेत्रमा काटिएका हरियो सालका रुख ।
बाँके निकुन्ज को झिझरी मध्यवर्ती क्षेत्रमा काटिएका हरियो सालका रुख ।

झिझरी मध्यवर्ती क्षेत्रका चौकीदार जयबहामदुर खड्काका अनुसार रुख काट्ने आरा मेसिन ल्याएर रातको समयमा सालका गोलिया काटेको अवस्थामा फेला परेको हो । उनका अनुसार माघ २८ गते ७ वटा, माघ १९ गते ४ र पुस १९ गते ४ वटा सालका रुख काटिएको अवस्थामा फेला परेको थियो । यहाँका स्थानीय बासिन्दाले भने निकुन्ज र मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहको मिलेमतो बिना रुख काटिन नसक्ने बताउँछन् । ‘रुख काटिएको फेला परेपछि यसको छानविनका लागि भन्दै निकुन्जबाट कर्मचारी आई काटेको रुख हेरेर फर्किए, तरपनि घटनाबारे केही भएन,’ एक सर्वसाधारणले भने । यसको मुख्य दोषी निकुन्ज र मध्यवर्ती सामुदायिक वन समुहका अगुवा रहेको उनको भनाई छ । ‘साधारण व्यक्तिले वनभित्र प्रवेश गर्न समेत आँट गर्न सक्दैनन, तर भित्रभित्रै चोरले वन सिध्याउन लागिसके, यसमा भित्र र बाहिरका मान्छेको मिलेमतो छ ।’

Banke Nikunja Kath 2

महादेवपुरी–३ निवासी स्थानीय उपभोक्ता निर्मला विष्टले निकुन्ज भित्रै पटक–पटक रुख काटिनुले आफुहरु आश्चर्यमा परेको बताईन् । ‘हामीले यो वनबाट झिंजा समेत भाँच्दैनौं, तर निकुन्ज भित्तै छानीछानी हरिया सालका रुख काटिन्छन्,’ उनले भनिन् । झिझरी मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष पहलबहादुर खत्रीले वन फँडानीको घटनाले आफुहरुलाई गम्भिर बनाएको बताए । ‘त्यत्रो आँट गरेर रुख काट्ने खालका मान्छे गाउँमा छैनन, यो सबै बाहिरबाट भएको हो,’ उनले भने ।

लामो समयदेखि उपभोक्ताले संरक्षण गरेको वनमा यसअघि कहिल्यै वन फँडानी नभएको दाबी गर्दै निकुन्जले मध्यवर्ती क्षेत्रमा राखेपछि तस्करको रजाँई भएको अध्यक्ष खत्रीले बताए । ‘घटना हुने वित्तिकै हामीले निकुन्जलाई जानकारी गरायौं, समुहको बैठक पनि बसायौं, अहिले सम्म अनुसन्धान प्रक्रिया कहाँ पुग्यो थाहा छैन,’ उनले भने । यता बाँके राष्ट्रिय निकुन्जका निमित्त प्रमुख संरक्षण अधिकृत लालबहादुर भण्डारीले वन फँडानी सम्वन्धी घटनाको अनुसन्धानका लागि सहायक संरक्षण अधिकृत रविन चौधरीको संयोजकत्वमा छानविन समिति गठन गरिएको बताए । ‘अहिले सम्म घटनामा संलग्न कोही पत्ता लागेको छैन,’ उनले भने ।

Banke Nikunja Kath 1

निकुन्ज क्षेत्रमा भएको यति ठुलो घटना गुपचुप राख्नुले घटनालाई थप रहस्यमय बनाएको सरोकारवालाले बताएका छन् । एक वनकर्मीले भने, ‘निकुन्जले हेर्ने क्षेत्रमै काँचा रुख काटिनु र अहिले सम्म घटना गुपचुप राख्नुले आशंका गर्ने ठाउँ प्रसस्त छ ।’ निकुन्ज र मध्यवर्ती क्षेत्र आसपासमा हुने सानातिना घटना सार्वजनिक गर्ने निकुन्ज प्रशासनले झिझरी मध्यवर्ती क्षेत्रमा पटक–पटक भएको वन फडाँनीलाई बाहिर नल्याउँदा आशंका बढाएको ती अधिकारीले बताए । सामुदायिक वन उपभोक्ता महासंघ बाँकेका अध्यक्ष डिल्ली गिरीले निकुन्जले आफ्नो क्षेत्रमा भएको घटनालाई सार्वजनिक नगर्दा गम्भिर आशंका उत्पन्न गराएको बताएका छन् । ‘मध्यवर्ती क्षेत्रभित्र भएको यो घटनाको मुख्य जिम्मेवार निकुन्ज नै हो,’ उनले भने ‘उपभोक्ताले एकलौटी रुपमा संरक्षण गर्दा जोगिएको वन निकुन्जको मध्यवर्ती क्षेत्रमा रहदाँ किन बारम्बार तस्करहरुको अखडा बनिरहेको छ ? यसको अनुसन्धान निकुन्ज भित्रैबाट सुरु हुनुपर्छ ।’ यति ठुलो घटनाबाट निकुन्ज पन्छिन नपाउने अध्यक्ष गिरीले बताए ।

Womui
Womui