नागरिक निरक्षर छन् भन्नुपर्दा लाज लाग्छ : प्रधानमन्त्री

143

काठमाडौं, फागुन १६–
प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशी समक्ष हाम्रो देशमा अझै निरक्षर नागरिक छन् भन्ने कुरा लाजको विषय बन्ने गरेको बताएका छन् । उनले सबै नेपाली साक्षर, शिक्षित र दक्ष बनाउने गरी नयाँ शिक्षा नीति तर्जुमाका लागि सरोकारवालाहरुलाई आग्रह गरेका छन् । शिक्षा मन्त्रालयले ललितपुरमा आयोजना गरेको ‘संघीय नेपालको नयाँ शिक्षा नीतिका लागि राष्ट्रिय शिक्षा आयोग’ विषयको राष्ट्रिय कार्यशालाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘एक्काइसौँ शताब्दीमा हाम्रो देशमा अझै नागरिक निरक्षर छन् भनेर विदेशी सामु भन्नुपर्दा लाजको विषय बन्ने गरेको छ, त्यसैले अब नपढेको मान्छे नेपालमा हुँदैन भन्न सक्ने आधार खडा गर्नुपर्छ ।’

KP OLi Pic

उनले शिक्षाले मानिसलाई गुण, आचरण, व्यवहार, स्वभाव र संस्कारमा उन्नत बनाई समाज र परिवारका निम्ति गुणवान् बनाउन सक्नुपर्ने बताउँदै विद्यार्थीलाई उनीहरुको प्रतिभा र रुचिअनुसारको शिक्षा दिलाउनुपर्नेमा जोड दिए । प्रधानमन्त्री ओलीले शिक्षामा विदेशीको नक्कल गर्ने परम्परा अन्त्य गरी राम्रा कुरालाई मौलिक ढङ्गले अनुसरण गर्न आग्रह गरे। धेरै विद्यार्थी असफल हुनु अस्वाभाविक र आश्चर्यको विषय भएकाले हरेक क्षेत्रमा जनशक्ति तयारीबारे योजना सहितको सुझाव दिन आग्रह गरे । शिक्षा सेवाको विषय भएकाले यसलाई पसल (व्यापार) को विषय नबनाउन पनि उनले ध्यानाकर्षण गराए ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले नयाँ संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई आत्मसात् गराउन र शिक्षाको गुणस्तर सुधारका लागि नयाँ शिक्षा नीतिको माग भएको सन्दर्भमा मन्त्रालयले आयोग गठनको तयारी गरेको जानकारी दिँदै आयोगको कार्यक्षेत्र र सदस्यको मापदण्डबारे कार्यशालाबाट सुझाव मागेका थिए । मन्त्रालयका सचिव विश्वप्रकाश पण्डितले शिक्षाको समग्र विकासका लागि राजनीतिक तहबाट प्रतिबद्धता आवश्यक रहेको उल्लेख गरे ।

Womui
Womui