ईतिहासमै पहिलो पटक बाँके कांग्रेसमा महिला सभापति

46

नेपालगन्ज, फागुन ७- 

ईतिहासमै पहिलो पटक नेपाली कांग्रेस बाँकेले महिला सभापतिमा पाएको छ । नेतृ किरण कोईराला शुक्रबार ३ सय ५८ मत ल्याएर निर्वाचित भएकी हुन् । किरणले प्रतिद्धन्द्धी निरन्जनसिंह सिजापतिलाई १ सय ४१ मत अन्तरले पराजित गरेपछि जिल्लाले पहिलो पटक महिला सभापति पाएको हो । उनीहरु दुबै जना संस्थापन पक्षका हुन् । किरण मध्य र सुदुरपश्चिमकै पहिलो जिल्ला सभापति भएको कांग्रेस नेताहरुले बताएका छन् ।

प्रमाणपत्र ग्रहण गर्दै नवनिर्वाचित कांग्रेस बाँकेका सभापति किरण कोईराला । तस्बिर : उमा थापामगर
प्रमाणपत्र ग्रहण गर्दै नवनिर्वाचित कांग्रेस बाँकेका सभापति किरण कोईराला ।   तस्बिर : उमा थापामगर

नवनिर्वाचित सभापति किरण पार्टी सभापति एवम् पुर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोईरालाकी भाई बुहारी तथा कांग्रेस बाँकेका पुर्व सभापति स्वर्गीय अरुण कोईरालाकी पत्नी हुन् । निर्वाचित भएपछि सम्वोधन गर्दै उनले आफुलाई मतदान गर्ने सबैलाई धन्यवाद दिईन् । नवनिर्वाचित सभापति किरणले भनिन्, ‘यो हाम्रै पार्टी भित्रको आन्तरिक चुनाव हो, सबैको जित भएको छ ।’ चुनावमा हारेका साथीहरुलाई निराश नहुन आग्रह गर्दै सबैलाई मिलाएर लैजाने प्रतिवद्धता जनाईन् । नवनिर्वाचित सभापति किरण आफ्नो राजनीतिक यात्रामा सबैभन्दा बढी समय पार्टी निकट नेपाल महिला संघमा रहेर काम गरिन् ।

२०२३ सालबाट नेपाली कांग्रेसमा आवद्ध रहेकी उनी भारत निर्वासनमा रहेका तत्कालिन कांग्रेस नेता विपी कोईराला, गिरिजाप्रसाद कोईराला, सुशील कोईराला लगायत नेतासँग नजिक भएर उनीहरुको सिद्धान्त र आर्दश अनुशरण गर्न पाएकी थिईन् । २०४७ सालमा महिला संघमा आवद्ध भएकी उनले ४ कार्यकाल सभापति भएर विताएकी थिईन् । यस्तै उनी तीन पटक महासमिति सदस्य र दुई पटक महाधिवेशन प्रतिनिधी भइसकेकी छन् । किरणले २०४९ सालमा पार्टी निकट नारी कल्याण समाज स्थापना गरेर १४ बर्ष सम्म नेतृत्व चलाईन् ।

Womui
Womui