बिद्यार्थीको पढाई बिथोल्दै बिबाह भोज

152

विजय मल्ल
नेपालगन्ज, माघ २१–
बिद्यालय खुलेकै समयमा नेपालगन्जको एक सामुदायिक बिद्यालयमा बिबाहको भोज भतेर सञ्चालन गरिएको छ । उपमहानगरपालिका वडा नम्वर–१३ गोसाई गाँउस्थित हनुमान नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको प्राङ्गनमै बुधबार स्थानीय बासिन्दाले बिबाहको भोज कार्यक्रम सञ्चालन गरेका हुन् । बिद्यालय परिसरमा चलेको बैबाहिक कार्यक्रमले गर्दा बिद्यार्थीको पठन पाठन प्रभावित भएको छ । गोसाईगाँउका स्थानीय बासिन्दा रामफेरन शर्माले आफ्नो छोराको बिबाह भोज कार्यक्रम आयोजना गर्न मंगलबार र बुधबार दुई दिन बिद्यालयको प्राङ्गनलाई कब्जा लिएका हुन् ।

Hanuman School

बुधबार तय गरिएको विवाह भोजका लागि मंगलबारदेखि नै दुल्हापक्षले सामान ओसार्ने, टेन्ट लगाउने काम गरेका कारण बिद्यालयमा बिद्यार्थीको संख्या समेत आधा बढी घटेको प्रधानाध्यापक पुष्पालक्ष्मी अर्यालले बताईन् । ‘बिद्यालय परिसरमै बिबाह भोजको कार्यक्रम हुदाँ धेरै जसो बिद्यार्थी उपस्थित भएनन, आएका बिद्यार्थीको ध्यान पनि पढाईतिर केन्द्रित भएन,’ उनले भनिन् । आफुले विद्यालय परिसरमा बिबाह भोज नगर्न अनुरोध गर्दापनि अटेरी गरेर कार्यक्रम राखेको प्रअ अर्यालले गुनासो पोखिन् ।

बिद्यालयको केही कक्षा कोठामा भोजका लागि चाहिने सामान राखेका कारण दुई दिनदेखि कक्षा ४ र ५ का बिद्यार्थीलाई एउटै कोठामा राखेर पठन पाठन सञ्चालन गरिएको उनले बताईन् । विवाह भोजका कारण विद्यालय प्राङगनमा सरस्वती मन्दिर निर्माणको काम पनि प्रभावित भएको प्रअ अर्यालको भनाई छ । बैबाहिक कार्यक्रमले गर्दा बिद्यालयका १ सय ६० जना बिद्यार्थी मध्य मंगलबार ५१ जना र बुधबार २८ जना मात्र बिद्यार्थी उपस्थित भएको हाजिरी रेकर्डमा उल्लेख छ । बिद्यालयमा उपस्थित बिद्यार्थीले बिबाह भोजका कारण आफुहरुको पढाई प्रभावित भएको गुनासो पोखेका छन् ।

कक्षा ४ मा अध्ययनरत श्रुती खवासले भनिन्, ‘हामीले पढ्ने कक्षा कोठामा बिबाह भोजका सामान राखेका छन, राम्ररी पढ्न नै पाइएन, आफ्नै स्कुलको धारा र ट्वाइलेटमा पनि जान दिएनन् ।’ कक्षा ५ का छात्र राधेश्याम चौधरीले बिबाहको भोज भतेरमा आएका व्यक्तिले बिद्यालय शौचालय समेत आफुहरुलाई प्रयोग गर्न नदिएको गुनासो गरे । उनले भने, ‘दुई दिनदेखि हाम्रो स्कुलमा पढाई डिस्र्टब छ, हामीले पढ्ने कक्षा कोठामा भोज भतेरका सामान राखेका छन् ।’ अर्की कक्षा ५ मा अध्ययनरत विद्यार्थी स्नेहा शाहले भनिन, ‘हामीले बिद्यालयमा टेण्ट नलगाउन अनुरोध गर्दा उल्टो गाली गाली गरेर हपारे, बिबाहको पार्टी हुदाँ मेरा थुप्रै साथीहरु हिजोखि स्कुल आएका छैनन् ।’ स्थानीय बासिन्दाले बिद्यालय क्षेत्रमा बिबाहको भोज कार्यक्रम राख्न लागेको विषयमा बिद्यालय ब्यवस्थापन समितिलाई जानकारी गराउँदा समितिले गर्न उल्टो अनुमति दिएको एक शिक्षकले बताए ।

Hanuman Schol 2

‘बिद्यालय व्यवस्थापन समितिले त बिद्यालय बन्द गरेर भएपनि भोज गर्न दिनुपर्छ भन्यो, बिद्यालय बन्द गर्न हामीले मानेनौ,’ उनले सुनाए । उक्त आरोप प्रति बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीनारायण बर्माले आफ्नो बचाउ गरेका छन् । उनले भने, ‘बिबाहको भोज रातको समयमा चल्ने भएका कारण कार्यक्रम गर्न दिइएको हो, यसले बिद्यार्थीको पढाईमा खासै असर गर्र्दैन ।’ समुदायले सञ्चालन गरेको बिद्यालयमा समुदायले आफ्नो काम गर्न पाउनुपर्ने उनको जिकिर छ । सदभावना पार्टी बाँकेका अध्यक्ष समेत रहेका बर्माले अगाडी थपे, ‘समाजको कुरा पनि मान्नु प¥यो, यो परम्परा आजदेखिको होईन पहिलेदेखि नै चलिआएको हो ।’ यता बाँकेका जिल्ला शिक्षा अधिकारी भीमबहादुर साउदले बिद्यालयमै बिबाहको भोज कार्यक्रम राखिएको विषयमा आफुलाई ढिलो गरेर जानकारी प्राप्त भएको बताए । ‘प्रधानाध्यापकलाई बिद्यालय व्यवस्थापन समितिका पदाधिकारीको दवाव दिएर कार्यक्रम गर्न अनुमति दिएको कुरा आएको छ,’ साउदले भने ‘यो काममा कमजोरी व्यवस्थापन समितिकै देखिन्छ ।’

बिहीबारबाट उक्त बिद्यालय क्षेत्रमा कुनैपनि गतिविधि हुन नदिने ब्यवस्था गर्ने उनले प्रतिवद्धता जनाए । नेपालगन्ज उपमहानगर क्षेत्रलाई बालमैत्री नगर घोषणा गर्ने तयारी भइरहदाँ बालबालिकाको प्रत्यक्ष र बढी संलग्नता हुने स्थान बिद्यालयलाई विभिन्न प्रयोजनमा प्रयोग गर्नाले बिद्यार्थीको शिक्षण सिकाईमा प्रत्यक्ष असर पुग्ने अधिकारकर्मी बताउँछन् । स्थानीय वडा नागरिक मञ्चका उप–संयोजक केदारप्रसाद आचार्यले बिद्यालय ब्यवस्थापन समितिको ठूलो कमजोरीले बिद्यालय क्षेत्रमा बिबाहको भोज भतेर सञ्चालन हुन पाएको बताए । ‘बिद्यालयमा बालबालिकाको पढाईलाई कसैले पनि विथोल्नु राम्रो काम होईन,’ उनले भने । स्थानीय बासिन्दा जंगबहादुर चौधरीले बिद्यालयको भवन प्रयोग गर्ने प्रवृत्ती अबदेखि बन्द हुनुपर्ने सुझाव दिए । वडा नागरिक मञ्चका उप–संयोजक सहितको एक टोली बुधबार बिद्यालयमै पुगेर अनुगमन गरेको थियो ।

बालमैत्री वातावरणमा पठनपाठन भइरहेको उक्त बिद्यालयलाई बिबाह भोजका लागि प्रयोग गर्नु बालमैत्री वातावरण उल्लघंन गर्नुक साथै बालअधिकारको हनन् गरिएको एकिकृत सामाजिक विकास केन्द्रका कार्यक्रम संयोजक शेरबहादुर रौलेले बताए । ‘हामी बिद्यालयमा बालमैत्री वातावारण निर्माणका लागि प्रतिवद्धता समेत जाहेर गरेर काम गरिरहदाँ बिद्यालय व्यवस्थापन समितिले नै बिबाह भोज गराउनु उसको ठुलो कमजोरी हो,’ उनले भने । उपमहानगरपालिका स्तरिय बालक्लब सञ्जालका अध्यक्ष साहील अन्सारीले पनि उक्त कार्यको घोर विरोध गरेका छन् ।

Womui
Womui