सिक्टा सिँचाइमा सरकार बाधक

58

काठमाडौं, पुष १–
सरकारको बेवास्ता र गैरजिम्मेवारीका कारण निर्माण सुरु भएको झन्डै ११ वर्षसम्म सिक्टा सिँचाइ आयोजनाको काम आधा पनि सकिएको छैन । राजनीतिक स्वार्थ र सरकारी निकायको अवरोधकै कारण आयोजना अघि बढ्न नसकेको हो । ‘राष्ट्रिय गौरवको आयोजना’ सूचीमा राखेर पनि सरकारले निर्माण, आर्थिक व्यवस्थापन र निरन्तर अनुमगनमा ध्यान नदिँदा यसको काम लथालिंग छ । पूर्वाधार विकासमार्फत आर्थिक रुपान्तरण गर्ने उद्देश्यले राष्ट्रिय गौरवको घोषणा गरेको सरकारले यसको निर्माणमा न्यूनतम बाचासमेत पूरा गरेको छैन । आर्थिक वर्ष २०६२/०६३ मा आयोजनाको काम सुरु भएपनि अहिलेसम्म जम्मा ४३ प्रतिशत निर्माण सकिएको आयोजनाले जाकारी दिएको छ ।

Sikta pic

दोस्रो जनआन्दोलनका क्रममा भारतसँग सम्बन्ध चिसिएपछि तत्कालीन राजा ज्ञानेन्द्रले २०६१ मा यो आयोजना स्वदेशी लगानीमा बनाउनुपर्ने भन्दै अघि बढाएका थिए । त्यसयताका सरकारले बजेट तथा कार्यक्रममा समावेश गरे पनि समयमै काम गर्नेतर्फ ध्यान नदिएको सिँचाइ मन्त्रालयकै अधिकारी बताउँछन् । कागजमा राष्ट्रिय महत्वको आयोजना घोषणा गरेको सरकारले निर्माण र आर्थिक स्रोत व्यवस्थापनमा सधैं बेवास्ता गरेको आयोजना प्रमुख सरोज पण्डितले बताए । ’आयोजनाको महत्व के हो, कसरी काम गर्ने र त्यसका लागि कस्तो मापदण्ड बनाउने भन्नेमा सरकारले कहिल्यै चासो देखाएन,’ उनले भने, ’सामान्य सिँचाइ आयोजना र यसमा केही फरक छैन, सरकारकै ध्यान नगएपछि तोकिएको समयमा तोकिएको काम हुनै सक्दैन ।’

राप्ती नदीको पानीबाट बाँकेमा सिँचाइ पुर्याउने रणनीतिक योजना साथ २०३२ सालमै यसको अध्ययन भएको थियो । त्यसयता झन्डै ३ दशकसम्म भारतको दबाबका कारण आयोजना अगाडि बढ्न सकेन । तर, स्वदेशी लगानीमै बनाउने निर्णयले काम सुरु भएको दशक सकिँदासमेत आधा काम नहुनुले यसमा सरकार नै गैरजिम्मेवार बनेको पुष्टि हुन्छ । आजको नागरिकमा खबर छ ।

Womui
Womui