शान्त नाकामा झन् कडाइ

50

नेपालगन्ज, मंसिर २३–
भारतीय पक्षले स्थानीय निर्वाचन र दसगजाको तनाबलाई कारण देखाउँदै ठप्प पारेको रुपैडिहा नाका दुवै अवस्था अन्त्य हुँदासमेत सहज पारेको छैन । भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले सोमबारदेखि मालवाहक ट्रक केही मात्रामा छोडे पनि इन्धन ट्यांकरमा भने झन् कडाइ गरिएको छ । मंसिर १२ गते यता सोमबार र मंगलबार नाकाबाट ८१ वटा गाडी प्रवेश गरेकामा डिजेल र पेट्रोल बोकेका गाडी चारवटा मात्र आएका छन् । ग्यास बुलेट दुई सातायता एउटै आएको छैन । ‘एसएसबीले मालवाहक सवारी पठाए पनि इन्धन छोड्न ’इन्ट्रेस्ट’ देखाएको देखिँदैन,’ नेपाल आयल निगमका मध्यपश्चिम प्रमुख विनीतकुमार उपाध्यायले भने, ‘समस्या इन्डियन कस्टममा भन्दा पनि एसएसबीमै देखिएको छ ।’ निगमका अनुसार अहिले रुपैडिहामा डिजेल, पेट्रोल, मट्टीतेल र एटिएफका ५८ गाडी रोकिएका छन् ।

नाका सहज भएपछि इन्धन ट्यांकरलाई प्राथमिकता दिन आग्रह गरे पनि एसएसबीले त्यसैमा बढी कडाइ गरिरहेको छ । एसएसबीले शनिबार भारतीय सीमावर्ती क्षेत्रमा भएको स्थानीय निर्वाचनलाई कारण देखाएर दुई दिन (शुक्रबारसमेत) नाका पूर्ण रूपमा बन्द गरेको थियो । त्यसअघिका दुई दिन भने मधेसी मोर्चाको धर्नाका कारण नाकामा आवागमन प्रभावित भएको थियो । निर्वाचनपछि नाकामा खासै तनाब नहुँदासमेत पेट्रोलियम रोकेकोमा नेपाली सरकारी अधिकारीले आश्चर्य व्यक्त गरेका छन् । ‘अवस्था सहज हुनेबित्तिकै हामीले रुपैडिहामा रोकिएका इन्धन ट्यांकरलगायत सवारी छोड्न कुराकानी गरेका थियौं,’ बाँकेका प्रजिअ वेदप्रकाश लेखकले भने, ‘तैपनि इन्धनमा उस्तै अवरोध छ ।’ नाकास्थित जमुनाह इलाका प्रहरी कार्यालयका प्रमुख विष्णु गिरीले सोमबार र मंगलबार करिब १०÷१५ जनाको संख्यामा आन्दोलनकारी सीमानाकामा देखिएको बताए । ’उनीहरू अहिले दसगजामा धर्ना बसेका छैनन, छेउछाउ उभिइरहेका छन,’ उनले भने, ’यही कारणले हुन सक्छ, उताबाट गाडी पनि छुटेका छैनन् ।’

लेनदेनमा छुट्छन् मालवाहक रुपैडिहामा रोकिएका मालवाहक सवारीचालकका अनुसार एसएसबीले आर्थिक लेनदेन र भनसुनमा गाडीहरू छोड्ने गरेको छ । व्यापारिक सामान लोड भएका यस्ता ट्रक छुटाउन भारतीय व्यापारीसमेत लाग्ने गरेका छन् । ‘उता (नेपाल)का साहु र यताका व्यापारी मिलेर एसएसबीसँग कुराकानी गरेपछि मात्र यताबाट सामान जान दिने गरिएको छ,’ एक ट्रकचालकले भने, ‘भनसुन नगर्ने र पैसा पेल्न नसक्ने हो भने त कति दिनसम्म यहीँ बस्नुपर्ने हो थाहै हुँदैन ।’ बाँकेका एक सुरक्षाअधिकारीसमेत नाकामा भारतीय सुरक्षाकर्मीले आर्थिक लेनदेनमा सामान छोड्ने गरेको बताउँछन् । उनका अनुसार कतिपय व्यापारीले धर्ना बसेका आन्दोलनकारीलाई भनसुन गरेर सवारी छुटाउने गरेका छन् । ’आयल निगमले व्यापारीले जसरी पैसा दिने कुरा हुँदैन,’ उनले भने, ’त्यही भएर पनि इन्धन रोकेर अरू सवारी छोडिएको हुन सक्छ ।’ सोमबार नेपाली र भारतीय सुरक्षाअधिकारीबीच पेट्रोलियम ट्यांकर छुटाउने विषयमा सीमाक्षेत्रमा वार्ता भएको थियो ।

स्रोतका अनुसार उक्त वार्तामा भारतीय सुरक्षाअधिकारीले जुन गाडी अगाडि छ त्यसैलाई पहिले प्रवेश अनुमति दिने बताएका थिए । अहिले रुपैडिहा नाकादेखि केवलपुरसम्म नेपाल आउने ट्रक तथा ट्यांकरको ताँती देख्न सकिन्छ । ‘चौडा सडक भएकाले सहजै पेट्रोलियम गाडी अगाडि पास गराउन सकिने अवस्था छ, एसएसबीले भने मानिरहेको छैन,’ वार्तामा सहभागी एक सुरक्षाअधिकारीले भने, ’उसले पेट्रोलियम अभावले निम्त्याएको नेपालीको पीडा बुझेर पनि बुझ पचाइरहेको छ, झन् संकट पारिरहेको छ ।’ आजको नागरिकमा खबर छ ।

Womui
Womui