रुपैडिहाबाट १८ ट्यांकर इन्धन भित्रियो

106

नेपालगन्ज, मंसिर २३–
रुपैडिहा नाकाबाट बुधबार १८ ट्यांकर पेट्रोलियम ट्यांकर सहित कुल ४६ वटा सवारी साधन भित्रिएका छन् । भारतीय भन्सारबाट अनुमति पाएपनि लामो समयदेखि प्रवेश हुन नपाएका १२ ट्यांकर डिजल, ५ टयंकर हवाई इन्धन, १ ट्यांकर मट्टितेल तथा २८ वटा अन्य मालबाहक ट्रक तथा कन्टेनरलाई एसएसबीले बुधबार बिहान छाडेको ईलाका प्रहरी कार्यालय जमुनाहाले जनाएको छ ।

Tankar pic

एसएसबीले बिहान ७ देखि ९ बजेको बीचमा यि सवारी साधनलाई नेपाल प्रवेश हुन दिएको प्रहरी इन्चार्ज, प्रहरी नायव निरिक्षक(सई) विष्णु गिरीले बताए । उनका अनुसार एसएसबीले धमाधम रुपैडिहामा रोकिएका पेट्रोलियम ट्यांकर र अन्य मालबाहक सवारी साधन छाडेको सुईको पाएपछि आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ताहरु बिहान साढे ९ बजेबाट नाकास्थित भारतीय भूमिमा गएर उभिएका छन् । अहिले आन्दोलनकारीहरु भारतीय भूमिमा गएर सडकमा उभिएको र भारतीय सुरक्षाकर्मी मुखदर्शक बनेको नेपाली सुरक्षाकर्मीले बताएका छन् ।

‘आन्दोलनकारीहरु सडकमा उभिएपछि एसएसबीले उताबाट सवारी साधन छाड्न मानेको छैन,’ गिरीले भने । अघिल्लो सोमबारबाट एसएसबीले नाकामा मधेसी मोर्चाको धर्ना र स्थानीय चुनावको कारण देखाउँदै पेट्रोलियम ट्यांकर र मालबाहक सवारी साधनलाई सिमा प्रवेशमा कडाई गर्दै आएको थियो । एसएसबीले मंगलबार बेलुका पनि २ ट्यांकर डिजल र १ ट्यांकर हवाई इन्धन सहित कुल ६१ वटा सवारी साधन छाडेको जमुनाहा प्रहरीले जनाएको छ ।

Womui
Womui