आत्मनिर्भर हुदैछन थारु महिला

217

फिचर

Arjun OLi

अर्जुन ओली

बाँके, बनकटुवा–७ बनकट्टी निवासी रमभी थारुलाई अचेल तरकारी हुर्काउन भ्याई–नभ्याई छ । व्यवसायिक रुपमा तरकारी खेती गर्न थालेपछि उनको व्यस्तता बढेको हो । ‘डेढ कठ्ठा जमिनमा तरकारी लगाएकी छु, आजभोली बढी समय तरकारी गोडमेलमै बिताउँछु,’ उनले भनिन् । रमभीले बारीमा खुर्सानी, बन्दा, भाण्टा लगायतका तरकारीहरु रोपेकी छन् । परम्परागत रुपमा तरकारी लगाउने गरेपनि तालिम लिएपछि व्यवसायिक रुपमा खेती गर्न थालेको उनी बताउँछिन् ।

रमभी जस्तै सुमिता थारुले पनि २ कठ्ठा जमिनमा तरकारी हुर्काइरहेकी छन् । व्यवसायिक रुपमा तरकारी खेती गर्न थालेपछि परिवारको आर्थिक स्थिती पनि बलियो भएको उनी बताउँछिन् । ‘पहिला थोरै तरकारी लगाउँदा घरमा खान ठिक्कै हुन्थ्यो, अहिले त गाउँमा विक्री हुन थालेको छ,’ सुमिताले भनिन् । तरकारी विक्री गरेर भएको आम्दानी रकमले घर खर्च र समुहमा बचत गर्न सजिलो भएको उनले बताईन् ।  बनकट्टी गाउँका १५ जना महिलाहरु नमुना स्वयं सहायता समुहमा विगत १९ महिनादेखि आवद्ध छन् ।

बनकटुवास्थित नमुना स्वयं सहायता समुहका महिला ।
बनकटुवास्थित नमुना स्वयं सहायता समुहका महिला ।

समुहमा आवद्ध अधिकांस महिलाले व्यवसायिक रुपमा तरकारी खेती गरेका छन् । बेसले सञ्चालन गरेको जीवन परियोजना अन्तर्गत गठित समुहका महिलाले तरकारी खेतीका साथै विभिन्न आयमुलक काम गरिरहेका छन् । आयमुलक काम गरेर प्राप्त आम्दानीबाट एकातिघरको आर्थिक समस्यालाई समाधान गरेका छन, भने अर्कोतर्फ समुहमा मासिक ५० रुपैयाँका दरले बचत गरेको समुहका सचिव नैना थारुले जानकारी दिईन् । ‘अहिले सम्म हाम्रो समुहमा ९ हजार ३ सय ५० रुपैयाँ जम्मा भइसकेको छ,’ उनले भनिन् । समुहमा जम्मा भएको रकम समुहभित्रै व्याजमा लगानी गरिएको सचिव नैनाले प्रष्ट्याईन् ।

Tharu Mahila 3

बनकट्टीका झै कोहलपुर नगरपालिका–३(साविकको रझेना गाविस) स्थित आमा स्वयं सहायता समुहका २० जना महिलाले पनि विभिन्न आय मुलक काम गरेर आफुलाई आत्मनिर्भर बनाउने कोसिस गरिरहेका छन् । यहाँका महिलाले पनि व्यवसायिक तरकारी खेतीका साथै कुखुरा पालन, बंगुर पालन लगायतका काम विगत ९ महिनादेखि गर्दै आएका छन् । ‘घरको सानोतिनो खर्च टार्न अब श्रीमानसँग पैसा माग्नु पर्दैन, हामीले आय मुलक काम गर्न थालेपछि आफुमा पनि केही परिवर्तन आएको महसुस भएको छ,’ समुहकी सदस्य सविता थारुले भनिन् ।

आमा स्वयं सहायता समुह रझेनाका महिला ।
आमा स्वयं सहायता समुह रझेनाका महिला ।

समुहमा लागेपछि थारु महिलामा चेतनाको स्तर निकै वृद्धि भएको उनको दाबी छ । ‘समुहमा लागेर महिलामा चेतनाको स्तर वृद्धि भएको छ, आय मुलक कामले बच्चाको स्कुल फिस तिर्न र घरको खर्च टार्न सजिलो भयो,’ बजारी थारुले भनिन् । समुहमा प्रतिव्यक्ति २० रुपैयाँका दरले मासिक रुपमा रुपैयाँ बचत गर्ने गरेको र अहिले सम्म ३ हजार ६ सय रुपैयाँ समुहमा रहेको सचिव संगीता थारुले जानकारी दिईन् । ‘समुहभित्र जसलाई पैसा चाहिन्छ, उसलाई एक रुपैयाँ ब्याज लिएर लगानी गर्छौ,’ उनले सुनाईन् ।

Tharu Mahila 4
थारु महिलाको जीवनस्तर परिवर्तन ल्याउनमा गैर सरकारी संस्थाको विशेष भूमिका रहेको पाइएको छ । आय आर्जन वृद्धि र सशक्तीकरणका लागि बेस नामक गैर सरकारी संस्थाले जिल्लाको बनकटुवा, रझेना र बैजापुरमा विगत केही समयदेखि जीवन परियोजना सञ्चालन गर्दै आएको छ । परियोजनाका वीरेन्द्र चौधरीका अनुसार तीन वटा गाविसमा कुल १ सय ६६ वटा महिला समुह क्रियाशिल छन् । ‘सबै समुहले केही न केही आय मुलक काम गरेका छन, आय मुलक काम गरेर प्राप्त भएको रकमलाई समुहमा बचत गर्ने वानीको विकास भएको छ,’ चौधरीले भने ।

Tharu Mahila 5

Womui
Womui