राठौरलाई कारबाहीबारे जवाफ पेश गर्न आयोगको निर्देशन

40

नेपालगन्ज, मंसिर ८–
निलम्वित प्रहरी ईन्स्पेक्टर भरतसिंह राठौरले सदभाव दैनिकका सम्पादक दामोदर भण्डारीमाथि आक्रमण प्रयास गरेको घटनाका विषयमा राष्ट्रिय मानव अधिकार आयोगले जिल्ला प्रहरी कार्यालय बाँकेलाई कारबाही प्रक्रियाबारे लिखित जवाफ पेश गर्न निर्देशन दिएको छ । घटनाका दोषीलाई के कस्तो कारबाही भएको छ, कानुनी प्रक्रिया सुरु भएको छ छैन भन्ने विषयमा जानकारी पठाउन आयोगले प्रहरी कार्यालयलाई लिखित रुपमा भनेको छ । सम्पादक भण्डारीले आफुलाई ज्यान मार्ने धम्की दिदै प्रहरीबाटै आक्रमण प्रयासबारे आयोगमा आइतबार निवेदन दिएका हुन् । उक्त घटनालाई गम्भिर रुपमा हेरिरहेको आयोगले दोषीलाई कानुनी सजाय हुनुपर्नेमा जोड दिदै आएको छ । आयोगका मध्यपश्चिम क्षेत्रीय निर्देशक मुरारी खरेलले समाचार लेखेकै कारण ज्यान लिने धम्की दिएर प्रहरी कार्यालयमा आक्रमण प्रयास गर्नु गम्भिर घटना भएको बताएका छन् ।

‘पत्रकारको लिखित निवेदन प्राप्त भइसकेपछि आयोगले घटनाका दोषीलाई भएको कारबाही प्रक्रियाबारे जिल्ला प्रहरी कार्यालयसँग लिखित रुपमा सोधेका हौं,’ खरेलले भने ‘जवाफ पाइसकेपछि पीडक प्रहरीलाई आयोगमा बोलाएर बयान लिनेपनि सक्छौ ।’ सम्पादक भण्डारी र नागरिक दैनिकका पत्रकार अर्जुन ओलीमाथि भएको घटनाका विषयमा प्रहरीको कारबाही प्रक्रियाबारे आयोगले पछ्याइरहेको उनले बताए । दिउँसै मदिराले मात्तिएका राठौरले शनिबार दिउँसो सुरुमा फोनबाट गाली गलौच र धम्की दिएका थिए । ‘म अहिले होटलमा रक्सी पिइ रहेको छु डिआईजी, एसएसपीलाई पक्राउ गर्न पठाइदे, मेरो जागिर खाईदिने तँलाई म ठिक पार्छु,’ राठौरले भनेका थिए । फोनमा धम्की दिए लगत्तै सदभाव दैनिकको कार्यालयमै आएर उनले कार्यकक्षमा बसेका सम्पादक भण्डारीलाई ‘म जुवामा पक्राउ परेको समाचार किन लेखेको’ भन्दै ज्यान लिने धम्की दिएका थिए ।

घटना लगत्तै मध्यपश्चिम क्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक(डिआईजी) केशवप्रसाद अधिकारीले इन्स्पेक्टर राठौरलाई पक्राउ गरी स्वास्थ्य परिक्षण गराएर हिरासतमा राख्न बाँके प्रहरी प्रमुख एसपी वसन्त पन्तलाई निर्देशन दिएका थिए । तर एसपी पन्तले राठौर न पक्राउ गरे न स्वास्थ्य परिक्षण । एपी पन्तले राठौरलाई फोन गरेर बोलाई सम्झाएका थिए । जुवाखालबाट पक्राउ परेका बाँकेको धनौली इलाका प्रहरी कार्यालयमा कार्यरत ईन्स्पेक्टर राठौर केही दिनअघि जागिरबाट निलम्बनमा परेका थिए ।

Womui
Womui