पेट्रोल ओसार्ने चार मोटरसाइकलमाथि आगजनी

50

जनकपुर, मंसिर ८–
सीमापारीबाट डिजेल÷पेट्रोल ल्याएर राजधानी पठाउन लागेको भन्दै प्रदर्शनकारीले सोमबार राति ढल्केवरमा चार वटा मोटरसाइकलमा आगो लगाइदिएका छन् । राजमार्गमा सवारी स्कर्टिङ अवरुद्ध पार्न रातिको समय ढल्केवर चोकमा धर्ना बसिरहेका आन्दोलनकारीले ग्यालनमा इन्धन राखेर बर्दिवासतर्फ गइरहेका ती मोटरसाइकल जलाएका हुन् । ढल्केवर चोक आसपास क्षेत्रमा राती जलाइएका चार वटा मोटरसाइकलका अवशेष प्रहरीले आज बिहान संकलन गरी लगेको छ । सोमबार दिउँसैदेखि पूर्व–पश्चिम राजमार्गको ढल्केवर चोकमा धर्ना बसिरहेका आन्दोलनकारीले राति स्कर्टिङ गरी ल्याइएका करिब ५० वटा यात्रुबाहक बस र मालबाहक ट्रकमा ढुंगामुढा गरी तोडफोड गरेका छन् । बीच सडकमै धर्ना बसेका आन्दोलनकारीलाई लखेटेर प्रहरीले सवारी स्कर्टिङ गरेपछि गुडिरहेकै गाडीमा आन्दोलनकारीले ढुंगा हानेर सीसा फुटालेका छन् ।

गुडिरहेको गाडीमा आक्रमण गर्ने आन्दोलनकारीमाथि प्रहरीले लाठी चार्ज गरेको थियो । प्रहरीको लाठी लागेर संघीय समाजवादी फोरमका जिल्ला उपाध्यक्ष चन्देश्वर महतो र जिल्ला सदस्य हरिनारायण यादवलगायत मोर्चाका करिव एक दर्जन कार्यकर्ता घाइते भएका छन् । यस्तै जनकपुरबाट धर्ना बस्न ढल्केवर पुगेका आन्दोलनकारीको ५० भन्दा बढी हेल्मेट प्रहरीले नियन्त्रणमा लिएको छ । हेल्मेट फिर्ताको माग गर्दै आज बिहान आन्दोलनकारीले इलाका प्रहरी कार्यालय ढल्केवरलाई घेराउ गरेका छन् । मातृका यादव नेतृत्वको संयुक्त मधेसी राष्ट्रिय आन्दोलन समितिको धर्नास्थलमा टाँगिएको टेन्ट पनि प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।

Womui
Womui