आज कुकुर तिहार

112

काठमाडौं, कात्तिक २४

dog festival

नेपालीको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन देशभर आज बिहानै अरुणोदयकालमा नदी वा तलाउमा गई स्नान गरी नरके नुहाइन्छ । स्नान गरिसकेपछि तर्पण गरेर यमदीप दक्षिण फर्काएर बालिन्छ । यसरी बालेको दीपलाई बगाएमा मृत्युपश्चात् नरकको दर्शन गर्नु नपर्ने धार्मिक विश्वास रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । यसरी बत्ती बालेर बगाउनुलाई नरके बगाउने पनि भनिन्छ । आजै घरघरमा सुरक्षा गर्ने कुकुरको पूजा गरी मीठामीठा खानेकुरा खान दिइन्छ ।

‘कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको हो’ समितिका अध्यक्ष गौतमले भने ।

हरेक प्राणीले चौरासी जुनी फेर्नुपर्छ भन्ने धार्मिक कथन छ। जस अनुरूप कुकुर अन्तिम जुनी हो र त्यसपछि मान्छेको हंश लिन्छ भन्ने मान्यता रहिआएको छ। तन्त्रशास्त्रमा ६४ वटा भैरव हुन्छन्। भैरवको वाहनको रूपमा कुकुरलाई लिइन्छ। भैरवको अर्थ भयरहित अर्थात् डर नभएको भन्ने बुझिन्छ। यस्ता देवताको वहान भएकाले पनि कुकुरलाई पुज्ने गरिएको हो।
Womui
Womui