भारत सरकारलाई सीमामा देखिएको अवरोध हटाउन नेपालको औपचारिक आग्रह

39

काठमाडौं, कात्तिक २३

नेपाल-भारत सीमा नाकामा देखिएको पारवहन तथा आपूर्तिको अवरोध हटाउन नेपाल सरकारले मधेसकेन्द्रित दल र  भारतलाई सम्बोधन गर्दै विशेष प्रस्ताव पारित गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले विशेष प्रस्ताव पारित गर्दै पारवहन र आपूर्तिमा देखिएको अवरोध हटाउन भारत सरकारलाई औपचारिक आग्रह गरेको हो । साथै मधेसी दलका मागहरु संवादबाटै समाधान गर्न तयार रहेको सरकारले स्पष्ट पारेको छ ।

भारतलाई सम्बोधन गर्दै मन्त्रिपरिषदबाट पारित विशेष प्रस्तावमा भनिएको छ- ‘नेपाल भारतका सीमा नाकाहरुमा भइरहेको पारवहन तथा आपूर्ति व्यवस्थामा देखिएको अवरोधको स्थिति समाप्त गरी औषधी, खाना पकाउने ग्यास, र पेट्रोलियम पदार्थहरु लगायत अत्यावश्यक वस्तुहरुको आयात निर्यात नियमित गर्न एवं दुई देश वीचको सम्बन्धलाई सुमधुर तथा सुदृढ तुल्याउने कार्यमा योगदान गर्न मन्त्रिपरिषदको यो बैठक छिमेकी मित्रराष्ट्र भारतसँग आग्रह गर्दछ ।’

यसैगरी मन्त्रिपरिषद बैठकले तराईमा आन्दोलनरत दलका मागलाई ध्यानमा राखेर वार्ताको माध्यमबाट समस्या समाधान गर्ने प्रयास भइरहेको, आन्दोलनको क्रममा घाइते भएकाहरूको निशुल्क उपचारको व्यवस्था भएको, झुटा ठहरिएका मुद्दा फिर्ता लिने प्रक्रिया आरम्भ भएको र मृतकका परिवारलाई राहत स्वरुप १० लाख उपलब्ध गराउने निर्णय भई कार्यान्वयन भइसकेको भन्दै आन्दोलनका कार्यक्रम फिर्ता लिन आग्रह गरेको छ । सरकारले आन्दोलनरत दलका अन्य मागका विषयमा यथोचित रुपमा निष्कर्ष र सहमतिमा पुग्ने प्रयास जारी रहेको भन्दै तिहार, छठ र ल्होसार जस्ताचाड–पर्व का मुखमा बन्द र सीमा–भन्सार धर्ना कार्य बन्द गरी जनताको जीवन सामान्य बनाउन तथा वार्ताको सहज वातावरण सिर्जना गर्न आह्वान गरेको छ।

Womui
Womui