पाटन नगरपालिकाद्वारा १ लाख २५ हजार बढी राजस्व संकलन, व्यवसायीद्वारा व्यवसाय दर्ता गर्न आनाकानी

43

भगीरथ अवस्थी
बैतडी, कात्तिक २२
जिल्लाको पाटन नगरपालिकाले चालू आर्थिक वर्षमा अहिलेसम्म १ लाख २५ हजार ९४४ रुपैयाँ कर सकंलन गरेको छ । विभिन्न शीर्षकमा सो रकम बराबरको कर संकलन भएको नगरपालिकाका कार्यकारी अधिकृत दशरथराम ओडले जानकारी दिए ।
नगरपालिकाले चालू आर्थिक वर्षमा घर करबापत ९ हजार १७० रुपैयाँ, बहाल करबापत २५ रुपैयाँ, दर्ता नवीकरणबापत ३३ हजार ५८०, विभिन्न किसिमका सिफारिसबाट ३३ हजार ९५ रुपैयाँ, नाता प्रमाणित बापत १० हजार ९५० रुपैयाँ, अन्य दस्तुरबाट ३ हजार ५४० रुपैयाँ र मालपोतबाट ३५ हजार ५८४ रुपैयाँ राजस्व संकलन गरेको नगरपालिका राजस्व इकाई शाखाका इन्चार्ज डम्मरदत्त पन्तले जानकारी दिए ।
सबै भन्दा बढी मालपोतबाट राजस्व संकलन भएको देखिएको छ । नगरपालिकाले चालू आर्थिक वर्षमा ११ लाख ९१ हजार ७ सय रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । सो लक्ष्य अनुसार अहिलेसम्म १०.५६ प्रतिशत मात्र राजस्व संकलन भएको छ । २०७१ मंसिर १६ गते स्थापना भएको नगरपालिकाले यस अघि नै राजस्वका श्रोतको पहिचान गरेको भए पनि आशा गरे अनुसार राजस्व संकलन हुन सकेको छैन । कतिपयले अझै पनि नगरपालिकामा व्यवसाय दर्ता गरेका छैनन् भने अन्य करहरु पनि बुझाएका छैनन् । व्यवसाय दर्तालगायतका कुरा स्थानीय स्वायत्त शासन ऐन र नियमावलीमा प्रस्ट व्यवस्था भए पनि स्थानीय व्यापारीले व्यवसाय दर्ता गर्न आनाकानी गरिरहेका छन् । नगरपालिकाले पहिचान गरेका राजस्वका श्रोतबाट राजस्व संकलन गर्ने र कानुन अनुसार कर नबुझाउनेलाई कारबाही गरिने कार्यकारी अधिकृत ओडले बताए ।

Womui
Womui