३७ सूत्रीय माग राख्दै राष्ट्र बैंकका कर्मचारी आन्दोलित

130

काठमाडौं, कात्तिक २२

तलब र भत्ता पुगेन भन्दै राष्ट्र बै‌कका कर्मचारी आन्दोलित बनेका छन् । उनीहरु समयसापेक्ष तलब र भत्ता वृद्धि हुनु पर्ने, पोसाक सुवधा वृद्धि हुनु पर्नेलगायतका ३७ सूत्रीय माग राख्दै नेपाल राष्ट्र बैंक कर्मचारी संघमा आबद्ध कर्मचारीले आन्दोलन स्वरुप गभर्नरको कार्यालयमा धर्ना दिँदै आइरहेका हुन् । कर्मचारी आन्दोलनमा उत्र्दा बैंकको काम प्रभावित बन्दै  आइरहेको छ ।

श्रम ऐन २०४८ को दफा ७४ को उपदफा १ अनुसार ५१ प्रतिशत कर्मचारीको हस्ताक्षर संकलन गर्ने कर्मचारी संगठनले मात्रै कलेक्टीभ बार्गेनिङ गर्न पाउने हुँदा आफुहरुले त्यो प्रक्रिया पुरा गरी गभर्नर सामु माग पेश गरेको कर्मचारी संघका अध्यक्ष बसन्तराज पाण्डेले जानकारी दिए। पाण्डेका अनुसार नेपाल राष्ट्र बैंक कर्मचारी संघले सो माग गभर्नर समक्ष पेश गर्नको लागि ९ सय १७ जना कर्मचारीहरुको हस्ताक्षर संकलन गरेको थियो।

तलब भत्तालाई भन्दा संस्थागत सुधारलाई प्राथमिकतामा राख्दै आफुहरु धर्नामा बसेको पाण्डेले बताउँछन्। गत वर्ष पेश गरेका ३७ सुत्रीय मागमध्ये आफ्ना केहि मागहरु पूरा भएको भए पनि अन्य माग पुरा गर्न अहिलेको नेतृत्वले चासो नदिएको पाण्डेको दावी छ।

अस्थायी ज्यालादारीलाई स्थायी गर्नुपर्ने, परिवहन सापटि २ लाख बृद्धि गर्नुपर्ने र राष्ट्र बैंकका कर्मचारीले पाउने घरजग्गा ऋणमा बृद्धि गर्नुपर्ने माग राष्ट्र बैंकले पूरा गरिसकेको छ। घरजग्गा ऋणलाई १२ लाखबाट बढाएर १८ लाख कायम गरिएको पाण्डेले बताए।

नेपाल राष्ट्र बैंक कर्मचारी संघले पेश गरेको ३७ सुत्रीय मागमा तलब भत्ता वृद्धि, पोसाक सुविधा वृद्धि, आन्तरिक दैनिक भत्ता वृद्धि भारतमा काजमा जाँदा दिइने भत्तामा वृद्धि गर्नुपर्नेलगायतका माग रहेका छन्। तलव भत्ता बृद्धि, पोसाक सुविधा वृद्धि आन्तरिक दैनिक भत्तामा झण्डै २० प्रतिशत बृद्धि गर्नुपर्ने कर्मचारीहरुको माग रहेको छ।

 

Womui
Womui