मध्यपश्चिममा औषधीको स्टक रित्तिदै

101

नेपालगन्ज, कात्तिक १७–
औषधीको मौज्दात रित्तिएपछि मध्यपश्चिम क्षेत्रीय मेडिकल स्टोर नेपालगन्जले दुई पटक केन्द्रसँग औषधी माग गरिसक्यो । तर, केन्द्रले अहिले सम्म कत्तिपनि औषधी पठाएन । स्टोरमा रहेको औषधीको मौज्दात करिव–करिव सिद्धिने अवस्थामा पुगेकाले स्टोर प्रमुख डिल्ली पोखरेल यतिखेर निकै तनावमा छन् । इन्धन अभावको समस्या बढिरहेका बेला मध्यपश्चिमका विभिन्न जिल्लाबाट औषधीको माग भइरहेको छ, अर्कोतिर स्टोरमा मौज्दात औषधीको मात्रा सिकिने अवस्थामा पुगेको छ, यसले गर्दा क्षेत्रीय प्रमुख पोखरेल तनावमा परेका हुन् । ‘स्टोरमा अब थोरै परिमाणको औषधी छ,’ उनले भने ‘यो पनि सायद अब धेरैदिन सम्म नरहला ।’ सरकारले निशुःल्क रुपमा वितरण गर्ने ७० प्रकारको औषधी मध्ये स्टोरमा अहिले थोरै औषधी रहेको पोखरेलले जानकारी दिए ।

नेपालगन्जस्थित मध्यपश्चिम क्षेत्रीय मेडिकल स्टोर ।
नेपालगन्जस्थित मध्यपश्चिम क्षेत्रीय मेडिकल स्टोर ।

केन्द्रमा औषधी माग गर्दा इन्धन अभावका कारण मुलुक बाहिरबाट ल्याउन नसकिएको जवाफ पाउने गरेको मेडिकल स्टोरका कर्मचारी बताउँछन् । ‘एक महिना यता हामीले दुई पटक केन्द्रसँग औषधी माग गरेका हौं, तर केन्द्रमा पनि औषधी आउन नसकेको कुरा सुनियो,’ एक कर्मचारीले भने । स्टोरसँग अत्यावश्यक औषधीको ‘आइटम’ सिद्धिएको कर्मचारीले बताए । ‘जुन औषधीको आइटम जिल्लाबाट माग भइरहेको छ, त्यो औषधी स्टोरसँग छैन,’ कर्मचारीले भने । कर्णाली अञ्चलका जिल्लामा औषधी पठाउन गाह्रो भइरहेको स्टोरले जनाएको छ । इन्धन अभावको समस्या अझैपनि यथावत रहेमा मध्यपश्चिमका दुर्गम जिल्लामा औषधी अभावको समस्या उत्पन्न हुन सक्ने कर्मचारीको आशंका छ । क्षेत्रीय मेडिकल स्टोरले महिना–महिनामा स्थल मार्ग हुदै केन्द्रबाट औषधी ल्याउने गथ्र्यो । भारतको अघोषित नाकाबन्दीले गर्दा मुलुकमा इन्धन अभावको समस्या चर्को रुपले बढेपछि कत्तिपनि औषधी नआएको क्षेत्रीय प्रमुख पोखरेलले प्रष्ट्याए । ‘इन्धन समस्या बढेपछि एक महिना यता कत्तिपनि औषधी आएको छैन, पहिलेकै मौज्दातबाट गुजारा भइरहेको छ,’ उनले थपे ।

 बन्द रहेको नेपालगन्जस्थित क्षेत्रीय मेडिकल स्टोरको गोदाम ।
बन्द रहेको नेपालगन्जस्थित क्षेत्रीय मेडिकल स्टोरको गोदाम ।

स्टोरमा औषधीको मौज्दात घटिरहेका बेला नेपालगन्जबाट मध्यपश्चिमका दुर्गम जिल्लामा औषधी पठाउन थप कठिनाई बेहोर्नु परेको छ । इन्धन अभावले गर्दा ढुवानीका साधन पर्याप्त मात्रामा नपाउँदा असहज भएको मेडिकल स्टोरले जनाएको छ । ‘जिल्लाले मागे अनुसारको औषधी जसो तसो पठाउने काम गरिरहेका छौ, तर त्यति सहज ढंगले पठाउन पाएका छैनौ,’ पोखरेलले सुनाए । पहाडबाट बिरामी बोकेर आएका एम्बुलेन्स, जिल्ला जनस्वास्थ्य कार्यालयका पिकअप भ्यानमार्फत दुर्गम जिल्लामा अचेल औषधी पठाइरहेको पोखरेल बताउँछन् । इन्धन अभावका कारण पछिल्ला दिनमा एम्बुलेन्सको संख्या पनि पातलिएको छ । सरकारी गाडीले इन्धन भर्न पनि घण्टौं लाईनमा बस्नुपर्ने अवस्था रहेकाले कठिन छ । मेडिकल स्टोरले मध्यपश्चिमका विभिन्न जिल्लामा औषधी पु¥याउन हरेक वर्ष ठेक्का आब्हान गर्छ । समयमा बजेट नआउँदा चालु वर्षका लागि ठेक्का स्वीकृत हुन नसकेको पोखरेलले बताए ।

स्वास्थ्य सेवा पनि प्रभावित 

इन्धन अभावका कारण केही दिन जिल्लाका स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीले पनि विभिन्न कठिनाई बेहोरेका छन् । जनस्वास्थ्य कार्यालयले विभिन्न गाविसका प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी र उपस्वास्थ्य चौकीको नियमित रुपमा अनुगमन र सुपरिवेक्षण गर्न सकेको छैन, भने जिल्लाबाट औषधी पु¥याउन पनि असहज भएको जनस्वास्थ्य कार्यालयका प्रमुख डाक्टर बिनोदकुमार गिरीले बताए । ‘पहिलेको जस्तो सहज स्थिती अहिले छैन,’ उनले भने ‘कठिन परिस्थितीका बाबजुद पनि काम गरिरहेका छौ ।’ इन्धन अभावको समस्याले गर्दा स्वास्थ्यकर्मीहरु एक ठाउँबाट अर्को ठाउँसम्म पुगेर सेवा दिन नसकेको डाक्टर गिरीले बताए ।

‘हाम्रा स्टाफहरु प्रायःजसो मोटरसाईकल र स्कुटरबाट हिडडुल गर्नु हुन्छ, इन्धन पाउन समस्या भएपछि उहाँहरु एक ठाउँबाट अर्को ठाउँमा पुगेर काम गर्न सक्नु भएको छैन,’ उनले प्रष्ट्याए । इन्धन अभावले गर्दा नेपाल सरकारका अन्य कार्यालय जस्तै जनस्वास्थ्यले पनि कठिनाई भोगेको गिरी बताउँछन् । जिल्ला जनस्वास्थ्य अन्तर्गत बाँकेमा ३ वटा प्राथमिक स्वास्थ्य केन्द्र, ४४ वटा स्वास्थ्य चौकी र २ वटा उप–स्वास्थ्य चौकी सञ्चालित छन् ।

Womui
Womui